२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

राज्यले थप सहजीकरण गर्नु जरुरी हुन्छ

नेपाल राम्रो सम्भावना भएको देश हाेः ससिन जाेशी

नेपाल राम्रो सम्भावना भएको देश हाेः ससिन जाेशी

 

सशिन जोशी,
प्रमुख कार्यकारी निर्देशक, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज

को हुनुहुन्छ सशिन जोशी ?
नेपालमा लामो समय विभिन्न बैंकहरुको नेतृत्व गरिसक्नुभएका र व्यावसायिक क्षेत्रमा राम्रो छवि बनाउनुभएका व्यक्ति हुनुहुन्छ सशिन जोशी । नबिल र एनआइसि एसिया लगायतका बैंकहरुलाई प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रही नेतृत्व गर्नुभएका जोशी हाल जावलाखेल ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी निर्देशकको भूमिकामा हुनुहुन्छ । हाल जावलाखेल गु्रप अफ इण्डष्ट्रिज अन्तरगत एसियन डिष्ट्रिलरी, फुड वेभरेज टेक्नोलोजी एण्ड रिसर्च सेन्टर, हिमालयन डिष्ट्रिलरी, जेडिआई डिष्ट्रिब्युसन, राज ब्रुअरी, रोलिङ रिभर डिष्ट्रिलरी, विजय डिष्ट्रिलरी सञ्चालनमा छन् ।

जावलाखेल ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी निर्देशक शशिन जाेशी कम्पनीको सुशासनमा आफूले विशेष महत्व दिएको जोशी बताउनुहुन्छ उहाँ । आफू जावलाग्रुपमा जोडिएपछि कम्पनीलाई विशेष प्रणालीबाट चलाउने काम भएको, कम्पनीका विभिन्न खर्चहरु कटौती गरिएको, नयाँ उत्पादनहरु बजारमा ल्याइएको जोशी बताउनुहुन्छ । आन्तरिक एवं व्यवस्थापकीय सुधारको लागि आफ्नो योगदान महत्वपूर्ण रहेको दावी गर्नुहुन्छ जोशी ।

जाेशीकाे व्यक्तिगत जीवनशैली

जोशी हरेक दिन विहान ९ बजे भित्र अफिस आइसक्नुहुन्छ । कार्यालयबाट बेलुका निस्कँदा छिटोमा पनि ७–८ त बजिहाल्छ । व्यवस्थापनको उच्च पदमा रहेको व्यक्तिले केही समय अध्ययनको लागि पनि छुट्याउनुपर्छ भन्ने जोशीको धारणा छ । विश्वमा के भइरहेको छ भन्ने सम्बन्धमा पनि जानकारी हासिल गर्नैपर्यो । तत्कालिन घटना बारे समाचारका माध्यमहरुबाट जानकारी हासिल गर्न सकिन्छ भने पुस्तक अध्ययनले बाहिर विकास भएका नयाँ प्रविधि, खोज र तरिकाहरुबारे सदैव उर्जाशिल बनाइराख्छन् ।

संस्थागत नेतृत्वको लामो अनुभव हासिल गर्नुभएका जोशीसँग नेपालको व्यावसायिक वातावरण एवं राज्यका नीतिहरुको व्यवसाय प्रभाव सम्बन्धमा रही तयार गरिएको सामाग्री यहाँ प्रस्तुत गरिएको छ ।

अहिलेकाे अवस्था

अहिले नेपालको मात्र नभई विश्वभरकै अर्थतन्त्र कमजोर अवस्थामा छ । हाम्रो अर्थतन्त्र मन्दीको अवस्थामा छ । तथापि हरेक परिस्थितिमा हामीले हरेश नमानी निरन्तर आफूलाई क्रियाशिल बनाइरहनुपर्ने हुन्छ । म यस कम्पनीको व्यवस्थापनको माथिल्लो जिम्मेवारीमा भएको व्यक्ति नै हरेश खाने हो भने बाँकी तल्लो तहका व्यक्तिहरु स्वतः विचलित हुनेछन् । यसकारण टीमका अन्य सदस्यहरुलाई समेत निरन्तर प्रेरित गरिरहनको लागि समेत म आफू ऊर्जामय स्थितिमा हुनुपर्छ र रहँदै आएको पनि छु । मलाई लाग्छ, कालो बादल सधैं मडारिइरहँदैन । कठिन परिस्थितिमा पनि टेक्ने खुट्टालाई नछोडी दह्रो राखिराख्ने हो भने अवस्था पुःन अवश्य सुधार हुनेछ ।

संस्थालाई सफल बनाउने आधारहरु

कुनै पनि संस्थालाई सफल बनाउनको लागि व्यवस्थापनको उच्च पदमा रहेको व्यक्तिको जीवनशैलीले ठूलो अर्थ राख्छ । माथिल्लो पदको व्यक्तिको निर्देशन अनुसार नै अन्य व्यक्तिहरुले पनि काम गर्ने भएको हुनाले व्यवस्थापन तहका व्यक्ति सदैव केही कुरा सिक्नको लागि जागरुक भइरहनुपर्छ । नयाँ कुराको ज्ञान, अनुशासन, टीम परिचालन र व्यवस्थापन क्षमता बिना व्यवस्थापन कार्यमा सफल हुन सकिँदैन । संस्थागत सफलता एक व्यक्तिको पहलबाट मात्र सम्भव हुँदैन । यसकारण संस्थागत सफलताको लागि टीम व्यवस्थापनको ठूलो महत्व हुने गर्दछ । सफलता प्राप्तिको निम्ति मेहनत पनि निकै महत्वपूर्ण रहन्छ । मेहनत नगरी हामी कोही पनि सफल हुन सक्दैनौं । संस्थाको जिम्मेवारीमा रहेको व्यक्ति समयसीमामा मात्र बाँधिनु हुँदैन । संस्थागत रुपमा सफल हुनको लागि त्यहाँको नीतिगत मान्यता भित्र टेकेर काम गर्नुपर्छ । आफूले जे बोलिन्छ त्यो गर्ने र काममा समर्पित हुने साथै व्यक्तिगत र संस्थागत स्वार्थ छुट्याउन सक्ने सामथ्र्य पनि नेतृत्वमा रहने व्यक्तिको लागि अत्यन्तै आवश्यक हुन जान्छन् । अर्थात् कुनै संस्थामा काम गर्ने समयमा उक्त संस्थाको उन्नती प्रति पूर्ण रुपमा समर्पित हुनुपर्छ ।

लक्ष्य निर्धारण

नेतृत्व तहको व्यक्ति निश्चित लक्ष्य सहित अघी बढ्न सक्नुपर्छ । आफ्नो कम्पनीको उद्धेश्य के हो ? त्यस उद्धेश्यमा टेकेर संस्थालाई अहिलेको अवस्थाबाट कति बर्षमा कुन स्थितिमा पुर्याउने हो भन्ने सम्बन्धमा अघी बढ्नु निकै महत्वपूर्ण हुन्छ । सोही बमोजिम श्रोतसाधन समेतको व्यवस्थापन गर्न सकेको खण्डमा अवस्थालाई सुधार्दै लैजान सकिन्छ । संस्थाको दिगो विकासको लागि मानव संशाधन, पुँजी, प्रविधि, व्यवस्थापन, पद्धति लगायतको अलावा स्पष्ट दृष्टिकोण आवश्यक रहन्छ । जुन उद्धेश्यमा कम्पनी अघी बढिरहेको हुन्छ, त्यसलाई सार्थक बनाउन सम्पूर्ण टीम एकजुट हुनु जरुरी रहन्छ ।

नेपालमा विकास सम्भावना

नेपाल निकै राम्रो सम्भावना भएको देश हो । यहाँ अथाह सम्भावनाहरु छन् । उद्योग क्षेत्र बिना ठूलो मात्रामा रोजगारी सृजना गर्न सकिँदैन । यसकारण आवश्यकता अनुसार वैदेशिक लगानीका उद्योगहरु समेत सहज रुपमा नेपालमा आउन सक्ने वातावरण सृजना गर्नुपर्छ ।सूचना प्रविधि क्षेत्र नेपालको एउटा राम्रो सम्भावना भएको क्षेत्र हो । राज्यले यसलाई अहिले सम्म विशेष महत्व दिन सकेको छैन । तैपनि जागरुक युवाहरुले यस क्षेत्र मार्फत ठूलो योगदान गरिरहेका छन् । हामीले पर्यटनलाई सम्भावना क्षेत्र त मान्दै आएका छौं । पर्यटनको तुलनामा सूचना प्रविधि क्षेत्र अझ बढी सम्भावना भएको क्षेत्र हो । यसमा राज्यको अहिले सम्म ध्यान जान सकेको छैन । राज्यले सहयोग गरे पनि नगरेपनि उचित कानुन बनाएपनि नबनाएपनि यस क्षेत्रमा युवाहरु स्वतःस्फूर्त रुपमा संलग्न छन् । नेपाललाई विश्वसँग जोड्ने राम्रो सम्भावना भएको र कम लगानीबाट ठूलो आर्थिक लाभ हासिल गर्न सकिने क्षेत्र समेत हो सूचना प्रविधि क्षेत्र ।

सुशासन

नेपालमा हामीले यहाँका सम्भावनाहरुलाई वास्तविकतामा बदल्नको लागि सुशासनमा हामी प्रतिबद्ध हुनैपर्छ । सुशासन माथिल्लो तहबाट नै सुधार हुनुपर्ने आवश्यकता रहन्छ । तल्लो तहबाट शुरुवात गरिएको सुशासनले ठूलो प्रभाव पार्न सक्दैन । सुशासन व्यापारिक संस्थाहरुमा मात्र नभई राजनीतिमा पनि आवश्यक छ । व्यावसायिक क्षेत्रमा त आवश्यक छ नै । साथै राज्यका सबै नियम कानुनहरु स्पष्ट हुनुपर्छ । आपसमा बाझिने किसिमका हुनुहुँदैन । नियम कानुनहरु राष्ट्रका सबैलाई समान रुपमा लागु हुनुपर्छ । यसो हुन सकेको खण्डमा मात्र कानुनी राज्यको सबैलाई प्रत्याभूति हुन सक्छ ।

राजनीतिक स्थायित्व

व्यावसायिक क्षेत्रको राम्रो विकासको लागि राजनीतिक स्थायित्व निकै नै महत्वपूर्ण हुन्छ । यदि म कुनै व्यवसायमा संलग्न हुन चाहन्छु भने राज्यका नीति भित्र नै रहेर व्यवसाय गर्ने हो । व्यवसाय गर्ने व्यक्तिले कम्तीमा पनि भावी १० बर्षको लागि सोच्नुपर्छ । अहिले व्यवसायमा सम्भावना देखेर ठूलो लगानीमा फ्याक्ट्री स्थापना गरेको व्यक्तिलाई राज्यले १–२ बर्षमा नै नीतिनियमहरु परिवर्तन गरेको अवस्थामा उ निरुत्साहित हुन पुग्छ । यस्तो स्थितिमा व्यावसायिक वातावरण सफल बन्न सक्दैन । यसकारण हामीले सबैभन्दा पहिले दीर्घकालिन व्यावसायिक वातावरण निर्माणलाई पनि जोड दिनु जरुरी रहन्छ । यसो हुन सकेको खण्डमा हामीले विदेशी मुलुकहरुबाट लगानीको लागि ठूलो रकम भित्र्याउन सक्छौं ।

नीतिगत सुधारको आवश्यकता

नेपालमा ठूला उद्योग स्थापनाको लागि लामो समय भाडामा दिने व्यवस्था छैन । भारतमा सरकारले निजी व्यवसायलाई प्रवद्र्धन गर्न ४९ बर्ष सम्म सस्तोमा भाडामा दिने व्यवस्था छ । हामीसँग बाटो पनि राम्रो छैन । हामीसँग प्रयाप्त विद्युत पनि उपलब्ध छैन । नेपालमा यस्ता थुप्रै समस्याहरु छन् । यी सबै कुरा सुधार्न सकेमात्र हाम्रो अवस्था सुध्रिन सक्छ ।
यी समस्याहरुको अलावा नेपालमा घरमा बसेर नै कम्पनी खोल्न सक्ने गरी व्यवस्था गर्नुपर्ने जरुरी छ । ठूला उद्योगलाई नेपालमा भित्र्याउनको लागि १ महिना भित्र दर्ता लगायतका सबै प्रक्रियाहरु सहज रुपमा पूरा गर्न सक्ने गरी व्यवस्था गर्न सक्नुपर्छ ।
अहिले राज्यले एकद्वार नीति त भन्दै आएको छ । साथै दर्जनौं निकायबाट स्वीकृति लिनुपर्ने अवस्थालाई भने सुधार गर्न सकेको छैन । के यस्तै व्यवस्थालाई एकद्वार प्रणाली भन्न मिल्छ ? राज्यले जबसम्म निजी क्षेत्रलाई पूर्ण रुपमा व्यवसायमा समर्पित बन्ने वातावरण सिर्जना गर्न सक्दैन । तब सम्म हाम्रो राम्रो तवरले विकास हुन सक्दैन ।

अन्त्यमा

नेपालमा अहिले सम्म व्यवसायमैत्री वातावरण बन्न सकेको छैन । अहिले सम्म नेपालमा उद्योग व्यवसायका लागि हाम्रा प्रावधानहरु झण्झटिला छन् । यी झण्झटिला व्यवस्थाहरु परिमार्जन नगरी नेपालमा ठूलो मात्रामा विदेशी लगानी भित्र्याउन सक्दैनौं । हामीमा भारत र चीनका ठूला कम्पनीसँग अहिलेको अवस्थामा नै प्रतिष्पर्धी बन्न सक्ने क्षमता छैन । हामी भू–परिवेष्ठित देश भएको कारण हाम्रो उत्पादन एवं यातायात खर्च बढी पर्ने स्थिति रहन्छ । यस्तो अवस्थामा हामीले सम्भव भएसम्म आयात प्रतिष्थापनमूलक उद्योग पहिचान गरी ती उद्योगहरुलाई प्रवद्र्धन गर्नु जरुरी रहन्छ । यसको अलावा यदि हामी उच्च मूल्यका कृषिजन्य वस्तु उत्पादनलाई जोड दिने हो भने कृषिको व्यावसायिकरण कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij