२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

२३ औं दिन:  प्रत्येक चामत्कारिक श्वास प्रति कृतज्ञता

२३ औं दिन:  प्रत्येक चामत्कारिक श्वास प्रति कृतज्ञता

  • कमल पन्थी

यस ब्रह्माण्डमा एक्कासी वा बिना कारण केही पनि भएको हुँदैन । सबै कुरा व्यवस्थित रुपमा नै सृजना भएका र चलेका हुन्छन् । वैज्ञानिक सरआईज्याक न्यूटन भन्छन्, ‘जब म सौर्य प्रणालीलाई गहिरोसँग नियाल्छु, यस सौर्य प्रणालीमा पृथ्वी अत्यन्तै ठीक ठाउँमा रहेको पाउँछु । पृथ्वी र सूर्यको दूरी यसरी तयार गरिएको छ कि जहाँ पृथ्वीमा सूर्यबाट आउने ताप र प्रकाश अत्यन्त सन्तुलित तवरले व्यवस्थित भएको छ । अन्य ग्रहहरुमा यस किसिमको वातावरण कहीँ मिलेको छैन ।’

यस पृथ्वीमा हामीहरुले जे चिजहरु प्राप्त गरेका छौं, ती सबै हाम्रो लागि महत्वपूर्ण छन् । जुन कुरा हामी सबैलाई निःशुल्क र समान रुपमा उपलब्ध छन्, तिनै चिज हाम्रो लागि बहुमूल्य छन् । यस अर्थमा प्रकृतिले त तपाईं हामी सबैलाई समान रुपमा न्याय गरेको छ । तथापि हामी आफूसँग उपलब्ध रहेको चिज अर्को व्यक्तिसँग पनि उपलब्ध रहेको देखेर आफूलाई ती वस्तु उपलब्ध भएकोमा गर्व गर्न सकेनौं, कृतज्ञ रहन सकेनौं । किनकि मानवीय स्वभाव नै अरु भन्दा पृथक बनुँ भन्ने हुन्छ ।

के हाम्रो लागि स्वास महत्वपूर्ण छैन ?

एकपटक विचार गरौं त, हाम्रो लागि स्वास कति महत्वपूर्ण छ ? हामी सबैको जवाफ हुन्छ, ‘अत्यन्तै महत्वपूर्ण’ । के अहिले सम्म हामी आफूले स्वास लिन पाएकोमा कहिल्यैं आफूलाई भाग्यमानी ठान्यौं त ? शायद नहोला । हामीलाई फुर्सद नमिलेको हुन सक्छ वा हामीलाई यस बारे वास्तै नभएको हुन सक्छ । किनकि हामी अत्यन्तै व्यस्त छौं । बेफुर्सदिला छौं, हामीलाई प्रयाप्त समय उपलब्ध नभएको कारण हामी व्यस्त भएका होइनौं । बरु हामीले समयलाई सही तवरले उपयोग गर्न नजान्दा बढी व्यस्त बनेका हौं । कामको महत्वका आधारमा कामलाई प्राथमिकीकरण गर्न नजानेको कारण हामी बेफुर्सदिला भएका हौं ।

हामीलाई थाहा छ, हामी स्वास भएन भने हामी एकछिन पनि बाँच्न सक्दैनौं । यस अर्थमा स्वास नै हाम्रो जीवन हो । सबैजसो धर्मग्रन्थहरुले स्वासलाई विशेष महत्व दिएका छन् । प्राणायाम, योग, ध्यान, शारीरिक अभ्यास, आयुर्वेद, आधुनिक मेडिसिन सबैमा स्वासको तालमेललाई महत्वपूर्ण मानिएको छ । हामीले आफ्नो स्वासको गतिलाई व्यवस्थित गरेर आफ्नो स्वास्थ्यलाई सन्तुलित अवस्थामा राख्न सक्छौं ।

‘न्यूरो लिङ्ग्वेष्टिक प्रोग्राम (एनएलपी)’ले हाम्रो स्वासको गति र शारीरिक अवस्था आपसमा अन्तरसम्बन्धित रहने प्रमाणित गरिसकेको छ । यी मध्ये एउटालाई कारणको रुपमा बदल्दा अर्को परिणामको रुपमा स्वतः बदलिन्छ ।

स्मरण गरौं त, के हामीले यस्तो अनुभव गरेका छौं ? जब हामी असहज अवस्थामा हुन्छौं नि, तब हाम्रो स्वासको गति र स्वास ग्रहण गर्ने तरिका पनि बदलिएको हुन्छ ।

बदलिँदो जीवनशैलिको प्रभाव

अहिले हामी आफू भित्र फर्कन, परिवारजन र आफन्तमा भावनात्मक विषयवस्तुमा अन्तरक्रिया गर्नबाट टाढिँदै गएका छौं । हाम्रो लागि मानवनिर्मित मोबाइल फोन, इन्टरनेट गेम, टेलिभिजन लगायतका उपकरणहरु सर्वथोक हुन थालेका छन् । हामी आफूलाई अधिक समय यिनै चिजवस्तुहरुमा व्यस्त बनाइरहेका छौं । आफूलाई एक दिनमा उपलब्ध २४ घण्टा समयलाई के–के काममा कसरी व्यवस्थापन गर्ने भन्नेमा हामी अधिकांशले विचार गर्न सम्म भ्याएका हुँदैनौं । कुन काम हाम्रो लागि उपलब्धिमूलक छ र कुन छैन ? कुन कामले हामीलाई तत्काल लाभ पु¥याउँछ र कुन दीर्घकालिन महत्वको छ ? भन्नेमा हामीले ख्याल नगरेका हुन सक्छौं ।

पुनः एकपटक विचार गरौं कि जब मानिस लगायत सम्पूर्ण जीवजनावर यस धरातलमा जन्मन्छौं, आफ्ना सबै श्रृष्टिको लागि खाना र प्राण वायुको सुनिश्चित गराएर मात्रै ब्रह्माण्डले हामीलाई जन्म दिएको हुन्छ । के यो आफैंमा आश्चर्यजनक छैन ? ब्रह्माण्ड त हरेक सम्भावनाको अथाह खानी वा समुद्र हो । यसमा हामीले जे लिन वा दोहन गर्न चाहन्छौं, हामी त्यही चिज पाउँछौं । हामी आफूलाई सम्भावना र उपलब्धिमा केन्द्रित बनाएर खुसी अवस्थामा राख्यौं भने हामी त्यस्तै राम्रा चिजहरु आफूतर्फ आकर्षित गरिरहेका हुन्छौं । हामी समस्यामा मात्रै केन्द्रित भएको खण्डमा एक पछि अर्को गर्दै नकारात्मक स्थिति हामीतर्फ आइरहन्छ । यो त प्राकृतिक नियम नै हो ।

अबको विकल्प

यदि हामी आज सम्म समस्या, पीडा, भयमा केन्द्रित थियौं भने अब उपलब्धि र सम्भावनामा केन्द्रित होऔं । हामीसँग जे छैनन्, ती वस्तुको तुलनामा हामीलाई जुन चिज निःशुल्क रुपमा उपलब्ध छन्, ती चीज नै हाम्रो लागि उपयोगी र सर्वश्रेष्ठ ठानेर आफूलाई सदैव खुसी अवस्थामा राख्ने प्रयत्न गराैं ।

जब हामी आफ्नो ध्यान निरन्तर रुपमा जुन कुरा हामी आफूसँग उपलब्ध छैन, त्यही चिजमा केन्द्रित गर्छौं भने हामी तत्कालको आनन्द र भावी सम्भावनाबाट वञ्चित हुन पुग्छौं, यसको परिणामस्वरुप हामी छिट्टै रोग र पीडाको भागिदार बन्नुपर्छ भन्ने बुझौं । यसकारण हामी आफूसँग जे उपलब्ध छ, त्यसमा कृतज्ञ रहने प्रयत्न गरौं । खुसीयालीपूर्वक बाँचौं । तब मात्र समाजका अन्य व्यक्ति र प्राणीको लागि आशाको किरण बन्नेछौं ।

पृथ्वीमा हामीले जे कुरा पायौं, त्यो संयोगवश प्राप्त भएको ठान्यौं भने हामीले थप राम्रा कुराहरु हामी तर्फ आकर्षित गर्न सक्दैनौं । किनकि जब हामी कुनै कुरा संयोगले भएको मान्छौं, हामी आफूलाई कृतज्ञताको गहिराईमा डुबाउन सक्दैनौं । जब श्रृष्टिकर्ता ब्रह्माण्डले सबै कुरा पूर्णतासहित निर्माण गरेको अनुभव गरेर त्यसमा कृतज्ञता, खुसी र पूर्णता भाव प्रकट गर्छौं, हामी खुसी र आनन्दको थप गहिराईमा डुब्न पुग्छौं । जब हामी आफूमा खुसी, आनन्द र सन्तुष्टि बढाउँदै लैजान सक्छौं, तब अन्य त्यस्तै खुसी, आनन्द र सन्तुष्टिहरुलाई हामी सचेत रुपमा आमन्त्रण गरिरहेका हुन्छौं ।

एउटा प्रयोग

आज हामी आफूले लिने स्वासमा पटक–पटक ध्यान केन्द्रित गरौं । प्रत्येक पटक ५ लामो स्वास लिएर त्यसले स्पर्शः गर्ने प्रत्येक अंगहरु नाक, घाँटी, छाती, पेट लगायतमा आनन्द भावको महसुस गरौ. । साथै ‘चामत्कारिक स्वास ग्रहण गर्न पाएकोमा धन्यवाद’ शब्द पनि भाव सहित उच्चारण गरौं ।

स्वास भित्र आउँदा आफूभित्रका सम्पूर्ण विकार तत्वहरु प्राणवायुले जलाएर नष्ट गराई नयाँ ऊर्जा भरिरहेको महसुस गरौं । स्वास बाहिर जाँदा आफू भित्र रहेका हरेक विकार एवं विषादीयुक्त चिजहरु पनि सँगसँगै बाहिरिएको महसुस गरेर आफूलाई थप स्वस्थ बन्दै गएको अनुभुति गरौं ।

स्वास लिने समयमा आँखा बन्द गरेर आफूमा धेरै–धेरै उमङ्ग थपिएको र थप जवान बनेको अनुभुति गरौं । यस अर्थमा आफैंलाई बधाईं दिउँ । आफू अब हरेक लक्षित उपलब्धि हासिल गर्नको लागि सक्षम रहेको अनुभुति सहित आजको दिन पूर्ण सफल हुने कल्पना सहित आँखा खोलौं ।

आजको अभ्यास

– आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका सबै सकारात्मक बुँदाहरु एकपटक पढौं । र खुसी एवं धन्यवाद भाव व्यक्त गरौं ।

– आज कम्तीमा ५ पूर्ण लामो स्वासहरु भित्र आएको र ५ पूर्ण स्वास लामो बाहिर निस्किएको गहिरोसँग अनुभव गरौं । साथै आफू थप स्वस्थ बन्दै गएको महसुस गरौं ।

– प्रत्येक स्वास लिएपश्चात् ‘चामत्कारिक स्वास ग्रहण गर्न पाएकोमा धन्यवाद’ शब्द भित्री भाव सहित उच्चारण गरौं ।

– ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु कम्तीमा १० ओटालाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।

हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिनहरु यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद धन्यवाद ।। धन्यवाद ।।।

 – कमल पन्थी

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij