२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

काेराेनाकाे उपचारमा हाेमियाेप्याथिक प्रभावकारी हुने एसाेसिएसनकाे दावी

काेराेनाकाे उपचारमा हाेमियाेप्याथिक प्रभावकारी हुने एसाेसिएसनकाे दावी

काठमाडाैं । अखिल नेपाल होमियोप्याथिक एसोसिएशनले होमियोप्याथिक चिकित्साबाट कोभिड-१९ भेरियन्ट रोकथाम र नियन्त्रण गर्न सकिने बताएकाे छ ।

एसाेसिएसनका अध्यक्ष डा‍‍‌. खगेन्द्र कटुवालले यस सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यलयलाई एउटा पत्र  लेखेर साे कुरा उक्त पत्रमा खुलाएका छन् । 

पत्रमा एसोसिएशनले वि.सं. २०७७ साल बैशाख १५ गते नेपाल सरकार अन्तरगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागबाट कोभिड रोकथाम र नियन्त्रणका लागि होमियोप्याथीक चिकित्साको प्रोटोकल जारी गरेको भएतापनि त्यसकाे कार्यान्वयन हुन नसकेको, कोभिड रोकथाम र नियन्त्रणका लागि होमियोप्याथिक चिकित्सामा बजेट शीर्षक नभएकाे, सिंगो मन्त्रालयमा एक जना पनि होमियोप्याथिक जनशक्ति उपलब्ध नरहेकाे, आयुर्वेद र वैकल्पिक चिकित्सा विभागमा हाेमियाेप्याथीकाे एकजना पनि जनशक्ति नहुनुले विभाग नाममा मात्र सीमित रहेकाे, औषधि व्यवस्था विभागमा समेत एकजना पनि होमियोप्याथिक जनशक्ति नरहेकाे, सिसिएमसी लगायत कोभिड रोकथाम र नियन्त्रणमा होमियोप्याथिक विज्ञहरुलाई नसमेटिएकाे जस्ता विषयवस्तुलाई विचार गर्दा हाेमियाेप्याथी राज्यकाे प्राथमिकतामा नरहेकाे यसकाे विकास र प्रवद्धनकाे लागि राज्यबाट पहल हुन नसकेकाे कुरा उक्त पत्रमा उल्लेख गरिएका  छ ।

राज्यले हाेमियाेप्याथी क्षेत्रकाे विशेष सम्बाेधन गर्न सकेकाे खण्डमा होमियोप्याथिक चिकित्साबाट समेत कोभिड-१९ काे उपचार गरी रोकथाम तथा नियन्त्रण गर्न सकिने एसाेसिएसनका अध्यक्ष कटुवाल बताउनुहुन्छ ।

साथै कटुवालले आफूहरुले प्रधानमन्त्री कार्यालयमा बुझाएकाे पत्रमा कोभिड-१९ भेरियन्टको प्रीभेन्सन र ट्रिटमेन्ट निर्देशिका, २०७७ लाई सरकारी स्तरबाट कार्यन्वयन गरिनुपर्ने, मन्त्रालय, विभाग एव पशुपति होमियोप्याथीक हस्पिटलमा आवश्यक चिकित्सक, होमियोप्याथिक सहायक चिकित्सकहरूको नियुक्ति गरिनुपर्ने, स्वास्थ्य मन्त्रालयका हरेक चिकित्सकिय विषयवस्तुको छलफलमा होमियोप्याथिक चिकित्साको विज्ञलाई पनि समावेस गरिनुपर्ने, सिसिएमसी र डिसिसिएमसीमा होमियोप्याथिक चिकित्साको विज्ञलाई समेत कमसेकम आमन्त्रित सदस्यको रूपमा राखि यस कार्यलाई समावेसी बनाउनुपर्ने, होमियोप्याथिक चिकित्सा कोभिड-१९ व्यवस्थापन कार्यदल गठन गरी अन्तराष्ट्रिय परिवेशलाई समेत बुझि उक्त प्रतिवेदनको आधारमा प्रभावकारी कार्यक्रम गरिनुपर्ने लगायतका कुराहरु समेटिएका छन् ।

यी विषयवस्तुहरुलाइ आगामी बजेट मार्फत सम्बाेधन गर्नुपर्नेमा हाेमियाेप्याथिक एसाेसिएसनका अध्यक्ष कटुवालले राज्य पक्षसँग आग्रह समेत गरेका छन् ।

साथै उनले काेभिड-१९ काे बढ्दाे संक्रमणलाइ नियन्त्रणकाे लागि सही तवरले आवश्यक जनशक्तिहरु परिचालन गर्नुपर्ने, अस्थायी काेभिड अस्पताल निर्माण गर्नुपर्ने, स्वास्थ्य क्षेत्रमा क्रियाशिल जनशक्तिलाइ थप प्राेत्साहनमूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने लगायतका मागहरु समेत राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij