उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदस्यीय इकाई गठन गरेको हो
काठमाडौँ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रमा कार्यरत प्राविधिज्ञहरूको सीप तथा क्षमता विकासका लागि दीर्घकालीन प्रशिक्षण कार्यक्रमहरू सम्पन्न गर्दै जाने उद्देश्यले सीप तथा क्षमता विकास इकाई गठन गरेको छ ।
नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदस्यीय इकाई गठन गरेको हो ।
विद्युतीय सवारी साधनहरूको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप र क्षमता अभिवृद्धि गर्दै लैजाने उद्देश्यले उक्त इकाई गठन गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ समेतको सहयोगमा नाडाले यही २०८० ज्येष्ठ २४ र २५ गते नाडा सचिवालयमा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
सुरुवाती चरणको उक्त कार्यशाला गोष्ठीमा विद्युतीय सवारी साधनहरू आयात गर्ने नाडाका सदस्य कम्पनीहरूबाट जम्मा ७ जना प्राविधिज्ञहरू सहभागी भएका थिए भने नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट महासंघका पाठ्यक्रम विकास विशेषज्ञ खेमराज काफ्लेले सो गोष्ठीमा मुख्य प्रशिक्षकको रूपमा प्रशिक्षण दिएका थिए ।
विद्युतीय सवारी साधनहरूको प्रयोग र महत्त्व दिन प्रतिदिन बढ्दै गएको परिप्रेक्ष्यमा नाडाले पहिलो पटक स किसिमको कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।
उक्त गोष्ठीमा महासङ्घ अन्तर्गत रहेको इएलएम यसका टिम लिडर चन्द्रकान्त अधिकारी र लेखा प्रमुख परशुराम नेपालको विशेष सहयोग रहेको सो वर्कसप गोष्ठीको लागि नाडाका उपाध्यक्ष, विद्युतीय सवारी साधन समितिका सभापति र स्किल डेभलपमेण्ट इकाईका सभापति राजनबाबु श्रेष्ठले आवश्यक पहल गरेका थिए ।
विद्युतीय सवारी साधनहरूको सम्बन्धमा आवश्यक सीप र ज्ञान अभिवृद्धि हुने नाडाको अपेक्षा
यस किसिमको वर्कसप गोष्ठीबाट विद्युतीय सवारी साधनहरूको सम्बन्धमा आवश्यक सीप र ज्ञान अभिवृद्धि हुने नाडाले अपेक्षा राखेको छ ।
त्यसै गरी महासङ्घसँगको सहयोगमा त्यस किसिमका प्राविधिक तालिम कार्यक्रमहरू सम्पन्न गर्दै जाने लक्ष्यसमेत लिएको बताइएको छ ।