
पूर्वीय समाजमा यात्रा गर्नु भन्दा पहिले कलश स्थापना गरेर यात्रामा निस्कनु भन्दा पहिले नै कृतज्ञता वा ब्राह्माण्डीय सन्देशलाई हाम्रो माध्यमबाट अन्तिम गञ्तव्यमा सुखद भाव सहित पठाउने प्रचलन रहँदै आएको छ । किनकि यस्तो अभ्यासले हाम्रो यात्राका बाधाअवरोधहरुलाई एक–एक गरेर हटाउन सकुन् । हाम्रो लागि खाना, बास लगायतका कुराहरु समेत दिव्य तवरले प्रबन्ध हुन सकोस् ।
पश्चिमी समाजमा यो मान्यता रहँदै आएको छ कि हरेक काम पश्चात् धन्यवाद प्रकट गर्नु जति महत्वपूर्ण र अत्यावश्यक काम अर्को हुँदैन । यसले कृतज्ञता भावको महत्व अवश्य झल्काउँछ ।
जब यस्तो धन्यवाद भाव हृदय देखि नै प्रकट भएको हुन्छ, त्यसले जसको लागि धन्यवाद व्यक्त गरिएको हुन्छ, उसको लागि त हौसला प्रदान गर्छ नै । त्यो भन्दा पनि महत्वपूर्ण कुरा त यो छ कि जसले धन्यवाद भाव व्यक्त ग¥यौं, उसैलाई यो सयौं गुणा लाभ सहित फिर्ता समेत हुने गर्छ ।
कृतज्ञता आफैंमा शक्तिशालि ऊर्जा हो । कुनै व्यक्ति, वस्तु, परिस्थिति वा घटना जे भएपनि त्यसप्रति कृतज्ञता प्रकट गर्दा हामीले अदृष्य सकारात्मक चमत्कारी ऊर्जा कर्णहरुलाई हामीले हाम्रो माध्यमबाट ब्रह्माण्डमा पठाएका हुन्छौं । त्यसले अदृष्य रुपमा ब्रह्माण्डमा रकेका विकार तत्वहरुलाई शुद्धिकरण गरिदिन्छ ।
एउटा प्रयोग
हामीले आज दिनभरमा जो–जो व्यक्तिहरुसँग भेट्छौं, कुराकानी गर्छौं र सेवा लिन्छौं । ती सबैलाई एक–एक गरेर धन्यवाद व्यक्त गरौं । कतिपय अवस्थामा आफैं प्रति कृतज्ञता भाव जागृत पनि गराएर पनि यस्तो अभ्यास गर्न सक्छौं । जब हामीले कसैबाट सेवा लिएर कृतज्ञता व्यक्त गर्दैनौं भने हामीले भविष्यमा हामी तर्फ आउनुपर्ने सकारात्मक ऊर्जा र उपलब्धिलाई आफैंले रोकेका हुनेछौं ।
यदि अहिले सम्म हामी अधिकांशले बाटो सरसफाईमा खटिएका कर्मचारीहरु, अस्पतालमा सरसफाईमा खटिएका कर्मचारीहरु, हाम्रो घर अफिसको सरसफाई र रंगरोगनमा खटिने कर्मचारी, मोटरसाइकल र गाडी ग्यारेजमा सेवा उपलब्ध गराउने कर्मचारी, मसाज सेन्टर, रिसेप्सनिष्ट, ट्वाइलेट सरसफाइ कर्मचारी, सेक्युरिटी गार्ड लगायतका प्रत्यक्ष सेवामा संलग्न कर्मचारीलाई हेर्ने दृष्टिकोण सकारात्मक नबनाई हेय भाव राख्दै आएका छौं भने त्यो दृष्टिकोणलाई बदलौं ।
मनमनै उनीहरु प्रति हृदय देखि नै धन्यवाद भाव व्यक्त गरेर चमत्कारी ऊर्जा कणहरुलाई उनीहरुको वृहत्तर विकासको लागि ब्रह्माण्डमा पठाउँ । एकपटक विचार गरौं त, के हामी ती व्यक्तिहरुले सेवा उपलब्ध नगराएको भए हामी सुटटाईमा सजिएर हिँड्न पाउँथ्यौं होला ? त्यो काम कि हामी आफैंले गर्नुपर्ने हुन्थ्यो, कि आफूलाई पनि फोहोर वातावरणकै अंश बनाउनुपर्थ्याे ।
सेवा लिन पाएकोमा यसरी कृतज्ञता व्यक्त गरौं
यदि हामी खाजा खान रेष्टुरेन्टमा जान्छौं भने हामीलाई सेवा गर्न खटिएका कर्मचारीहरुले सरसफाईयुक्त वातावरणमा आफूलाई स्वागत गरेर हाम्रो चाहना अनुसारका आइटमहरु उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरौं । सुपरमार्केटमा जाँदा त्यति विशाल स्टोरमा निःशुल्क घुमफिर गर्न र आफैंले सामान छनौट गर्ने अवसर पाएकोमा कृतज्ञता व्यक्त गरौं । पिकनिक वा विवाह भोजमा सहभागि हुन पाउँदा, हवाई वा गाडीबाट यात्रा गर्दा, कुनै तालिममा सहभागि हुँदा लगायत हरेक काममा आफैं भित्र धन्यवाद भाव व्यक्त गर्ने कामलाई आफ्नो बानीको रुपमा विकसित गरौं । केही हप्ता वा महिना सम्म यस्तो अभ्यास सचेत रुपमा गर्दा कृतज्ञता हाम्रो बानीको रुपमा विकास भइसकेको हुनेछ । साथै यसबाट हाम्रो जीवनमा चमत्कारी परिणाम प्राप्त भएको देखेर हामी आफैं अचम्मित हुनेछौं ।
यस पृथ्वीमा भएका हरेक व्यक्तिहरु सबै अदृष्य अभिभावकका सन्तानहरु हौं । हामी आफ्ना अभिभावकका नजरमा सबै समान छौं । यसकारण हामीले आफ्नो अवस्था भन्दा तल्लो अवस्थामा रहेका व्यक्तिलाई पनि आजबाट समान रुपमा हेर्ने अभ्यास विकास गरौं ।
फरक परिस्थितिमा कृतज्ञता अभ्यास
यदि कुनै काम गर्ने क्रममा हाम्रो साथमा रहेको अर्को व्यक्ति रिस वा झगडाको अवस्थामा प्रस्तुत हुन्छ भने पनि हामीलाई यसबाट केही फरक पर्नुहुँदैन अर्थात हामी विचलित हुनुहुँदैन । हामीले यो बुझ्नुपर्दछ कि त्यो व्यक्ति विगतका थुप्रै नकारात्मक अनुभवहरुबाट प्रभावित छ । यसकारण त्यस व्यक्ति प्रति पनि सकारात्मक कृतज्ञता व्यक्त गरौं । कुराकानी गर्ने संयोग मिल्यो भने ऊ भित्र पनि थुप्रै दिव्य प्राकृतिक गुणहरु रहेको बताएर प्रफुल्ल बनाउँ । जस्तोसुकै मुडी व्यक्तिलाई पनि उ राम्रो रहेका वास्तविक कारणहरु पहिचान गराएर तत्कालको लागि शान्त बनाउन र उसलाई आशावादी र ऊर्जाशिल तवरले अघी बढ्न प्रेरित गर्न सकिन्छ ।
हामीसँग पृथक तवरले प्रस्तुत हुनुमा उसका थुप्रै कारणहरु जिम्मेवार हुन सक्छन् । हुन सक्छ, त्यस व्यक्तिले अहिले सम्म अधिकांश व्यक्तिबाट सहयोग पाउन सकेको छैन । अधिकांश व्यक्तिबाट उसले अपमान भोग्नुपरेको पनि हुन सक्छ । हुन सक्छ, हामीले समाजबाट सिक्दै आएको साधारण वाक्यांश ‘यस संसारमा कोही मान्छे पनि विश्वास गर्न योग्य छैनन्’ भन्ने मान्यताले उसको अवचेतनमा गहिरो छाप बसेको पनि हुन सक्छ । त्यस दिनका हामीसँग भेट हुनु भन्दा अघिल्ला कारोबार बिग्रिएको कारण असल व्यक्ति पनि रिसको अवस्थामा पुगेको हुन सक्छ । यस्तो अवस्थामा तर्कबाट हामी आफूलाई सही सावित गर्न खोज्यौं भने त्यो हाम्रो मुख्र्यांयी हुनेछ । तथापि हामीले प्रकट गर्ने छोटो अवधिको दया र कृतज्ञता भावले त्यो व्यक्ति सधैंको लागि बदलिन पनि सक्छ । त्यसो हुन सम्भव रहन सक्छ भने हामीले त्यस व्यक्ति प्रति दया र कृतज्ञता किन प्रकट नगर्ने ?
जब हामी कुनै सामान किनिरहेका हुन्छौं, खाना आइरहेका हुन्छौं, वा अन्य कुनै काम गर्छौं । त्यस अवस्थामा हामीलाई सेवा पु¥याउने व्यक्तिलाई अत्यन्तै भद्र तवरले धन्यवाद व्यक्त गरौं । अझ सम्भव छ भने धन्यवाद व्यक्त गर्नुको कारण समेत जोडौं । जस्तो कि
‘तपाईंलाई धेरै धेरै धन्यवाद किनकि तपाईंको व्यवहार-सेवा-डेकोरेसन…….बाट म अत्यन्तै प्रभावित भएको छु । तपाईंको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’
आजको अभ्यास
१. आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका आफू भित्रका सकारात्मक कुराहरु पढौं ।
२. त्यो लिष्टमा कृतज्ञता प्रकटको लागि थप १० ओटा सकारात्मक कुराहरु थपौं । कम्तीमा एक पटक पढौं र हामी कृतज्ञ रहनुका कारणहरु सहित धन्यवाद व्यक्त गरौं ।
३. आज हामीले सेवा पाएकोमा कम्तीमा १० जना व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरौं । हरेक व्यक्तिलाई धन्यवाद दिन सम्भव नभए त्यस काममा खटिने व्यक्तिहरुलाई मनमनै आभार प्रकट गरेर कृतज्ञताको चमत्कारी कण ब्रह्माण्डमा पठाउँ । साथै आफूमा कृतज्ञता भावको अनुभुति अवश्य गरौं ।
४. यदि आज हामी घरमै छौं भने हामीलाई टेलिफोन, इन्टरनेट, इमेलको माध्यमबाट हामीलाई सेवा पु¥याउने व्यक्तिहरु प्रति कृतज्ञता प्रकट गरौं । अथवा आज कति मानिसहरु विहानै देखि काममा खटिइसकेका होलान्, उनीहरुलाई एक–एक गरेर कृतज्ञता प्रकट गरेर कृतज्ञताको चमत्कारी कण ब्रह्माण्डमा पठाउँ ।
५. राती ओछ्यानमा सुत्नु पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु (कम्तीमा १० ओटा)लाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।
हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिन यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij