२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

उद्यमशिलता विकासमा सोच परिवर्तन र राज्यको भूमिका

उद्यमशिलता विकासमा सोच परिवर्तन र राज्यको भूमिका

  ई. अनिल मानन्धर, प्रबन्ध निर्देशक, बोनाफाइड इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रा.लि.

नेपालमा सञ्चालनमा रहेका विभिन्न संस्थाहरुले आफूहरुले सञ्चालन गर्दै आएको कार्यक्रम निकै सफल रहेको भनेर दाबी गर्दछन् । विभिन्न गैह्रसरकारी संस्थाहरुले प्रस्तुत गर्ने प्रतिवेदनहरुलाई आधार मान्ने हो भने नेपालका अधिकांश व्यक्तिहरुको अवस्था निकै माथिल्लो स्थितिमा उठिसकेको हुनुपर्ने हो । सबैले आ–आफ्नो तरिकाले काम गरिरहेका छन्, काम नै नभएको होइन । तथापि यसरी काम भइरहँदा धरातलीय स्थितिमा के–कति परिवर्तन आउन सक्यो भनेर निरीक्षण गर्ने हो भने खासै उपलब्धि पाउन सकिँदैन ।

पृष्ठभूमि

सुशासन सहितको समृद्ध नेपाल निर्माण हामी सबैको चाहना हो । जुन चाहनालाई पूरा गर्न योजनाबद्ध तवरले अठोट सहित कर्ममा होमिनुपर्छ । त्यसो हो भने के हामी साँच्ची समृद्धिको आधार तयार बनाउन प्रतिबद्धतापूर्वक परिपरेका छौं त ? प्रतिबद्धता जनाएर मात्रै लक्षित उपलब्धि हासिल हुन सक्छन् भन्ने हुँदैन । यसको लागि हामी समर्पित पनि हुन सक्नुपर्छ । विकास र समृद्धि भनेको ‘बटम टु टप अवधारणा’ हो । यसकारण मुलुकको समृद्धिको लागि तल्लो तहमा रहेका व्यक्तिहरुको आर्थिक अवस्थालाई सम्बोधन गर्दै उनीहरुलाई उत्पादनमा जोड्न सक्नुपर्छ । जसबाट उद्यमशिलता विकासमा सहयोग पुग्न सकोस् ।

नेपालको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने राष्ट्रको कुल ग्राहस्थ उत्पादनमा अहिले पनि अनौपचारिक क्षेत्रको योगदान महत्वपूर्ण रहँदै आएको छ । ठूला उद्योगको तुलनामा कुटिल घरेलु उद्योग, साना उद्योग र मझौला उद्योगको सङ्ख्या अत्यन्तै बढी छ । तथापि राज्यले अहिले सम्म अधिकांश नीतिहरु निम्नवर्गीय उद्योग व्यवसायलाई सही तवरले सम्बोधन हुन सक्ने गरी निर्माण गर्न सकेको पाईंदैन । राज्य सबैको अभिभावक भएकोले सबैलाई सन्तुलित तवरले व्यवस्थित गर्न सक्नुपर्छ ।

उद्यमशिलता विकासमा औपचारिक शिक्षाको भूमिका
हाम्रो शिक्षाले समेत अहिले सम्म उद्यमशिलता विकासलाई खासै महत्व दिन सकेको पाईंदैन । हाम्रो औपचारिक शिक्षाको संरचनाले व्यावहारिक समस्या समाधानलाई जोड दिन नसकेको कारण नै हुनुपर्छ कि उत्पादित जनशक्ति र उद्योग-बजार बीच राम्रो तालमेल मिल्न सकेको छैन । जसले गर्दा एकातिर नेपालका उद्योगमा क्षमतायुक्त जनशक्तिको कमी छ, अर्कोतिर नेपालमा अवसर नभएको भन्दै बर्षेनी लाखौं मानिसहरु रोजगारीको लागि विदेशिइरहेको स्थिति छ ।

कति प्रभावकारी छन् उद्यमशिलता प्रवद्र्धनको लागि भएका प्रयाशहरु ?
राज्यले उद्यमशिलता प्रवर्द्धनको लागि कुनै पहल नै नगरेको होइन । सहुलियत दरमा कृषक-उद्यमीहरुलाई कर्जा उपलब्ध गराउने देखि विभिन्न अनुदानका कार्यक्रमहरु राज्यले सञ्चालनमा ल्याएको छ । कोरोनाकाल लगायत कठिन परिस्थितिमा विभिन्न सहुलियतका प्याकेजहरु पनि उपलब्ध गराएको हो । उद्योगी व्यवसायीहरुको वित्तीय आवश्यकता परिपुर्तिको लागि थुप्रै बैंक तथा वित्तीय संस्थाहरु नेपालमा सञ्चालनमा छन् । तथापि नेपालमा उद्यमशिलता प्रवद्र्धनका हाम्रा प्रयत्नहरु खासै प्रभावकारी हुन सकेका छैनन् । यसो हुनुमा राज्यले लगानी गर्दैमा उद्यमशिलता फस्टाउन सक्छ भन्ने आधारमा मात्र काम गरिनु पनि एक हुन सक्छ । राज्यले आफ्ना कार्यक्रमहरुलाई प्रभावकारी बनाउनको लागि लक्षित वर्गसमुदायका व्यक्तिहरुलाई व्यवसाय सञ्चालनपूर्व आवश्यक तालिम उपलब्ध गराई उनीहरुलाई मानसिक रुपमा तयार बनाउने साथै समय–समयमा सरोकारवाला निकायहरुबाट नियमन, अनुगमन र निरीक्षण गरी आवश्यक पृष्ठपोषण समेत उपलब्ध गराउने लगायतका कदम समेत चाल्नु जरुरी रहन्छ ।

धरातलीय आधारले पुष्टि गर्न नसकेको विकास

नेपालमा सञ्चालनमा रहेका विभिन्न संस्थाहरुले आफूहरुले सञ्चालन गर्दै आएको कार्यक्रम निकै सफल रहेको भनेर दाबी गर्दछन् । विभिन्न गैह्रसरकारी संस्थाहरुले प्रस्तुत गर्ने प्रतिवेदनहरुलाई आधार मान्ने हो भने नेपालका अधिकांश व्यक्तिहरुको अवस्था निकै माथिल्लो स्थितिमा उठिसकेको हुनुपर्ने हो । सबैले आ–आफ्नो तरिकाले काम गरिरहेका छन्, काम नै नभएको होइन । तथापि यसरी काम भइरहँदा धरातलीय स्थितिमा के–कति परिवर्तन आउन सक्यो भनेर निरीक्षण गर्ने हो भने खासै उपलब्धि पाउन सकिँदैन । आखिर किन त ?

उद्यमशिलता प्रवर्द्धनको आवश्यकता
नेपालमा अहिले सम्म विकास गतिविधिहरु एकीकृत अवधारणा बमोजिम अघी बढ्न सकेका छैनन् । राज्यले उद्यमशिलतालाई आफ्नो विशेष चासोको रुपमा लिन सकेको छैन । उद्यमशिलता विकासको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर, राज्यले राज्यकोषबाट ठूलो रकम लगानी गरेर पनि नेपालमा किन उद्यमशिलता सफल हुन सकिरहेको छैन ? अब हाम्रो विष्लेषण त्यस तर्फ केन्द्रित हुनु जरुरी छ ।

यदि राज्यले साँच्चै उद्यमशिलता विकासलाई जोड दिन चाहन्छ भने विद्यालय तहको औपचारिक शैक्षिक कार्यक्रममा उद्यमशिलता सम्बन्धी एउटा नयाँ पाठ्यक्रम थप गरिनुपर्छ । जसमा वित्तीय ज्ञान, बजेट निर्माण, आम्दानी खर्च बीचको सन्तुलन, लगानी, जोखिम, जोखिमको दर, व्यवसाय-कम्पनी सञ्चालन, लगानी विविधिकरण, ब्याजमा लागु हुने साधारण र चक्रीय ब्याज, मुद्रास्फिति, माइण्डसेट लगायतका कुराहरु समेटिनुपर्छ ।

उद्यमशिलता सफल हुन नसक्नुका कारणहरु

हाम्रो भविष्यलाई हाम्रो संस्कार र शिक्षाले धेरै हद सम्म नियन्त्रित गरेको हुन्छ । हाम्रो सामाजिक स्थिति, कार्यवातावरण लगायत समेत यसमा जिम्मेवार हुन्छन् । अहिले हामीले जुन किसिमको शिक्षा प्राप्त गर्दै आएका छौं, त्यस शिक्षाले उद्यमशिलता विकासलाई अत्यन्त न्यून महत्व दिएको अवस्था छ । जसले गर्दा हामीले उद्यम विकासको लागि बलियो धरातल निर्माण नै गर्न सकेका छैनौं । हाम्रो समाजले हामीलाई राम्रोसँग पढ्न र ठूलो मान्छे बन्नको लागि प्रेरित त गर्दै आएको छ । यो राम्रो पक्ष हो । तथापि त्यो प्रेरणा कुन मूल्य, मान्यता र विश्वासबाट निर्देशित छ भनेर समेत विचार गरिनु जरुरी रहन्छ । यसरी सूक्ष्म रुपमा विचार गर्ने हो भने हाम्रो समाजले भन्दै आएको छ कि ‘जसले राम्रोसँग पढ्छ, उसले उत्कृष्ट कम्पनीमा राम्रो जागिर प्राप्त गर्न सक्छ ।’ हाम्रो शिक्षा नीति पनि त्यस्तै छ । हामीले पाठ्यक्रम र पाठ्यपुस्तक नै त्यस्तै तयार पारेका छौं, जसले जागिरलाई सर्वोपरी ठान्छ, राम्रो जागिर भेट्टाउन नसकेको खण्डमा मात्रै उद्यम÷व्यवसायमा जोडिनुपर्छ भन्ने मान्यताबाट हामी निर्देशित छौं । शैक्षिक कार्यक्रममा उद्यमशिलता सम्बन्धी औपचारिक विषयवस्तु अध्ययन नगराइनुले सायद यही कुरालाई अझ प्रष्ट पार्छ । तथापि हामी यो पनि मान्दै आएका छौं कि उद्यमशिलता विकास बिना मुलुक समृद्ध बन्न सक्दैन । यी २ तर्क-मान्यतालाई विचार गर्ने हो भने हाम्रो विचार आफैंमा अस्पष्ट र विरोधाभाषपूर्ण भएको अनुभुति हुन सक्छ ।

विरोधाभाषपूर्ण किन छ हाम्रो तर्क ?

एकातिर हामीले उद्यमशिलतालाई न्यून प्राथमिकतामा राख्दै आएका छौं । हाम्रो मानसिकता पुरानै अवस्थामा छ । तथापि हामीले ओभरनाइट क्रान्ति वा जादु भइहालोस् वा हुनुपर्छ भन्ने किसिमले समृद्ध नेपालको शाब्दिक प्रार्थना पनि दोहोर्याइरहेका छौं । जुन व्यावहारिक जीवनमा असम्भव हुन्छ भन्ने कुरा पनि हामीलाई थाहा नभएको होइन । हरेक सफलता प्राप्तिको लागि वचन र व्यवहार बीच तालमेल मिल्नुपर्छ भन्ने कुरा हामीले मनन गर्न सक्नुपर्छ । यसो हुन नसकेकै कारण हामीले लक्षित उपलब्धि हासिल गर्न नसकेका हौं । यथार्थ परिस्थितिलाई विचार गर्ने हो भने हामी उत्पादनबाट टाढिँदै गएका छौं । अहिले हामी आयातमा निर्भर बन्दै गएका छौं । क्षमतायुक्त जनशक्ति विदेश पलायन हुने स्थिति अझ तीव्र बन्दै गएको छ । एकातिर हामीले आफ्नो सोचाईको ट्रेण्डलाई बदल्न नै चाहँदैनौं । अर्कोतिर हामीले समृद्धि र उत्पादकत्व अभिवृद्धिको कुरा गरिरहेका छौं । जबसम्म सोच -योजनालाई कार्यव्यवहारले सम्बोधन गर्न सक्ने गरी हामी अघी बढ्दैनौं, तब सम्म हामीले नयाँ लक्ष्य प्राप्ति गर्न सक्दैनौं ।

औपचारिक शैक्षिक कार्यक्रममा समेटिनुपर्छ ‘उद्यमशिलता’ विषय
यदि राज्यले साँच्चै उद्यमशिलता विकासलाई जोड दिन चाहन्छ भने विद्यालय तहको औपचारिक शैक्षिक कार्यक्रममा उद्यमशिलता सम्बन्धी एउटा नयाँ पाठ्यक्रम थप गरिनुपर्छ । जसमा वित्तीय ज्ञान, बजेट निर्माण, आम्दानी खर्च बीचको सन्तुलन, लगानी, जोखिम, जोखिमको दर, व्यवसाय-कम्पनी सञ्चालन, लगानी विविधिकरण, ब्याजमा लागु हुने साधारण र चक्रीय ब्याज, मुद्रास्फिति, माइण्डसेट लगायतका कुराहरु समेटिनुपर्छ । साना सफल व्यवसायका वास्तविक सफलताका कथाहरु देखि ठूला बहुराष्ट्रिय कम्पनीहरु कसरी स्थापना भई विश्वव्यापी पहुँच स्थापना गर्छन् ? भन्ने कुरा पनि बालबालिकालाई सानै उमेर देखि सिकाउन जरुरी रहन्छ । विद्यार्थीहरुलाई तहगत रुपमा विभिन्न परियोजना कार्यहरुमा संलग्न गराई उनीहरुलाई जोखिमसँग परिचित गराउनुपर्छ । साथै जोखिम व्यवस्थापन, डर माथिको नियन्त्रण, उत्पादन छनौट, टिम व्यवस्थापन, सञ्चार कला (कम्युनिकेसन), समयको महत्व, गोल सेटिङ, बजार पहिचान र बजारीकरण, नाफा नोक्सान लगायतका व्यावहारिक कुराहरुमा परिचित हुन सहयोग पुर्याउनुपर्छ । जसबाट विद्यालय तहमा अध्ययन गरेको व्यक्ति सिधै उत्पादनमा जोडिन सक्ने स्थिति सृजना होओस् ।

किन आवश्यक हुन्छ हरेक व्यक्तिमा उद्यमशिल सोच ?
उद्यमशिल मानसिकता भएको व्यक्तिले आफ्नो सोचाईको दायरालाई फराकिलो बनाउँछ । हरेक कठिन परिस्थितिमा पनि त्यस भित्र समाधान कसरी निकाल्न सकिन्छ भन्ने सोच्न सक्छ ।

 

जोखिम मूलतः २ किसिमका हुने गर्दछन् । निश्चित (Systematic)   र अनिश्चित (Unsystematic) । अर्को तेस्रो प्रकारको जोखिम राजनीतिक अवस्था र नियमनकारी निकायले ल्याउने नीतिगत परिवर्तनमा निर्भर गर्दछ । यसरी व्यवसायमा संलग्न रहँदा आफूले कतिबेला कुन किसिमको जोखिम वहन गर्नुपर्दछ र गर्दैछु ? त्यसको दर के हुनसक्छ भन्ने आँकलन गर्नु निकै जरुरी रहन्छ ।

धनी मानसिकता र गरीबीको मानसिकता
हामी अहिले आर्थिक-भौतिक रुपमा कुन स्थितिमा छौं भन्ने कुराले हामीलाई सफल र असफल भनेर बताउँदैन । बरु हाम्रो अहिलेको मानसिकता कस्तो छ ? हामीले कसरी काम गरिरहेका छौं ? भन्ने कुरामा हाम्रो भविष्य निर्धारित हुन्छ भन्ने कुरा सिक्नु जरुरी छ । अहिलेको समयमा धनी हुनु र गरीब हुनु भनेको केवल मानसिकताको अन्तरले ल्याउने परिणाम हो भन्ने बुझ्नुपर्छ ।

गरीब मानसिकताको व्यक्तिले केवल ‘म यो काम गर्न सक्दिन, म यसको लागि योग्य छैन’ भनेर सोच्छ भने धनी मानसिकताको व्यक्तिले ‘म यो काम कसरी गर्न सकुँला’ भन्ने सोच्छ । त्यही सोचाईमा आएको साधारण पृथकताले समयक्रममा हाम्रो नतिजामा असाधारण अन्तर ल्याउँछ । यही कुरा हामी अधिकांशले बुझ्नु आवश्यकता छ ।

सफलता प्राप्तिको लागि दृष्टिकोण परिवर्तन
सफलता प्राप्तिको लागि दृष्टिकोण परिवर्तन निकै महत्वपूर्ण रहन्छ । यदि हामीले समयमा नै आफूमा सही मानसिकता विकास वा दृष्टिकोणमा परिवर्तन ल्याउने बारे सिक्न सक्यौं भने हामीले आफूलाई हरेक स्थितिमा सजिलै सम्हाल्न र हरेक परिस्थितिबाट पाठ सिकेर नयाँ तवरले अघी बढ्न सक्छौं । साथै नयाँ पुस्तालाई सफलता प्राप्तिको लागि चाल्नुपर्ने कदमको लागि तयार बनाउन र प्रेरित गर्न पनि सक्छौं । अहिले सम्म हामीमा यही कुराको कमी रह्यो । जसले गर्दा राम्रो सम्भावना बोकेका युवाहरुलाई हामीले स्वदेशमा उद्यमशिलतामा जोड्न सकेनौं ।

जोखिम र यसको दर
व्यावसायिक गतिविधिमा संलग्न हुँदा केही जोखिम अवश्य वहन गर्नुपर्छ । उद्यम जोखिमरहित क्षेत्र होइन । जोखिम हुँदाहुँदै पनि जोखिमको दर बारे हामी अवश्य जानकार हुनुपर्छ । लगानी विविधिकरण यसैकारण आवश्यक रहन्छ । आफ्नो लगानीयोग्य रकम र समयलाई सही तवरले उपयोगमा ल्याउन सकेको खण्डमा जोखिमबाट हुने नोक्सानीलाई धेरै हद सम्म घटाउन सकिन्छ ।

 

कुनै पनि काम -व्यवसाय-योजनामा संलग्न हुनको लागि योजना मात्र प्रयाप्त हुँदैन । आफैंले अनुभव समेत हासिल गर्नुपर्छ । अहिले सम्म यस्तो अनुभव व्यक्ति स्वयमको ‘ट्रायल एण्ड इरर’को माध्यमबाट विकास गर्दै जानुपर्ने स्थिति छ । जुन तरिकाबाट गरेको ज्ञान-अनुभव आर्जन कुनै समयमा अत्यन्तै महँगो समेत सावित हुन सक्छ ।

जोखिम मूलतः २ किसिमका हुने गर्दछन् । निश्चित (Systematic)   र अनिश्चित (Unsystematic) । अर्को तेस्रो प्रकारको जोखिम राजनीतिक अवस्था र नियमनकारी निकायले ल्याउने नीतिगत परिवर्तनमा निर्भर गर्दछ । यसरी व्यवसायमा संलग्न रहँदा आफूले कतिबेला कुन किसिमको जोखिम वहन गर्नुपर्दछ र गर्दैछु ? त्यसको दर के हुनसक्छ भन्ने आँकलन गर्नु निकै जरुरी रहन्छ । यो कुरा बुझ्नु जरुरी रहन्छ कि बिना आँकलन गरिएको लगानीको तुलनामा जोखिम र प्रतिफल आँकलन गरेर गरेको लगानी अवश्य पनि सुरक्षित हुन्छ ।

नेपालमा अहिले सम्म उद्यमीहरु कसरी उत्पादन भएका छन् ?
अहिले सम्म उद्यमशिलता विकासको लागि राम्रो अभ्यास नभएको कारण हरेक व्यक्तिले आफ्नै प्रयत्न विभिन्न आरोहअवरोह सामना गर्दै व्यावसायिक दिशामा अघी बढेका छन् । कुनै पनि काम -व्यवसाय-योजनामा संलग्न हुनको लागि योजना मात्र प्रयाप्त हुँदैन । आफैंले अनुभव समेत हासिल गर्नुपर्छ । अहिले सम्म यस्तो अनुभव व्यक्ति स्वयमको ‘ट्रायल एण्ड इरर’को माध्यमबाट विकास गर्दै जानुपर्ने स्थिति छ । जुन तरिकाबाट गरेको ज्ञान-अनुभव आर्जन कुनै समयमा अत्यन्तै महँगो समेत सावित हुन सक्छ । साथै हामीले यसको लागि लामो समय खर्चिनुपर्ने समेत हुन्छ ।

उद्यमशिलता सम्बन्धमा हाम्रो अभ्यास
अहिले उद्यमशिलता विकासलाई प्रवद्धन गर्नको लागि नेपालमा सिटिइभिटी, इभेन्ट लगायतका केही संस्थाहरुले काम गर्दै आएका छन् । अहिले सञ्चालनमा रहेका उद्यमशिलता विकास सम्बन्धी अधिकांश तालिमहरु गृहिणी महिला, अपाङ्ग, अशक्तहरुलाई लक्षित गरेर चलाउँदै आइएको छ, जुन अनौपचारिक हुन् । कुनै उद्योग व्यवसायमा संलग्न उद्यमीहरुको क्षमता अभिवृद्धिको लागि पनि यस्ता तालिमहरु जति मात्रामा सञ्चालन गरिनुपर्ने हो, यस्तो अभ्यास गर्ने प्रचलन भने हामीसँग अत्यन्तै न्यून छ । यस्ता तालिमहरु प्रोफेसनल एवं उद्यमशिल सोचका व्यक्तिहरुलाई समेत लक्षित गरेर आयोजना गर्नुपर्ने जरुरी छ ।

समृद्धि कसरी आउन सक्छ ?
मुलुकको समृद्धि भनेको राष्ट्रका हरेक व्यक्तिको अवस्था सुधार भएपश्चात् प्राप्ति हुने एकमुष्ट उपलब्धि हो । यसकारण मुलुकको समृद्धिको लागि हामीले आन्तरिक उत्पादन अभिवृद्धिमा जोड दिन सक्नुपर्छ । यसको लागि साना एवं घरेलु र परम्परागत प्रविधिमा आधारित उद्योग समेतलाई प्रवर्द्धन गर्नुपर्छ । उपलब्ध स्रोतसाधन, सीप र पुँजी परिचालनलाई हामीले प्राथमिकता दिनुपर्छ । हामीसँग भएका सबै किसिमका प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । हामीसँग जोसँग जे क्षमता, सीप, पुँजी, कला छ, त्यसैलाई प्रयोगमा ल्याउन सक्ने गरी परिचालन गर्ने आधार समृद्धिको लागि एक महत्वपूर्ण कदम हुन सक्छ । यसको लागि हामीले राष्ट्रमा भएका हरेक व्यक्तिहरुलाई उत्पादनमा जोडिनको लागि तयार बनाउन सक्नुपर्छ । त्यस किसिमको वातावरण निर्माण-सृजना गर्नुपर्छ ।

विश्वव्यापीकरणबाट फाइदा लिउँः
अहिलेको समय विश्वव्यापीकरणको समय हो । हामीले अहिले सम्म विश्वव्यापीकरणबाट निकै कम मात्र लाभ लिइरहेका छौं । प्रविधिको उच्च गतिमा विकास भइरहँदा नेपालमा नै रहेर विश्वका विकसित देशहरुका काम यहीँबाट सम्पन्न गर्न सक्ने आधार बनिसकेको छ ।
अबका दिनमा अवसर हामी आफैंले पहिचान गर्न सक्छौं । केवल त्यस किसिमको सोच हामीमा विकास हुनु जरुरी छ । मष्तिष्कलाई रचनात्मक योजनाको लागि खुल्ला राख्ने व्यक्ति बदलिँदो परिवेशमा सफल हुन सक्ने सम्भावना उच्च हुन्छ । हामीले विगतमा मान्दै आएको ‘सफलताको लागि कडा परिश्रम गरौं’ भन्ने मान्यतालाई परिमार्जन गर्दै नयाँ तवरले काम गरौं भन्ने मान्यताबाट अब हामी निर्देशित हुनुपर्छ ।
अहिले म संलग्न रहेको बोनाफाइड इन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सनले पनि नेपालमा नै रहेर त्यहाँको एउटा कम्पनीसँगको सहकार्यमा अमेरिकामा निर्माण हुने भवन-संरचनाहरुको निर्माणको लागि डिजाइन सम्बन्धी कार्य शुरुवात गरेका छौं । अवसर त अवश्य हुँदा रहेछन्, ती अवसरहरुलाई देख्नको लागि आफूलाई सोहीअनुसार तयार भने अवश्य बनाउनुपर्दो रहेछ ।

नेपाल र अमेरिकामा हुने कामको अन्तर
म लामो समय देखि इन्जिनियरिङ परामर्श र निर्माण क्षेत्रमा संलग्न रहँदै आएको छु । मैले गरेको अनुभव अनुसार नेपालमा संरचना निर्माण पूर्व हामीले त्यसको अध्ययन-डिजाइनको लागि अत्यन्तै कम समय मात्र (केही महिना) लगाउँछौं,  त्यस संरचना निर्माणको लागि करिब २ बर्ष लाग्न सक्छ । अमेरिकामा संरचना निर्माण छोटो समय (केही महिना)मा नै गरिन्छ । यसको अध्ययनको लागि करिब २ बर्ष लाग्न सक्छ । अत्यन्तै सूक्ष्म पक्षहरुलाई अमेरिकामा विचार गरिन्छ ।

देशभर सेवा बिस्तार गर्दैछौं
म सञ्चालक रहेको बोनाफाइड इन्जिनियरिङले अहिले नेपाल भर नै आफ्नो सेवा बिस्तार गरिसकेको छ । हामीले दमक, बारा, काठमाडौं, पोखरा, रुकुम लगायतका मुख्य शहरी क्षेत्रमा काम गरिरहेका छौं । कुनै सम्पन्न भइसकेका छन् भने कुनै सञ्चालनको क्रममा छन् । बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको जिम्मेवारी वहन गरेपश्चात् बहुचर्चित बनेको टुकुचा खोलाको ‘सौन्दर्यकरण सम्भाव्यता अध्ययन’ समेत हामीले नै गरेका हौं । हामीले सरोकारवाला निकाय काठमाडौं महानगरपालिकालाई बुझाएको प्रतिवेदन अनुसार नै उक्त कार्य अघी बढेको हो । अहिले हामीले बिष्णुमती नदीमा समेत ‘सौन्दर्यकरण सम्भाव्यता अध्ययन’ कार्य गरिरहेका छौं ।

किन निर्माण क्षेत्रमा समेत संलग्न भयौं ?
‘नेपालमा निर्माण क्षेत्रमा अहिले सम्म पनि केही वेथितिहरु कायम रहेको कुरा हामीले इन्जिनियरिङ सेवामा कार्यरत रहिरहँदा प्रत्यक्ष अनुभव गर्यौं । निर्माण व्यवसायमा अहिले सम्म राम्रो शैक्षिक एवं ज्ञान हासिल गरेका व्यक्तिहरुको सङ्ख्या अत्यन्तै कम छ । निर्णय तहमा प्राविधिक ज्ञान हासिल गरेका व्यक्ति न्यून रहँदा प्राविधिक जनशक्तिले सिफारिस गरेबमोजिम निर्माण कार्य सम्पन्न हुन सक्ने स्थिति हामीले अत्यन्तै न्यून महसुस गर्यौं । यसकारण संरचनाको डिजाइन र निर्माण एउटै व्यक्तिले गर्दा त्यस किसिमको समस्या आउन नसकोस् भन्ने मान्यताले हामी इन्जिनियरिङसँगै निर्माण क्षेत्रमा पनि संलग्न भएका हौं’ इन्जिनियर अनिल मानन्धरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij