
काठमाडौं । आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा एक विशेष समारोह बीच ‘बासबहादुर जीसी (संस्करण सङ्गालो) र ‘महान् देशभक्त समाजसेवी बासबहादुर जीसी’ विमोचन गरिएको छ ।
पुस्तकमा धुर्कोट राज्यको विकास एवं सांस्कृतिक योगदानमा जीसीले पुर्याएको योगदानहरु बारे समेटिएको छ ।
समाजसेवी बासबहादुर जिसीको योगदान सम्बन्धमा उक्त समारोहमा विभिन्न व्यक्तिहरुले आफ्नो धारणा व्यक्त गर्नुको अलावा ऊहाँका सम्बन्धमा विभिन्न व्यक्तिहरुले बताएका धारणाहरुलाई डिजिटल रुपमा समेत प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा राजस्व सचिव राम प्रसाद घिमिरेले विमोचन गरिएका ग्रन्थले इतिहास बारे जानकारीको लागि भावी पुस्ता सम्म निकै महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जीसीको योगदान बारे बताउँदै विगतमा राज्यका निकायहरुले राम्रो सेवा पुर्याउन नसकेको स्थितिमा पनि धुर्कोटका केही व्यक्तिहरुले न्याय र सामाजिक एवं सांस्कृतिक विकासमा निकै महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।

अहिले स्थानीय तह संरचनामा आफूहरुले नयाँ काम केही पनि नगरेको र अग्रजहरुले देखाएको मार्गलाई मात्रै अवलम्बन गरिरहेको बताउनुभयो । धुर्कोटको कोटमा पानीको व्यवस्थापनको लागि गार्डेपसँग सहकार्य गरेर पानीका घैंटा स्थापनामा जीसीको योगदान महत्वपूर्ण रहेको, कोटमा सरायँ नाचलाई निरन्तर व्यवस्थित रुपमा सञ्चालन गर्न र समाजका सानाठूला कार्यव्यवहार मिलाउन ऊहाँले खेलेको भूमिका बारे राम्रो प्रशंसा गर्नुभयो ।
धुर्कोटमा शिक्षाको विकासमा पनि ऊहाँको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । अहिले गाउँपालिका धुर्कोट सङ्ग्रहालय स्थापना एवं शैक्षिक सङ्ग्राहलय स्थापनाको क्रममा रहेको बताउँदै नवसार्वजनिक पुस्तकहरुले आफूहरुको योजनामा थप सहयोग पुर्याउने समेत बताउनुभयो ।
गुल्मेली समाजका टंक पन्तले आफूहरु बासबहादुर जीसीका पुस्तकहरु प्रकाशनमा ल्याउन पाएकोमा निकै खुसी रहेको बताउनुभयो । हरेक व्यक्तिमा चमत्कार गर्न सक्ने क्षमता हुने र यस कुरालाई बासबहादुर जीसीको जीवनीले प्रष्ट पार्ने बताउनुभयो ।
आइतबार सम्पन्न समारोह कविता वाचन एवं सरायँ नाच लगायतका विभिन्न गतिविधिहरु सहित सम्पन्न गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा संलग्न धुर्कोट गाउँपालिका भित्रका एवं बाहिरका लब्ध प्रतिष्ठित व्यक्तिहरुको भव्य उपस्थिति रहेको थियो ।
कार्यक्रमकी मुख्य संयोजक खिमा जीसी हुनुहुन्थ्यो भने सहसंयोजक धुर्कोट रजस्थल समाज, काठमाडौं रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij