
अर्थात्, निर्भयता, आत्मशूद्धि, आध्यात्मिक ज्ञानको अनुशीलन, दान, आत्मसंयम, यज्ञपरायणता, वेदाध्ययन, तपस्या, सरलता, अहिंसा, सत्यता, क्रोधविहिनता, त्याग, शान्ति, छिन्द्रान्वेषणमा अरुचि, समस्त जीवमा करुणा, लोभविहीनता, भद्रता, लज्जा, दृढ सङ्कल्प, तेज, क्षमा, धैर्य, पवित्रता, ईर्ष्या तथा मनका अभिलाषाबाट मुक्ति आदि सबै दिव्य गुण दैवी प्रकृतिको मानिसमा हुन्छ यिनै चरितार्थ गर्ने बाटोतिर लाग्नु नै एकादशी व्रतको मूल उद्देश्य हो। एकादशी व्रत भन्नाले चन्द्र मासको प्रत्येक पक्षको एघारौँ दिनलाई बुझिन्छ ।
वृञ वरणे धातुदेखि अतच् प्रत्यय लागेर व्रत शब्दको निर्माण हुन्छ। जसकाे अर्थ उपवासादि पुण्यकर्म भन्ने हुन्छ।यानिकी भगवानको नजिक जाने प्रक्रियालाई व्रत भनिन्छ।
यस्तै यजुर्वेद (१/५)मा यसो भनिएको छ।
अर्थात्, ॐ र अग्निको प्रार्थना गर्दै हे व्रतका पालक स्वामी परमेश्वर ! अबदेखि व्रत (सदव्यवहार) मात्र गर्नेछु । त्यो पूरा गर्न सकुँ। अब म असत्य छोडेर सत्य पाउँछु सत्यतिर लाग्छु भनी सङ्कल्प लिनु व्रतको सामान्य अर्थ नियम हो। व्रतको माध्यमले परम सत्य प्राप्त हुन्छ भन्ने कुरो त (यजु.१९/३०)ले पनि प्रस्टाएको छ।

विष्णु पुराण (६/२/१५) जुन फल सत्य युगमा दस वर्ष तपस्या, ब्रह्मचर्य त्रिसन्ध्या जप आदि गर्नाले मिल्छ, त्रेतामा एक बर्षमा, द्वापरमा एक महिना र कलियुगमा निष्ठापूर्वक एक अहोरात्र गर्दा मिल्दछ।त्यसैले पनि भगवान् प्राप्तिका लागि कलियुग उत्तम छ।तिथिमा एकादशीलाई उत्तम मानिएको छ।एकादशी भगवान् विष्णुको विशेष तिथि हो।सामान्यतया यी वर्षमा २४ वटा पर्दछन्। अधिकमास परेको बर्ष २६ वटा हुने गर्छन्। तीनै मध्येको एउटा हरिशयनी एकादशी पनि हो। आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ। यस एकादशीलाई देवशयनी र पद्मा पनि भन्ने गरिएको छ। हाम्रो लोक भाषामा असारे एकादशीलाई ठुलाे एकादशी पनि भनिन्छ।
यसलाई ‘पद्मनाभा’ एकादशी पनि भन्ने चलन छ । प्रत्येक वर्ष यसै दिनदेखि भगवान् विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन फर्कनु हुुन्छ भन्ने जनविश्वास छ । यसै दिनदेखि चतुर्मास व्रतको सुरुवात पनि हुन्छ । यस दिनदेखि भगवान् विष्णु चार महिनाका लागि क्षीर सागरमा गई शयन गर्नुहुन्छ भन्ने मान्यता पनि छ । त्यसैले यस एकादशीलाई ‘हरिशयनी एकादशी’ भनिएको हो र चार महिनापछि आउने कार्तिक महिनाको शुक्ल पक्षको एकादशीलाई ‘प्रबोधिनी वा हरिबोधिनी एकादशी’ भन्ने गरिन्छ । यी चार महिनामा भगवान् विष्णु क्षीर सागरमा शयन गर्नुहुने भएकाले विवाह आदि कुनै पनि शुभ कार्य गरिँदैन। धार्मिक दृष्टिले यी चार महिना भगवान् विष्णुको निद्रा काल मानिन्छ। यस अवधिमा तपस्वीहरू भ्रमण गर्दैनन्, ती एकै स्थानमा बसेर तपस्या (चतुर्मास व्रत) गर्दछन्। यस कालमा केवल ब्रजक्षेत्रको यात्रा गर्ने चलन छ, किनभने यी चार महिनामा भू-मण्डल (पृथ्वी)का समस्त तीर्थहरू ब्रजक्षेत्रमा आएर निवास गर्दछन् । ब्रह्म वैवर्त पुराणमा यस एकादशीको विशेष माहात्म्य उल्लेख गरिएको छ । यस व्रतलाई पालना गर्नाले प्राणीका समस्त मनोकामनाहरू पूर्ण हुन्छन्, सबै पाप नष्ट हुन्छन् तथा भगवान् हृषीकेश प्रसन्न हुनुहुन्छ ।
व्रत बस्ने व्रतालुले अघिल्लो दिन देखि नै शुद्ध सात्त्विक भोजन गर्नुपर्दछ।एकादशीको दिन बिहानको स्नान जप नित्य कर्म सकी व्रतको सङ्कल्प लिनुपर्दछ। सङ्कल्पमा आफ्नो शरीरले धान्ने अनुसार नियम बाँध्नु पर्दछ।नियम भङ्ग भएमा व्रत भङ्ग हुनेछ।म चोखो हु कि विटुलो जुनसुकै स्थितिमा होऊँ ।श्री पुण्डरीकाक्षलाई सम्झेर सर्वत्र नै चोखो बनूँ भनी सम्झनु पर्दछ।सबै एकादशीका दिनमा भगवान् विष्णुको पूजा-आराधना गरिन्छ, परन्तु यस एकादशीको रात्रिदेखि भगवानको शयन प्रारम्भ हुने भएकाले उनको विशेष विधि-विधानले पूजा गर्ने चलन छ। यस दिन उपवास गरेर भगवान् विष्णुको प्रतिमालाई आसनमा आसीन बनाई षोडशोपचार सहित पूजन गरी, तिनको हातलाई शङ्ख, चक्र, गदा, पद्मले सुशोभित पारेर तिनलाई पीताम्बर, पहेँला वस्त्र र पहेँलै सलले सजाइन्छ।पञ्चामृतद्वारा स्नान गराएर, त्यसपछि भगवानलाई धूप, दीप, नैवेद्य, पुष्प आदिद्वारा पूजा गरी आरती गरिन्छ । भगवानलाई पान, सुपारी अर्पित गरेपछि निम्न मन्त्र द्वारा स्तुति गर्ने परम्परा रही आएको छ :-
अर्थात् हे जगन्नाथ ! तपाई निद्रित भएपछि सम्पूर्ण विश्व निद्रित हुन पुग्छ र तपाई जागा हुँदा सम्पूर्ण विश्व तथा चराचर पनि जागृत हुन जान्छ ।
यसरी प्रार्थना गरेर भगवान् विष्णुको पूजा गर्नुपर्छ। त्यसपछि ब्राह्मणलाई भोजन गराएर स्वयं आफूले भोलिपल्ट द्वादशी तिथि लागेपछि निर्जल गरेको छ भने जलबाट फल लिएको छैन भने फलबाट व्रत पारन गर्नुपर्दछ। रात्रि कालमा भगवानको मन्दिरमा नै बस्नुपर्छ तथा भगवानको भजन र स्तुति गर्नु पर्छ । आफू स्वयं बस्न नसकि सुत्नु परेमा सुत्नु पहिले नै भगवानलाई पनि शयन गराउनुपर्छ । यस दिन अनेक परिवारमा महिलाहरू पारिवारिक परम्परानुसार देवतालाई शयन गराउने गर्दछन् । यी चार महिनाका लागि आफ्नो रुचि अथवा अभीष्ट-अनुसार नित्य व्यवहारका पदार्थहरू त्याग र ग्रहण गर्ने चलन छ।
मधुर स्वरका लागि गुड, दीर्घायु अथवा पुत्र-पौत्रादिको प्राप्तिका लागि तेल, शत्रुनाशादिका निम्ति तोरीको तेल, सौभाग्यका लागि मीठो तेलको र स्वर्ग प्राप्तिका निम्ति पुष्पादि भोग आदि त्याग्नु पर्छ । देह शुद्धि वा सुन्दरताका निम्ति परिमित प्रमाणको पञ्चगव्य, वंश वृद्धिका लागि नियमित दूध, कुरु क्षेत्रादिका समान फल प्राप्तिका लागि पात्रमा भोजन तथा सर्वपापक्षयपूर्वक सकल पुण्य फल प्राप्त गर्नका लागि एकभक्त, नक्त व्रत, अयाचित भोजन वा सर्वथा उपवास गरी व्रत ग्रहण गर्ने चलन छ । साथै चातुर्मासिक व्रतमा केही वर्जन पनि छन्। जस्तै -पलङमा सुत्नु, यौन संसर्ग गर्नु, झुटो बोल्नु, मासु, मह तथा दही-भात आदिको भोजनादि । मूला, परवल एवं भ्यान्टा आदि तरकारी खान पनि निषेध गरिएको छ । जो श्रद्धालुले यस एकादशीलाई पूर्ण विधि-विधानपूर्वक भगवानको पूजन गर्दै व्रत गर्दछन्, ती व्यक्ति मोक्ष प्राप्त गर्न सक्षम हुन्छन् ।
आफ्ना आधारभूत आवश्यकतालाई पर सारी कायिक वाचिक मानसिक रूपमा आफ्ना मुख्य देवतामा समर्पण भाव प्रकट गरिन्छ।भजनमा नभएर भोजनमा मन गएमा व्रत सारभूत हुँदैन।दश इन्द्रिय र मन गरेर एघार यी सबैलाई भगवानको सेवामा समर्पण गर्नु नै व्रतको मूल उद्देश्य हो।
आजकै दिन तुलसी देवीको रोपण पनि गरिन्छ।ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राखी हरिशयनी एकादशीका दिनमा मठमा सारिन्छ।तुलसीको दल राखेको ठाउँमा गई निम्न मन्त्रले भगवती तुलसीको प्रार्थना
गर्नुपर्दछ-
यसरी प्रार्थना पछि जरा र केही माटोसहित तुलसीलाई पूर्व फर्केर उखेल्नुपर्दछ। यसरी उखेल्दा भगवानकाे नाम ´ॐ नमो भगवते वासुदेवाय´उच्चारण गर्नुपर्दछ। यसरी उखेलिएकी तुलसी देवी लाई मठमा ल्याई पूर्व फर्केर रोपनु पर्दछ।रोपण पश्चात् पर्याप्त मात्रामा जल पनि चढाउनु पर्दछ। ब्रह्मवैवर्त पुराणअनुसार धेरै नाम मध्ये प्रसिद्ध आठ नाम यी रहेका छन्
अर्थात् वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपूजिता पावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी रहेका छन्।
तुलसी देवी भक्ति ज्ञान र वैराग्यको केन्द्रबिन्दु हुनुहुन्छ। वेद पुराण र अरू धार्मिक शास्त्रले साथै आधुनिक विज्ञानले पनि तुलसीको महत्त्व बुझी मुक्तकण्ठले प्रशंसा गरेका छन्। आयुर्वेदमा तुलसीलाई महौषधीको रूपमा लिइएको छ।
अब हरिशयनी एकादशीको कथा पढौं। जसको श्रवण मात्रले पनि बिशेष फल मिल्दछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij