२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

काे हुन् किरण थापा, जनताकाे लागि के गर्न चाहन्छन् किरण ?

काे हुन् किरण थापा, जनताकाे लागि के गर्न चाहन्छन् किरण ?

किरण थापा मगर, प्रदेशसभा सदस्य उम्मेदवार, भक्तपुर २ (क)

वि.सं २०३३ भाद्र १४ गते जन्मिएका किरण थापा मगर एक सफल युवा उद्यमी हुन् । लामो समय देखि राजनीतिमा पनि संलग्न रहँदै आएका उनले सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षको रुपमा सफलतापूर्वक आफ्नो जिम्मेवारी वहन गरिसकेका छन् । आफूलाई सामाजिक पात्रको रुपमा समेत स्थापित गरेका थापा लामो समय देखि विकासे गतिविधिहरुमा पनि त्यत्तिकै सक्रिय रहँदै आएका छन् । उनै थापा यसपटकको प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ (क)बाट सूर्य चिन्ह लिएर मैदानमा होमिएका छन् ।

थापाकाे राजनीतिक यात्राः
हाल नेकपा (एमाले)मा आवद्ध रही राजनीतिक पाइला अघी बढाइरहेका थापाले २०५३ मा २० बर्षको उमेरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, गाउँ कमिटी अध्यक्ष हुँदै राजनीतिक यात्रा अघी बढाएका हुन् । २०५४ मा गाविस अध्यक्ष बन्नको लागि उमेर नपुगेको कारण उनी वञ्चित हुनुप¥यो । तैपनि राप्रपाका विभिन्न भूमिकामा रहँदै अघि बढिरहेकै बखत उक्त दल राप्रपामा विभिन्न आन्तरिक समस्या सृजना भई पार्टी फुट्ने स्थितिमा पुगेसँगै उक्त पार्टीबाट अलग्गिएर वि.सं २०७१ पुषबाट नेकपा (एमाले)मा प्रवेश गरेका हुन् । सोही पार्टीबाट वडाअध्यक्ष बनिसकेका थापाले यसपटक प्रदेशसभा सदस्यको लागि कसरत गरिरहेका छन् ।

सामाजिक क्षेत्रको संलग्नता
नेपाल रेडक्रस सोसाइटी, केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति, खानेपानी समिति, नेपाल टाइगर डो संघ (खेलकुद क्षेत्र) लगायत विभिन्न सामाजिक संघसंस्थाहरुमा किरण सक्रिय रुपमा संलग्न रहँदै आएका छन् । हाल सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्षको भूमिकामा समेत क्रियाशिल छन् थापा ।

शिक्षा र व्यावसायिक यात्राः
भक्तपुरका स्थानीय बासिन्दा थापाले सिपाडोलको सरस्वती विद्या गृहबाट विद्यालय तथा उच्च शिक्षाको अध्ययन पूरा गरेका हुन् । विद्यालय तह अन्तरगत कक्षा ९ मा अध्ययन गर्दाकै समय देखि व्यवसायमा जोडिएका थापाले कुखुरापालन व्यवसायबाट आफ्नो व्यावसायिक करिअर शुरु गरेका हुन् । विस्तारै उनले आफ्नो व्यावसायिक दायरा फराकिलो बनाउँदै लगे । बाल्यकालमा आफ्नो पारिवारिक अवस्था त्यति मजबुत नभएको कारण कक्षा १० भन्दा माथिको अध्ययनको लागि आफ्नो खर्च आफैंले जुटाउँदै गरेर अघी बढेका थापाले कुखुरापालन सँगै दाना उद्योग पनि सञ्चालनमा ल्याए । अन्य व्यवसायहरुमा पनि उनी संलग्न हुँदै गए । सानै उमेरमा व्यावसायिक वातावरणलाई नजिकबाट बुझेका थापाले जिल्ला सहकारी संघ भक्तपुरमा २०५६ देखि २०६० सम्म जागिर समेत गरे ।

विकासे गतिविधिमा किरण थापा
२०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको लागि सूर्यविनायक–८ बाट ६ जना व्यक्तिहरुले उम्मेदवारी दिएको अवस्थामा थापा एक्लैले ५७ प्रतिशत मत प्राप्त गर्न सफल भएका थिए । थापाको लागि त्यो ठूलो उपलब्धि थियो । त्यसपश्चात् उनी निरन्तर रुपमा विकासे गतिविधिहरुमा नै केन्द्रित रहेर आफ्नो कार्यकाल पूरा गरे । विकासको आधारभूत पूर्वाधारहरु तयार भई नागरिकका न्यूनतम आवश्यकता परिपुर्ति भएपछि मात्र विकासका अन्य औद्योगिक पूर्वाधार आवश्यक रहने धारणा राख्ने थापा यसपटक प्रदेशसभामा निर्वाचित हुन सकेको खण्डमा आफ्नो प्रदेशका मानिसको आवश्यकता सम्बोधन हुने गरी सीपको आधारमा आयआर्जनका नयाँ क्षेत्रहरु पहिचान गर्न आफू सफल हुने धारणा राख्छन् थापा । लामो समय देखि औद्योगिक व्यावसायिक एवं सामाजिक क्षेत्रमा संलग्न रही काम गर्ने क्रममा स्थानीय जनताका समस्याहरुबाट आफू पहिले नै परिचित रहँदै आएको कारण आफूलाई जनताको सेवक बन्नको लागि पुनः उचित प्लेटफर्म आवश्यक रहने भएकोले मतदान आर्फत आफूलाई विजयी बनाउन थापा स्थानीय मतदाताहरुलाई आग्रह गर्छन् ।

विद्यालयमा अक्षय कोष स्थापना लगायतका विविध सामाजिक गतिविधि
वडाअध्यक्ष रहँदाको अघिल्लो कार्यकालमा थापाले आफूले प्राप्त गर्ने विभिन्न सुविधाहरु व्यक्तिगत प्रयोजनको लागि नलिई विद्यालयमा अक्षय कोष निर्माण लगायतका विभिन्न सामाजिक गतिविधिको लागि प्रयोगमा ल्याए । अक्षय कोष स्थापनासँगै बार्षिक रुपमा प्राप्त हुने व्याजले हरेक बर्ष गरीब जेहेन्दार व्यक्तिहरुलाई निरन्तर छात्रवृत्ति प्रदान गर्न सकिने मान्यताले आफूले अक्षयकोष स्थापना गरेको थापाको धारणा छ ।

मुलुकमा समृद्धि ल्याउन सूर्यमा भोट हाल्नु आवश्यक
केपि ओली प्रधानमन्त्री हुँदा ल्याइएको ‘समृद्ध नेपालः सुखी नेपाली’ नारालाई वास्तवमै कार्यान्वयनमा ल्याउनको लागि यसपटक पुनः नेकपा (एमाले)लाई नै विजयी गराउनुपर्ने थापाको धारणा छ ।

संघीय संरचना पश्चात् एमालेको नेतृत्वमा मुलुक समृद्धिको दिशामा अघी बढिरहेको बेला बीचैमा भएको सरकारको नेतृत्व परिवर्तनले त्यो समृद्धि यात्रा अझै साकार हुन सकेको छैन । त्यसैलाई पूरा गर्न यसपटक आफूलगायत सम्पूर्ण सूर्य ध्वजावाहक उम्मेदवारहरुलाई निर्वाचन प्रणाली मार्फत विजयी गराउनुपर्ने थापाको दावी छ ।

अब मुलुकमा महत्वपूर्ण भौतिक पूर्वाधारहरुको स्थापना, उद्योगधन्दाहरुको विकास र रोजगारीका नयाँ अवसरहरु सृजना गर्नको लागि उपयुक्त अन्य विकल्प समेत नभएको कारण एमालेलाई विजयी गराउनुपर्ने जिकिर गर्छन् थापा ।

थापाका आगामी याेजना

मुलुकमा सुशासन सहितकाे समृद्धि ल्याउन र जनताकाे जनजीवनलाइ माथि उठाउनकै लागि आफू यसपटक प्रदेशसभा निर्वाचनमा हाेमिएकाे थापाकाे धारणा छ । आफूले वडाध्यक्ष हुँदा स्थानीय जनताकाे लागि गरेका विकास गतिविधि एवं सामाजिक तथा व्यावसायिक यात्राकाे क्रममा भक्तपुरका स्थानीय बासिन्दाहरुसँग नजिकबाट सुखदुखकाे साथी बन्दै आएकाे, आफूमा विकासकाे स्पष्ट भिजन भएकाे लगायत कारण यसपटक प्रदेश सभामा आफ्नाे विजय सुनिश्चित जस्तै रहेकाे समेत थापाकाे दावी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij