२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

काठमाडौंमा शिक्षकहरुको व्यापक शक्ति प्रदर्शन

काठमाडौंमा शिक्षकहरुको व्यापक शक्ति प्रदर्शन

 

काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा बुधबार माइतीघरमण्डलमा शिक्षकहरुकाे व्यापक शक्ति प्रदर्शन भएकाे छ । विभिन्न मागहरु राखेर आन्दाेलनमा हाेमिएका शिक्षकहरु सामुदायिक विद्यालयका हुन् । लामाे समय सेवा गरेर पनि बढुवा, स्थायी लगायतका सुविधाहरु नपाएकाे कारण शिक्षकहरु विद्यालयकाे पठनपाठन नै बन्द गराएर आन्दाेलनमा हाेमिएका हुन् ।

यसपटककाे आन्दाेलनमा देशभरबाट शिक्षकहरु उपस्थित भएका छन् । जुगल गाउँपालिका, सिन्धुपाल्चोकको रत्नराज्य माध्यमिक विद्यालयका शिक्षक भेषराम पौडेल (५०) ले पढाउन थालेको झण्डै २० वर्ष भयो । तर उनको अहिलेसम्म एक तह पनि बढुवा भएको छैन । ५२ वर्षपछि बन्न लागेको (विद्यालय) शिक्षा ऐनले पनि न्याय दिन्छ भन्ने विश्वास नभएपछि उनी आन्दोलनमा सहभागी हुन काठमाडौं आइपुगेका हुन् ।

शारीरिक रुपमा अपाङ्गता पौडेल थरका एक शिक्षक भन्छन्, ‘म २०६१ सालमा नियुक्त भएको शिक्षक हुँ अहिलेसम्म एक तह पनि आवधिक बढुवा भएको छैन । अनि आन्दोलनमा सहभागी हुन आउनैपर्‍यो नि !’ संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक अशक्त, अपाङ्ग तथा दृष्टिविहीनमैत्री नभएको उनको बुझाइ छ । ‘कतिपय विद्यालयले हाजिर पनि गर्न मान्दैनन्, पालिकाहरुले अपायक ठाउँमा सरुवा गर्छ’ भन्छन् ‘शिक्षकको सरुवा पालिकाले गर्न मिल्दैन, अशक्तको हकमा १५ वर्षमै पेन्सनको व्यवस्था हुनुपर्छ ।’

करैयामाइ गाउँपालिका, बाराकी बाल विकास सहजकर्ता कौशल्या चौधरी (४०) पनि त्यही आन्दोलनमा थिइन् । बाल विकास सहजकर्ताहरुको दरबन्दी हुनुपर्छ, स्थानीय तहको साटो केन्द्रीय तहबाटै व्यवस्थापन गर्नुपर्ने उनको माग छ । माग पूरा नभएसम्म आन्दोलन गरिरहने भन्दै कौशल्या भन्छिन्, ‘अधिकारको लागि ऋण लिएर भएपनि लड्नपर्छ नि !’

मण्डनदेउपुर नगरपालिका, काभ्रेको महाकाली माविकी शिक्षक गोमा भुसाल (३७) शिक्षकले अरु काम गर्न नपाउने, सेवा सुविधा नबढाउने, स्थानीय तहको मातहतमा रहनुपर्ने जस्ता विषयमा असहमति रहेको बताउँछिन् । ‘यहाँ एउटा बुँदामा मात्रै नभएर धेरै वटा बुँदामा हाम्रो असहमति हो’, माइतीघरमण्डलको प्रदर्शनमा भेटिएकी उनले भनिन्, ‘शिक्षक भनेको समाज परिवर्तनको संवाहक हो तर विधेयकले बधुवा मजदुर बनाउन खोजेको देखिन्छ ।’

शिक्षा विधेयकमा १७ बुँदे असहमति राख्दै नेपाल शिक्षक महासंघले आह्वान गरेको प्रदर्शनमा देशका विभिन्न स्थानबाट आएका शिक्षकहरु सहभागी भएका छन् । बिहान ११ बज्दानबन्दै माइतीघरमण्डलमा जम्मा भएका शिक्षकहरुले बानेश्वरसम्म सडक प्रदर्शन गरे । संघीय संसद भवन वरपर निषेधित क्षेत्र घोषणा गरेकाले प्रहरीले उनीहरुलाई नयाँबानेश्वरमा रोकेको थियो ।

शिक्षकहरुको प्रदर्शनका कारण दिनभरजसो तीनकुने माइतीघर सडकमा यातायात अवरुद्ध भयो । साँझ शिक्षकहरु आआफ्नो बासस्थानतिर लागेपछि सडक त सञ्चालनमा आएको छ, तर शिक्षकहरुको आन्दोलन कहिलेसम्म हो टुंगो छैन ।

विद्यालय बन्द गरेर काठमाडौं आएका शिक्षकहरु विधेयक फिर्ता नभएसम्म नफर्किने बताउँछन् । विभिन्न नारा लेखिएको प्ले–कार्ड सहित प्रदर्शनमा सहभागी पाल्पाका शिक्षक झविन्द्र देवकोटाले शिक्षक, अभिभावक, विद्यार्थीको सहभागिता विना लेखिएको विधेयक मान्य नहुने जिकिर गरे । उनी भन्छन्, ‘शिक्षा विधेयक शिक्षक, अभिभावक, विद्यार्थीले लेख्ने हो । उनीहरु विना लेखिएको विधेयक मान्य हुने छैन ।’

शिक्षक महासंघले ट्रेड युनियनको अधिकार दिनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्ने, सरुवा, बढुवा र कारबाहीको अधिकार स्थानीय तहलाई दिन नहुने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने माग गरेका छन् ।

त्यस्तै राहत दरबन्दीका शिक्षक, साविक उच्चमाविका शिक्षक, अस्थायी र करार शिक्षक, बाल विकास कक्षाका शिक्षक, विशेष शिक्षा र प्राविधिक धारका शिक्षकलाई आन्तरिक परीक्षाबाट स्थायीको व्यवस्था गर्नुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रक्रियामा लैजानुपर्ने लगायत माग अघि सारेको छ ।

त्यही माग राखेर भएको आन्दोलनमा सहभागी शिक्षकहरुले कुनै न कुनै माग आफ्नो माग मानेका छन् । चौतारा नगरपालिका, सिन्धुपाल्चोकको जनकल्याण आधारभूत विद्यालयका शिक्षक हरिबहादुर श्रेष्ठ १९ वर्षदेखि राहत दरबन्दीमा कार्यरत छन् ।

विधेयकमा राखिएको राहत शिक्षकलाई स्थायी प्रक्रियामा लैजाने व्यवस्था उनलाई चित्त बुझेको छैन । विद्यार्थी र अभिभावकलाई माग पूरा नभएसम्म विद्यालय बन्द हुने जानकारी दिएर आएका उनी भन्छन्, ‘अब हाम्रो माग पूरा नभएसम्म यहीं बस्छौं । जति दिन बस्नु परे पनि बस्ने हो ।’

कञ्चनरुप नगरपालिका, सप्तरीको महेन्द्र जनता माविमा ९ वर्षदेखि नेपाली पढाइरहेका राहत दरबन्दीका शिक्षक रमेशप्रसाद तिमिल्सिना पनि विधेयकका कारण आफूहरुले पेशाबाट हट्ने बाध्यता आउने चिन्ता बढेको बताउँछन् ।

‘लामो समयदेखि अस्थायी रुपमा काम गरिरहेको शिक्षकहरुलाई परीक्षा लिने बहानामा घोक्रेठ्याक लगाएर निकाल्ने देखिएको छ’, १५–२० वर्षदेखि पढाइरहेका शिक्षकलाई अहिले आएर अयोग्य भन्न नमिल्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij