२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

कांग्रेसले आज देशभर मेलमिलाप दिवस मनाउँदै 

कांग्रेसले आज देशभर मेलमिलाप दिवस मनाउँदै 

काठमाडौं- नेपाली कांग्रेसले साेमबार ४८ औं मेलमिलाप दिवस मनाउँदै छ। पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेताहरू राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ।

कांग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८ औं मेलमिलाप दिवस मनाउन लागेकाे हाे। यस वर्ष कांग्रेसले संघीय राजधानी काठमाडौंमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विशेष कार्यक्रम गरी मनाउन लागेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

आज दिउँसो १ बजे काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भव्य रुपमा आयोजना हुने उक्त कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका तथा बृहत् शान्ति सम्झौताका पक्षधर विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताको उपस्थिति रहने प्रमुख विश्वकर्माले बताए।

मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि भारतबाट २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको, पाकिस्तानबाट बङ्गलादेश अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेपछि बिपीलगायत नेताहरू देशको सार्वभौमसत्ता रक्षाका लागि ज्यानको बाजी थापेर स्वदेश फर्किएका थिए।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै स्वदेश फर्किएका बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए।

स्वदेश फर्किएका नेता बिपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो। यसअघि तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए।

शाही ‘कु’पछि कांग्रेस नेताहरुलाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दीगृह बनाएर स्थानान्तरण गरिएको थियो।

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि विसं २०२५ मा भारत प्रवासमा गएका कांग्रेस नेताहरू राष्ट्रियतामाथि खतरा देखिएपछि प्रवास जीवन त्यागेर स्वदेश फर्किएका थिए।

त्यसपछि २०३४ साल जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी कोइरालालाई रिहा गरिएको थियो। एकपटक सुन्दरीजल बन्दीगृह फर्काइपछि प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो।

नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेकाे दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक र अपरिहार्य छ। प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका जननायक बिपीले राजनीति मात्र होइन, नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाएका छन्। बिपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पुर्‍याएकाे छ।

सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्र्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) तथा जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’ शीर्षकमा प्रकाशित) लेखेका थिए।

बन्दीगृहमा बस्नुअघि २००८ सालमा उनको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो। कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रूपमा चिनिन्छन्।

मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ। चौबीस रोपनी क्षेत्रफलको सुन्दरीजल बन्दीगृहलाई २०६१ साल भदौ २४ गते बिपी संग्रहालयमा परिणत गरिएको हो।

Published on Deshsanchar.com

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij