२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सोह्रौं दिनः स्वास्थ्यमा चमत्कारी परिवर्तन कसरी ल्याउने ?

सोह्रौं दिनः स्वास्थ्यमा चमत्कारी परिवर्तन कसरी ल्याउने ?

सेन्ट अगष्टिन भन्नुहुन्छ, ‘चमत्कार प्रकृतिका विरुद्ध हुँदैनन्, बरु हामीले प्रकृतिलाई कसरी बुझेका छौं, त्यस बुझाईको विरुद्धमा हुन्छ ।’

“Miracles are not contrary to nature, but only contrary to what we know about nature”

  • Saint Augustine,  Theologian &  Catholic Bishop

 

यदि हामी साँच्ची स्वस्थ रहन चाहन्छौं भने अधिकांश समय स्वास्थ्य र ऊर्जाशिल रहेको अनुभुति गर्न सक्नुपर्छ । चाहे हामी विरामी अवस्थामा रहौं वा स्वस्थ अवस्थामा, जब हामी स्वास्थ्यको बारेमा सोच्छौं र आफूमा स्वास्थ्य भाव विकास गर्छौं, तब हामीमा वास्तविक स्वास्थ्य अझ बढी मात्रामा वृद्धि हुँदै जान्छ ।

हामीले स्वास्थ्य हाम्रो आफ्नो जन्मजात अधिकार हो भनेर भित्रै देखि आफूमा विश्वास जगाउन सक्यौं भने हामी आफूलाई स्वस्थ बनाउन सक्छौं । तपाईंलाई पत्यार लागेन ? त्यसैकारण त अभ्यास वा प्रयत्न जरुरी रहन्छ । याद गर्नुस्, सोचेर वा पढेर मात्र हामीले त्यसको वास्तविक लाभ लिन सक्दैनौं ।

एकपटक विचार गरौं त, जब हामी स्वस्थ अवस्थामा हुन्छौं, के त्यस समयमा हामी आफ्नो शरीर स्वस्थ भएकोमा आफू प्रति कहिल्यै खुसी महसुस गरेर, आफूलाई भाग्यमानी ठानेर के आफैंलाई कहिल्यै बधाईं वा धन्यवाद दिएका छौं । शायद नहोला । तर जब हामी साधारण विरामी पर्छांै नि, तब हामी आफूलाई आफैंले सरापिरहेका हुन्छौं । जब हामीबाट कुनै काम साधारण रुपमा बिग्रन्छ, तब हामी आफूलाई सराप्छौं ।

जब हामी कोही व्यक्ति वा उसको काम गर्ने तरिकालाई मन पराउँदैनौं, तब हामी त्यस व्यक्तिलाई मनमनै वा शब्दको माध्यमबाट गालि गरिरहेका हुन्छौं । मष्तिष्कको नियम हुन्छ कि जब हामी अन्य व्यक्ति प्रति गालि वा माया जे व्यक्त गरेका हुन्छौं, त्यसले अर्को व्यक्तिलाई भन्दा बढी असर (हानि वा लाभ) आफंैलाई पारिरहेको हुन्छ ।

एउटा प्रयोग

आज एउटा प्रयोग आफैं प्रति गर्ने संकल्प गरौं । प्रयोग साधारण छ । तथापि त्यस प्रयोगको अनुशासित अभ्यासले हाम्रो जीवनमा ल्याउने बदलावको परिणाम असाधारण रहनेछ ।

आज बिहान ओछ्यानबाट जागेर उठेपश्चात् राती सुत्ने बेला सम्म हाम्रो मष्तिष्कमा स्वास्थ्य प्रति कति ओटा कुन–कुन सकारात्मक विचारहरु आए ? कतिओटा नकारात्मक विचारहरु आए ?

सम्भव रहे सम्म ती सबैलाई आफ्नो डायरीमा अलग–अलग पृष्ठमा टिपोट गरौं । सम्भव नरहे बढी शक्तिशाली १०–१० ओटा विचारहरु टिपौं ।

आत्मनिरीक्षणको माध्यमबाट पत्ता लगाउँ कि ती मध्ये स्वास्थ्य सम्बन्धी हाम्रा अधिकांश विचार हाम्रो लागि आवश्यक एवं लाभदायक थिए ? वा अनावश्यक र हानिकारक ? अनि ती विचार मध्ये कुन बढी शक्तिशालि थिए ? त्यो पनि पत्ता लगाउँ । साथै त्यस मध्येका कुन–कुन विचार हाम्रो मष्तिष्कमा लामो समय चलिरहे ?

यो पनि याद गरौं कि लामो समय त्यो विचार चलिरहेको अवस्थामा हाम्रो शरीरको अवस्था, भावनात्मक परिवर्तन, संवेग लगायतलाई पनि याद गरौं । यदि राम्रो विचार लामो समय चलेर त्यसले हामीलाई भावनात्मक परिवर्तन ल्याएको छ भने त्यो हाम्रो लागि राम्रो कुरा हो । तथापि नराम्रो विचार र भावना बढी चलेको छ भने याद गरौं कि हामी कुनै न कुनै समस्याबाट पीडित भइरहेका छौं । दुवै किसिमका विचार लगभग बराबर अनुपातमा चल्छन् भने हामी साधारण तवरले बाँचिरहेका छौं । जुन बिन्दुबाट हामी सकारात्मक बिन्दुतर्फ केन्द्रित हुन अब ढिला गर्नुहुँदैन ।

बुझ्नुपर्ने कुरा

जब हामीमा राम्रा विचार बढी चल्छन्, हामी सही गञ्तव्यमा छौं भनेर बुझौं । हामी अवश्य पनि सहज र ऊर्जामय अवस्थामा छौं । त्यसलाई अझ शक्तिशालि बनाउनको लागि निःस्वार्थ रुपमा खुसी, कृतज्ञता, आशा र प्रेमको सञ्चार गरौं । जुन हामीलाई निःशुल्क उपलब्ध छन् ।

तथापि यदि हामीमा बढी पीडामय विचारहरु चलेका छन् भने हामी चिन्ता, तनाव, डर र पीडाको अवस्थामा छौं । हामी यस्तो अवस्थामा अधिकांश व्यक्तिलाई विश्वास गर्न सकिरहेका हुँदैनौं । त्यस अवस्थामा हामी हाम्रो लागि आवश्यक र सकारात्मक काममा संलग्न हुन सक्दैनौं । किनकि हामी भित्र सृजना भएका रसायनहरुले हामीलाई सही र गलत छुट्याउने क्षमतालाई कमजोर बनाइदिएका हुन्छन् ।

हामी आफ्नो स्वास्थ्य प्रति प्रशन्न रहन सक्यौं भने हामीले थप स्वास्थ्यलाई हाम्रो लागि आकर्षित गरिरहेका हुन्छौं ।

दोस्रो प्रयोग

हामीमा आउने सकारात्मक र नकारात्मक विचारको अनुपात थाहा पाएपछि अब हामी सकारात्मक विचार र अनुभव वृद्धि तर्फ केन्द्रित हुनेछौं । हामी आफूलाई अहिले पूर्ण स्वस्थ अवस्थामा रहेको अनुभव गरौं । एकपटक पूर्ण विश्वासका साथ विचार गरौं त, हाम्रो शरीरका अधिकांश अङ्गहरु अहिले पनि स्वस्थ अवस्थामा नै छन् । केही अङ्ग विरामी छन् भने पनि त्यसबाट हामी विचलित बन्न दिनुहुँदैन । किनकि हामी ती अङ्गलाई प्राकृतिक नियम अनुसार सहज रुपमा स्वस्थ बनाउन सक्छौं । यो पनि बुझौं कि हाम्रो ध्यान धेरै ठूलो उपलब्धिमा केन्द्रित नगरी किन नोक्सानी तर्फ केन्द्रित गर्ने ?

अब आफ्नो शरीरका हरेक स्वस्थ अङ्गहरुमा एक–एक गरेर ध्यान केन्द्रित गरौं ।

जस्तो कि

रचनात्मक सोच्ने मष्तिष्क
बाहिरी संसार हेर्ने आँखा
स्वाद लिने जिब्रो
खाना पचाउने र ऊर्जा सञ्चार गर्ने पेट
लेख्ने र हस्ताक्षर गर्ने हात
हिँड्ने खुट्टा
……………….लगायत

ती सबै अङ्गहरुलाई एक–एक गरेर कृतज्ञता भाव प्रकट गरौं । स्वस्थ प्राकृतिक अवस्थामा रहेकोमा धन्यवाद दिउँ ।

अब आफ्नो ध्यान शरीरको एउटा अस्वस्थ अङ्गमा केन्द्रित गर्नछौं ।

अस्वस्थ अङ्गको चामत्कारिक उपचारको लागि कृतज्ञता विधि

आफ्नो शरीरको एउटा अस्वस्थ अङ्ग लिऊँ, जस्तो कि नाकले स्वाद गुमाएको छ ।

पहिलो स्टेप

आफ्नो बाल्यकालमा फर्कौं, जहाँ हामी पूर्ण स्वास्थ्यको अनुभुति गथ्र्यौं, कति आशावादी थियौं, कति जाँगरिका, फुर्तिला थियौं । एकपटक पुनः प्रकृतिले हामीलाई पूर्ण स्वस्थ रुपमा जन्म दिएकोमा कृतज्ञता प्रकट गरौं । साथै आफ्नो जीवनको सबैभन्दा सुखद क्षणको बारेमा राम्रोसँग स्मरण गरी अहिले आफूलाई त्यस समयको भावनात्मक स्थितिमा पु¥याउँ । साथै त्यस अवस्थाको बारेमा यथार्थ अनुभव गरेर धन्यवाद व्यक्त गरौं ।

दोस्रो स्टेप

अनुभव गरौं कि हामी अहिले पनि बाल्यकालको जस्तै स्वास्थ्य लाभ गरिरहेका छौं । हामीमा कुनै किसिमको पीडा महसुस भएको छैन । अथवा हाम्रो वृहत्तर स्वास्थ्यको अगाडि आफ्नो पीडा अत्यन्तै साधारण ठानेर आफ्नो ध्यान पीडामा नभई वृहत्तर स्वास्थ्यमा केन्द्रित गरौं । साथै बाँकी रहेका स्वास्थ्य समस्या पनि छिट्टै निको हुँदै जानेमा विश्वस्त रहौं ।

शरीरका हरेक स्वस्थ अङ्ग र प्रणालीहरु एक–एक गरेर गणना गर्दै हरेक अङ्ग प्रति मानसिक रुपमा कृतज्ञता प्रकट गरौं ।

तेस्रो स्टेप

शरीरको एउटा अस्वस्थ अङ्गको स्मरण गरौं । जसलाई हामी स्वस्थ बनाउन चाहन्छौं । यसको लागि हामी त्यस अङ्ग प्रति गहिराईपूर्वक कृतज्ञता प्रकट गर्दैछौं ।
यसको लागि अस्वस्थ अङ्ग (मानौं नाक) पूर्ण रुपमा स्वस्थ भएको भविष्यको एउटा समयक्रमको आदर्श अवस्थाको कल्पना गरौं । यहाँ हाम्रो नाकले निकै राम्रोसँग गन्ध महसुस गरिरहेको छ । टाढा–टाढा देखिका गन्धहरु पत्ता लगाएर हामीलाई सम्भावित दुर्घटनाबाट बचाईरहेको छ । त्यस अवस्थालाई गहिराइबाट सम्झेर आफ्नो स्वस्थ नाक प्रति गहिरो कृतज्ञता भाव प्रकट गरौं (महसुस गरौं) । लामो स्वास लिउँ । साथै आफ्नो बाल्यकालमा फर्किएर आफ्नो नाक पहिले पनि स्वस्थ नै रहेको र फेरी पनि स्वस्थ बन्दै गरेको अनुभुति गरेर आफूलाई स्वस्थ नाकको जन्मसिद्ध अधिकार प्राप्त गरेको विजेता ठानेर आफैंलाई बधाईं दिउँ ।

आजबाट हामी शरीरको जुन अङ्गलाई स्वस्थ बनाउन चाहन्छौं, त्यस अङ्गमा यस्तै किसिमले अभ्यासलाई निरन्तरता दिउँ । आफ्नो समस्या कति ठूलो हो, त्यस समस्याबाट कति मानिसको मृत्यु भयो, कति पीडा हुन्छ भन्नेमा कत्ति पनि ध्यान नदिउँ । त्यस समस्यासँग सम्बन्धित भिडियोहरु हेर्न बन्द गरौं । किनकि हामी आफूलाई प्राकृतिक नियमको आधारमा सरल तरिकाबाट स्वस्थ बनाउन सक्छौं भने अन्य तरिकाहरु अपनाउनुपर्ने हामीलाई आवश्यकता नै पर्नेछैन ।

पश्चिमी मेडिकल साइन्सका पिता हिप्पोक्रेट्स भन्नुहुन्छ, ‘प्राकृतिक ऊर्जा प्रवाह नै हाम्रा विमारको वास्तविक उपचारक हो ।’

नोटः हामीले माथि उपलब्ध गराएका स्वास्थ्यका विधिहरुलाई दिनमा एक वा सो भन्दा बढी पटक प्रयोग गर्न सक्छौं । जति धेरै विश्वासपूर्वक यस्तो अभ्यासलाई हामीले निरन्तरता दिन्छौं, त्यत्ति नै छिटो हामी आफूलाई स्वस्थ बनाउँदै लैजान सक्छौं । किनकि प्रकृतिले विश्वासको नियम अनुसार काम गर्दछ ।

सावधान रहनुपर्ने कुरा

यी विधिहरु अपनाउँदा आफ्नो वर्तमान अवस्थालाई याद गरेर आफ्नो अवचेतन मष्तिष्कलाई आफू स्वस्थ भएको विश्वास दिलाउन सकेनौं भने हामी आफूमा उपचार हुनबाट वञ्चित गरिरहेका हुनेछौं ।

र यो पनि

हामीसँग (शरीर र मनमा) निश्चित परिमाणमा ऊर्जा उपलब्ध छ । त्यसलाई हामीले भविष्यको लागि सञ्चय गर्न सक्दैनौं । तथापि त्यसलाई हामीले आफ्नो लाभको लागि वा हानीको लागि वर्तमानमा उपयोगमा ल्याउन भने सक्छौं । ऊर्जाबाट लाभ लिनको लागि हामीले सचेत रुपमा अभ्यास गर्नुपर्ने हुन्छ । यसको लागि केही समझदारी र अनुशासनको आवश्यकता हुन्छ । जसरी हामीले खोलाको पानीलाई यत्तिकै बग्न दिने वा त्यसलाई उब्जनी बढाउन र जलविद्युत उत्पादनको लागि प्रयोगमा ल्याई हाम्रो जीवनस्तर सहज बनाउने मध्ये एक विकल्प रोज्छौं, त्यसरी नै हामी आफूलाई प्रयत्नपूर्वक स्वस्थ बनाउने अथवा आफ्नो स्वास्थ्यमा विचारै नगरी यस भन्दा पनि कमजोर बन्न दिने भन्ने छनौट गर्ने विकल्प हामीसँगै छ । छनौट गर्ने जिम्मेवारी र अधिकारका हामी हकदार छौं ।

आजको अभ्यास

१. आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका आफू भित्रका सबै सकारात्मक बुँदाहरु एकपटक पढौं ।

२. त्यो सूचीमा कृतज्ञता प्रकट गर्नको लागि थप १० ओटा सकारात्मक बुँदाहरु थपौं । ती सबैलाई कम्तीमा एक पटक पढौं र हामी कृतज्ञ रहनुका कारणहरु सहित धन्यवाद व्यक्त गरौं ।

३. केही दिन पहिले देखि हामीले दैनिक रुपमा प्रयोग गर्दै आएका हरेक वस्तुहरु प्रति सचेत रुपमा कृतज्ञता प्रकट गर्न शुरुवात गरेका छौं । यसलाई निरन्तरता दिउँ ।

४. आज हामी आफ्नो स्वास्थ्यका बाल्यकाल, यौवन अवस्था र प्रौढ ३ ओटै अवस्थाको अनुभव गरौं । हामी सबैभन्दा स्वस्थ र खुसी भएको बेला स्मरण गरेर आफैं प्रति कृतज्ञता प्रकट गरौं ।

५. आफ्नो शरीरका कम्तीमा ५ ओटा स्वस्थ अङ्गहरु गणना गरौं । साथै ती हरेक अङ्ग प्रति एक–एक गरेर कृतज्ञता प्रकट गरौं ।

६. आफूले सुधार गर्न चाहेको शरीरको एउटा अङ्ग लिउँ । आँखा बन्द गरेर त्यो अङ्गले अत्यन्तै प्रभावकारी तवरले काम गरेको कल्पना गरेर अत्यन्तै गहिराईपूर्वक महसुस गरौं । त्यस अवस्थामा उक्त अङ्गलाई अनुभुति गरेर त्यस अङ्ग प्रति विशेष कृतज्ञता भाव प्रकट गरौं ।

यसको लागि भनौं,

म ………..अङ्ग प्रति कृतज्ञ छु किनकि यसले प्राकृतिक अवस्थामा काम गरिरहेको छ ।

७ . राती ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु (कम्तीमा १० ओटा)लाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।

हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिनहरु यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद धन्यवाद ।। धन्यवाद ।।।

– कमल पन्थी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij