
अप्ठ्यारो परिस्थितिमा आफू मातहतका व्यक्तिहरुलाई सक्दो सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुनुहुन्छ ताराबहादुर कुवँर । कठिन परिस्थितिमा निःस्वार्थ सेवामा जुट्ने ताराबहादुर कुवँर व्यावसायिक लाभको केही हिस्सा सामाजिक हितको लागि उपयोग गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । भूकम्पको समयमा समेत निकै धेरै व्यक्तिहरुलाई राहत वितरण गर्नुभएका उहाँ चक्रपथ सरसफाइ कार्यक्रममा केही बर्ष देखि संलग्न रहँदै आउनुभएको छ ।
अघिल्लो पटकको लकडाउन अवधिमा समेत उहाँ निरन्तर राहत वितरण तथा सामाजिक कार्यहरुमा संलग्न रहनुभयो । विभिन्न क्षेत्रका असहाय मानिसहरुलाई सक्दो सहयोग उपलब्ध गराउने कार्यमा ऊहाँको सक्रिय संलग्नता रह्यो ।
हेभि इक्युपमेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहनुभएका उहाँ लामो समय देखि निर्माण तथा लुब्रिकेन्ट्सको क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ । पछिल्लो समय ऊहाँ विभिन्न सामानहरु आयात गर्ने कार्यमा समेत संलग्न हुनुभएको छ ।
भूकम्पको समयमा आफ्नै ज्यानलाई धरापमा पारेर समेत सयौं नेपालीहरुलाई पुनर्जीवन दिन लागिपर्नुभएका कुवँर व्यवसायी मात्र नभई विपतमा परेका नेपालीहरुको आफ्नो तर्फबाट उद्दारको लागि सक्दो पहल गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।
समाजसेवामा किन लाग्नुहुन्छ कुवँर ?
खालि खुट्टा काठमाडौं आउनुभएका र यहीँकै समाजबाटै आफूले थुप्रै कुराको ज्ञान र अनुभव हासिल गरेको भन्दै आफुले समाज प्रति वहन गर्नुपर्ने भूमिकाबाट चुक्न नहुने धारणा राख्नुहुन्छ । सोहीकारण कुवँरले समाजको आवश्यकता बमोजिमका विविध सामाजिक क्रियाकलापहरुमा आफूलाई निरन्तर सक्रिय बनाउँदै आउनुभएको छ ।
आफूलाई खान र लगाउन पुग्ने जति स्रोत आफूसँग अहिले उपलब्ध रहेको अवस्थामा सामाजिक हितलाई नै मध्यनजर गरी व्यावसायिक क्रियाकलापमा आफू संलग्न भइरहेको कुवँर बताउनुहुन्छ ।
यसपटकको निर्वाचनका उम्मेदवार समेत रहनुभएका कुवँरको राजनीतिक पहिलो अनुभव भने अपेक्षित रहेन । सामाजिक गतिविधिबाट जनतासँग चिनिएको व्यक्तिले पक्कै पनि जनताबाट भोट पाउनुपर्ने आफ्नो धारणा भन्दा पृथक तवरले मतदाताहरु परिचालित हुने गरेको कुवँरको अनुभव रह्यो । मान्छेको व्यवहार र चरित्र भन्दा पनि मासुभात लगायतका क्षणिक लाभबाट मतदाता परिचालित हुने स्थिति अहिले पनि कायम रहेको उहाँको अनुभव रह्यो । जसले गर्दा सही पात्र अघी आउन कठिनाइ हुने कुवँरको ठम्याइ छ । यसो हुनुले सचेतना जागरण स्थिति अझै कमजोर रहेको संकेत गर्ने समेत कुवँर बताउनुहुन्छ ।
अहिलेको उपलब्धिः ठूलो सङ्घर्षको परिणाम
काभ्रेबाट खालि खुट्टा काठमाडौं आउनुभएका कुवँर अहिले जुन स्थितिमा हुनुहुन्छ, यस स्थितिमा आइपुग्नुमा उहाँले निकै धेरै नै सङ्घर्षहरु गर्नुपरेको छ । भारी बोक्ने देखि टेम्पो, रिक्सा, ट्रक, टिपर र हेभिइक्पिमेन्ट क्षेत्रको प्रतिष्ठित व्यक्ति बन्नु सम्मका सङ्घर्ष शब्दमा व्यक्त गर्न सकिँदैन । यद्यपि समाजले सफलताको पाटो देख्ने भएपनि सफलता पछाडिका सङ्घर्षलाई भने नबुझी सहजै सफल बन्न सकेको ठान्दा आफ्नो परिश्रमको अवमूल्यन हुने कुबँरको धारणा छ ।
आफ्नो सङ्घर्ष र आगामी योजना बारे यसो भन्नुहुन्छ कुवँरः
‘शुरुका दिनमा म काठमाडौं पढ्ने उद्देश्यले नै प्रवेश गरेको हुँ । तर परिस्थिति सधैं एकैनाश हुँदोरहेनछ । काठमाडौंमा रहँदा मैले विभिन्न आरोहअवरोहहरु सामना गरेको छु । २०३६ को आन्दोलनको क्रममा मेरो दाई लाल बहादुर कुवँर बेपत्ता हुनुभयो । अहिले सम्म उहाँको बारेमा केही जानकारी हुन सकेको छैन । काठमाडौं हामी जस्ता निम्न र मध्यमवर्गीयहरुको लागि सपनाको शहर हुने गथ्र्यो । साँच्ची सपनामै रमाइरहनुपर्ने शहर रहेछ । त्यो महसुस मैले पनि गरेँ । म काठमाडौं आउँदा मेरा आफन्तहरु यस शहरमा कोही पनि हुनुहुन्नथ्यो । एक्लै काठमाडौं प्रवेश गरेको मैले थुप्रै सङ्घर्षहरु गरेको छु । मलाई अहिले लाग्छ, मेहनत गरेरै मान्छे धनी हुन्थ्यो भने तारा बहादुर कुवँर अर्थात म आफू नै नेपालको सबैभन्दा धनी हुन्थेँ होला ।’
आफ्नो व्यावसायिक सफलता बारे यसो भन्नुहुन्छ कुवँरः
‘मैले काठमाडौं प्रवेश गरेपश्चात् भरिया हुँदै टेम्पो चालकको रुपमा काम गरेँ । विस्तारै रिक्सा, टिपर, ट्रक, मिनिट्रक लगायतमा पनि काम गरेँ । म एउटै काममा रमाइरहने स्वभावको व्यक्ति होइन, नयाँ र विकसित कामको खोजी र काम प्रतिको शोख नै मेरो सफलताको आधार हो भन्ने मलाई लाग्छ । यसैकारण शून्यबाट शुरु भएको मेरो यात्रामा कुनै दिन मेरो स्वामित्वमा टेम्पो, टिपर, मिनी ट्रक र ट्रक गरी १७ ओटा सम्म सवारीसाधनहरु थिए । हामीले कुनै दिन दैनिक १ सय ५० ट्रक सम्म सामान सप्लाई गथ्र्यौं ।
अहिले सम्म आइपुग्दा म सँग सबै छ । आफ्नो घर छ । छोराछोरी हुर्किइसकेका छन् । मेरा अहिले थुप्रै योजनाहरु सफल भएका छन् । तैपनि म मेरो परिश्रमलाई निरन्तरता दिइरहेको छु । दैनिक निरन्तर १७÷१८ घण्टा सम्म । जस्तो सुकै परिस्थिति आएपनि मैले हार मानेको छैन । हार कपादि खान्न ।’
कुवँर आफूले व्यवसायबाट कमाएको कमाइ मध्ये २० प्रतिशत रकम सामाजिक गतिविधिहरुमा नै खर्चिने प्रतिवद्धता समेत जनाउँछन् ।
यसपटकको निर्वाचनमा हार भएपनि आगामी निर्वाचन लक्षित भइ आफू अघी बढ्ने समेत कुवँरले बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij