
महात्मा गान्धी र माइकल ज्याक्सनले मानिसको जीवन आफैंले निर्माण गरेको मष्तिष्कीय ऐनाको प्रतिबिन्ध जस्तो हुने उल्लेख गरेका छन् । कुनै बेला माइकल ज्याक्सनको गीत ‘म्यान इन द मिरर’ले करोडौं मानिसको जीवनमा सकारात्मक बदलाव ल्याउन सहयोग पु¥याएको थियो । यस गीतको मुख्य भाव थियो, यदि जीन्दगीमा साँच्ची बदलाव ल्याउनु छ भने हाम्रो मानसिक प्रतिबिम्बमा परिवर्तन ल्याउनैपर्छ ।
कवि तथा कलाकार कलिल जिब्रान भन्छन्, ‘मानिसको संवेग र भावना अनुसार नै भौतिक वस्तुको रुप परिवर्तन हुँदै जान्छ, त्यसलाई नै हामी चमत्कार भन्ने ठान्छौं, यसकारण चमत्कार हाम्रो संवेग र भावनाकै कारण सृजना हुने नयाँ परिस्थिति मात्र हो, यसमा नयाँ केही हुँदैन ।’
हामी हरेक दिन बाह्य संसारलाई आफ्नो चाहना अनुसार बदलिएको देख्न चाहन्छौं । साथै हामीले सम्पन्न गर्ने हरेक कामहरु त्यही चाहनालाई पूरा गर्नको लागि केन्द्रित हुने गर्दछन् । हामी जब एउटा चुनौती सामना गरेर एक काम सम्पन्न गर्छौं, सँगसँगै अर्को नयाँ चुनौती हामी माझ आइसकेको हुन्छ । धेरैजसो अवस्थामा हामीले चाहेका सबै लक्षित उपलब्धि हामीले हासिल गर्न सकेका हुँदैनौं । यसकारण धेरैजसो हामी परिस्थितिलाई दोष दिइरहेका हुन सक्छौं ।
यसरी परिस्थिति वा समयचक्रलाई दोष दिएर हामी समस्याबाट मुक्त हुन सक्दैनौं । बरु समस्यालाई थप निमन्त्रित गरिरहेका हुन्छौं । किनकि परिस्थिति त आफैंमा तटस्थ (न्युट्र«ल) हुने गर्छ । अर्थात यसले केवल एक व्यक्तिको लागि भनेर कुनै स्थिति सृजना गरेको हुँदैन । एउटै परिस्थिति र वातावरणबाट एकै समयमा केही व्यक्तिहरुले अत्यन्तै लाभ लिइरहेका हुन सक्छन् । केही व्यक्तिहरु अत्यन्तै पीडामा हुन सक्छन् । आफू कुन अवस्थामा रहेको छु भन्नेमा नै हाम्रो गञ्तव्य के हुने भन्ने कुरा निर्धारित हुने गर्दछ ।
शेयर बजारमा उतारचढाव आउँदा, घरजग्गाको मूल्य घट्दा, विश्व अर्थतन्त्र मन्दीमा जाँदा, भूकम्प, नाकाबन्दी, लकडाउन, युद्धकाल लगायतले पनि सबै व्यक्तिलाई केवल नोक्सान मात्रै पुगेको हुन्छ भन्न सकिँदैन, यदि हामी आफूलाई सदैव सकारात्मक स्थितिमा राखिराख्न सक्छौं भने ब्रह्माण्डले हामीलाई विभिन्न माध्यमबाट खुसी, आनन्द र समृद्धिका सङ्केतहरु हामीलाई पठाइरहेको हुन्छ । यसकारण प्रतिकूल परिस्थितिमा पनि जो व्यक्तिहरु आफूलाई खुसी र आनन्दित अवस्थामा राख्न सक्छन्, तिनै व्यक्तिहरु लाभान्वित भइरहन सक्छन् ।
एउटा कथाबाट बुझौं
एक कथा छ, एक घरमा घरका मुख्य व्यक्ति (बुबा)ले अत्याधिक मद्यपान गर्दथे । उनका २ छोरा थिए । ती व्यक्तिलाई देखेर समाजका सबै मानिसहरु वाक्कदिक्क थिए । आफ्नो आदतको कारण उनका विगतका सकारात्मक योगदानहरु समाजका अन्य पात्रहरुले बिर्सिसकेका थिए । उनका छोराहरु बढ्दै जाँदा ती दुई दाजुभाईका स्वभावमा पनि अन्तर पर्दै जान थाल्यो । जेठो छोरा समाजको एक प्रतिष्ठित व्यक्ति बन्न सफल भए, समाजका अन्य पात्रहरुको लागि प्रेरक र मार्गदर्शक बन्दै गए । अर्का कान्छा छोरा बाबु जस्तै जँड्याहा नै निस्किए ।
पछि ती दुवै व्यक्ति माथि एउटा प्रयोग गरियो, आखिर यी २ व्यक्तिमा यति ठूलो अन्तर के कारणले आयो त ? दुवैलाई प्रश्न सोध्ने क्रममा जेठो र कान्छो दुवैले आफू त्यस स्थितिमा पुग्नुमा बुबा नै आफ्नो लागि रोलमोडल रहेको बताए । उनीहरुले आफ्नो मष्तिष्कमा तय गरेको अर्थ अनुसार उनीहरुको जीवनमा ठूलो बदलाव आयो ।
पहिलो छोराले बुबाले मद्यपान गर्दा त्यसले निम्त्याउने परिणाम सकारात्मक नहुने, समाजमा व्यहोर्नुपरेको गालिबेइज्जती र लथालिङ्ग जीवनबाट आफूलाई पीडाबोध भएको र आफू त्यो बाटोमा हिँड्न नचाहेको बताए । उनले प्रयत्नपूर्वक आफ्नो जीवनलाई नयाँ गोरेटेमा अघी बढाइरहे । कठिन बाटो रोजे । थुप्रै चुनौतीहरु एक–एक गरेर सामना गरिरहे । खुसी हुनका लागि नयाँ कारणहरु खोजे । जीवनयात्राको त्यो गोरेटो राजमार्ग बनिसक्दा बल्ल जेठा छोराले लिएको पृथक दिशाले गञ्तव्य समेत बदलिएको समाजका सबै व्यक्तिहरुले समेत महसुस गरे ।
कान्छो भाई पनि आफू बुबाकै कारण मद्यपानमा संलग्न भएको बताए । उनले बुबाले जे गर्थे, आफूलाई पनि त्यसरी नै अघी बढाए । अर्थात् सिको गरे । बुबाले गर्ने काममा आफूलाई पनि बानी पार्दै गए । उनले आफ्नो जीवनको दिशा बदलेनन् । बिस्तारै–बिस्तारै बुबा जसरी नै उनी पनि समाजका एक अपहेलित पात्र बन्न पुगे ।
एउटै परिवारमा जन्मिएका, एकै किसिमको शिक्षादिक्षा प्राप्त गरेर त्यही समाजबाट हुर्किएका यी २ पात्रमा आएको बदलाव केवल उनीहरुको तय गरेको आफ्नो मानसिक प्रतिबिम्ब र आफ्नो मष्तिष्कलाई आफैंले दिएको फरक अर्थका कारण आएको बदलाव मान्न सकिन्छ ।
चमत्कारी ऐनाको प्रयोग
आज हामी आफू प्रतिको दृष्टिकोणमा चमत्कारी बदलाब ल्याउनको लागि ऐनाको प्रयोग गर्दैछौं ।
(नोटः यस्तो ऐना वास्तविक होस् वा मानसिक त्यसले कुनै फरक पर्दैन, केवल हामीले ऐना अर्थात प्रतिबिम्बमा आफूलाई के कुरामा बदलाव ल्याउन आवश्यक ठान्छौं, त्यस प्रति पूर्ण विश्वास र समर्पण भाव सहित यस प्रक्रियामा जोडिनुपर्ने हुन्छ, त्यो भने महत्वपूर्ण कुरा हुन जान्छ ।)
स्मरणीय कुरा
हामी ऐनाको अगाडि बस्दा आफू जे चाहनाले ऐनाको प्रयोग गरिरहेका छौं, त्यो उपलब्धि अहिले नै हासिल भएको वा उपलब्धि हासिल भएपश्चात् आफ्नो अवस्था के हुन्छ भन्ने स्थितिमा आफूलाई काल्पनिक रुपमा अहिले नै पु¥याउनु जरुरी हुन्छ ।
आत्मनिरीक्षण, सङ्कल्प र सफलता
आज सम्म हामी आफूमा कसरी निरन्तर सकारात्मक भावना पैदा गर्ने भन्ने कुरा सिक्न नसकेका वा अभ्यास गर्न नसकेका हुन सक्छौं । अथवा अहिले आफू कुन अवस्थामा छु भन्ने कुरा महसुस नै गर्न नसकेका पनि हुन सक्छौं । आफू कुन अवस्थामा छु भन्ने सम्बन्धी आफ्नो अवस्था पत्ता लगाउनको लागि हामीले आत्मनिरीक्षण गर्न सिक्नुपर्छ । आत्मनिरीक्षण आफैं भित्र फर्कनु हो । यो थप अगाडि बढ्नको लागि निकै महत्वपूर्ण हुने गर्छ । जब हामी आफू कुन अवस्थामा छु भन्ने आफैंले थाहा पाउँछौं, त्यस पश्चात् मात्र हामीले लिनुपर्ने अबको गञ्तव्य के हुने भन्ने कुरा आफैंले तय गर्न सक्छौं । यसरी हामीले सही गञ्तव्यमा अघी बढ्न नयाँ गञ्तव्य सहित आफूलाई साँच्ची सङ्कल्पवान् बनाउँछौं भने हाम्रो लागि हरेक कुरा सम्भव हुँदै जानेछन् ।
मोटिभेसनल स्पिकर टोनी रविन्स भन्नुहुन्छ, ‘हामी कहाँ पुग्ने भन्ने कुरा हाम्रो मिनिङ (अर्थ) र इमोसन (संवेग)मा निर्भर गर्दछन् । छोटो समयको लागि धेरै ठूलो बदलाव सम्भव नरहेपनि दीर्घकालको लागि असम्भव भन्ने केही हुँदैन ।’
ऐनाको प्रयोग किन ?
मानसिक प्रतिबिम्ब बदल्नको लागि हामीले आफ्नो मष्तिष्क भित्र नै आफूले चाहे बमोजिमका चित्रहरु हामीले सृजना वा कल्पना गर्न सक्नुपर्छ । यसको लागि शुरुवाती चरणमा ऐनाको अगाडि उभिएर गर्ने अभ्यासले हामीलाई ठूलो सहयोग पु¥याउन सक्छ ।
जब हामी ऐनालाई देख्छौं वा ऐनाको प्रतिबिम्ब हेर्छौं, तब आफूलाई खुसी र आनन्दको गहिराईमा पु¥याउने अवस्था विकास गर्न सक्यौं भने हामीले यसबाट अवश्य पनि राम्रो लाभ लिन सक्छौं ।
एउटा प्रयोग
एउटा ठूलो ऐनाको अगाडि उभिउँ
अब ऐनामा आफैंलाई हेरौं । आफ्नो अनुहारका प्रत्येक अङ्गसँगै अनुसारमा बगिरहेको भावलाई महसुस गरौं ।
अब आफूलाई अत्यन्तै खुसी अवस्थामा पु¥याउँ । अथवा विगतमा आफू अत्यन्तै खुसी र आनन्दको अवस्थामा रहँदाको क्षणलाई स्मरण गरौं ।
ठूलो आवाज सहित आफैंलाई धन्यवाद दिउँ । हृदय देखि नै धन्यवाद भाव समेत महसुस गरौं । आफूलाई स्वस्थ र जीवित राखेकोमा ब्रह्माण्डीय शक्ति प्रति कृतज्ञ बनौं ।
आफू भित्रका खुसी हुनुपर्ने कम्तीमा ३ ओटा सकारात्मक पक्षहरु खोजी गरौं ।
हामी आफूमा जुन बदलाव ल्याउन चाहन्छौं, त्यो बदलाव अहिले नै आइसकेको महसुस गरौं ।
अब आँखा बन्द गरेर कल्पना गरौं कि आफ्नो अनुहार पूर्ण रुपमा सुन्दर र चमत्कारयुक्त बनिसकेको छ ।
अब आफूलाई एक उत्कृष्ट पुरष्कार विजेता भएको महसुस गरौं । आफ्नो त्यो अवस्था स्मरण गरेर आफैंलाई बधाईं दिउँ । अन्य दर्जनौं व्यक्तिहरुले आफूलाई फूलमाला पहि¥याइदिएको र बधाईं दिइरहेको भित्री भावनात्मक गहिराईबाट कल्पना गरौं ।
आफ्नो स्वासको गति र शरीरमा आएका हरेक परिवर्तनलाई एक–एक गरेर महसुस गरौं ।
(सम्भव भएसम्म यस अभ्यासलाई प्रत्येक दिन कैयौं पटक र हरेक दिन दोहो¥याइरहौं ।)
र यो पनि स्मरण गरौं
जब हामी कृतज्ञता अभ्यास गरिरहेका हुन्छन्, हाम्रो ध्यान केवल सकारात्मक कुराहरुमा मात्र केन्द्रित गरौं । हामीबाट विगतमा के–कस्ता गल्तिहरु भएका छन्, त्यसमा आफूलाई आत्मग्लानि वा खिन्नता महसुस नगरौं ।
आजबाट हामी बदलिइसकेका छौं, विगतमा आफूबाट भएका हरेक गल्ति प्रति आफैंलाई क्षमा दिउँ । साथै आजउप्रान्त सचेत रुपमा आफूले कुनै गल्ति नगर्ने र समाजका अन्य व्यक्तिहरुको लागि सदैव प्रेरक पात्रको रुपमा आफूलाई संलग्न गराउने प्रण गरौं ।
जब हामी पूर्ण खुसी, आनन्द र सकारात्मक भावमा हुन्छौं, तब हामी अर्को–अर्को त्यस्तै सकारात्मक वस्तु, परिस्थिति र घटना हाम्रो जीवनमा आकर्षित गरिरहेका हुन्छौं । यसकारण हरबखत आफूलाई खुसी र आनन्दित अवस्थामा राख्ने र सकारात्मक कुराहरुमा आफ्नो ध्यान केन्द्रित गर्ने अभ्यासलाई निरन्तर बढाइरहौं ।
आजको अभ्यास
– आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका सबै सकारात्मक बुँदाहरु एकपटक पढौं । ती सबै बुँदाहरुमा आफू ती चिजको लागि कृतज्ञ रहने कारण खोजेर खुसी साथ धन्यवाद भाव व्यक्त गरौं । त्यो सूचीमा आज कृतज्ञता प्रकट गर्न थप १० चिजहरु समावेश गरौं ।
– आज ऐनाको अगाडि उभिएर पूर्ण खुसी र आनन्द भाव सहित आफैंलाई धन्यवाद व्यक्त गरौं ।
– ऐना अगाडि रहँदा आफू खुसी हुनुका कम्तीमा ३ कारणहरु खोजी गरौं ।
– आँखा बन्द गरेर कल्पना गरौं कि हामी (म) एक साहसी व्यक्ति हुँ (अथवा म एक उत्कृष्ट पुरष्कार विजेता हुँ ।) यो ठानेर आफैं प्रति गर्व र थप कृतज्ञता महसुस गरौं
– ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु कम्तीमा १० ओटालाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।
हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिनहरु यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद धन्यवाद ।। धन्यवाद ।।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij