तुलसी प्रसाद लुईंटेल, प्रबन्ध निर्देशक, शुभ सगुन वुल ह्याण्डिक्राफ्ट इन्डष्ट्रिज
तुलसी प्रसाद लुईंटेल नेपालमा फेल्टजन्य सामानहरु उत्पादन क्षेत्रका अग्रणी व्यक्ति हुन् । आफू फेल्ट क्षेत्रमा प्रवेश गर्दा नेपालमा फेल्ट उद्योग नयाँ क्षेत्रको रुपमा रहेको लुईंटेल स्मरण गर्छन् । फेल्ट उद्योगमा संलग्न हुनुपूर्व उनी खेलौना उत्पादनमा संलग्न रहँदै आएका थिए । खेलौनाजन्य सामानहरुको तुलनामा फेल्ट क्षेत्रमा भावी सम्भावना राम्रो हुने देखेर उनी फेल्ट उद्योगमा प्रवेश गरेका हुन् ।
पाल्पा जिल्लामा सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मिएर रोजगारीको लागि काठमाडौं छिरेका उनले काठमाडौंमा रहँदा निकै नै सङ्घर्षपूर्ण जीवन जिउनुपर्यो । काठमाडौं प्रवेश गरिसकेपछि केही समय आफ्ना आफन्तको सहयोगमा उनले खेलौना व्यवसाय शुरु गरे । फेल्ट उद्योग लुईंटेलले विधिवत् रुपमा वि.सं. २०६५ मा दर्ता गराएका भएपनि उनी यस क्षेत्रमा त्यस भन्दा पहिले देखि नैं संलग्न रहँदै आएका थिए ।
शुरुको लगानी
शुरुका दिनमा न्यूनतम रकमको लगानी (करिब ४ लाख) बाट यो उद्योग अघी बढेको लुईंटेल सम्झन्छन् । त्यसबेला आफ्नो उद्योगबाट उनले करिब १० जना व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराएका थिए ।
खेलौना उत्पादन क्षेत्रको अनुभव
नेपालमा केही समय खेलौना उत्पादन कार्यमा संलग्न रहँदा नेपालमा खेलौना उत्पादनको लागत महँगो पर्ने अनुभव लुईंटेलले सङ्गालेका छन् । यस्ता सामान उत्पादन गर्दा लागत महँगो पर्ने र नेपालमा यी सामानहरु उत्पादन गरेर प्रतिष्पर्धी बजारमा टिक्नै गाह्रो पर्ने भएको कारण नै आफू नयाँ व्यवसायमा लाग्नुपर्ने आवश्यकता महसुस भएको उनी बताउँछन् ।
आफूले कच्चा पदार्थ आयात गर्दा नै लागत महँगो पर्ने र ती उच्च लागतमा तयार भएका सामानहरु पुनः नेपाली ग्राहकलाई नै लक्षित गरेर बिक्री गर्नु निकै नै चुनौतीपूर्ण भएसँगै नयाँ व्यवसायबारे सोच्नुपर्ने बाध्यता सृजना भयो । सोहीकारण फेल्ट उद्योग सञ्चालनको मनसायले गोंगबु क्षेत्रबाट काम शुरु गरेका उनले हाल यस उद्योगलाई तारकेश्वरको फुटुङ क्षेत्रमा सारेका छन् ।
शुरुको अनुभव
वि.सं २०५२ मा रोजगारीको खोजीमा काठमाडौं प्रवेश गरेका उनले काठमाडौं आउनुपूर्व यहाँ सजिलै रोजगारी सजिलै पाउन सकिएला भन्ने सोचेका थिए । यद्यपि वास्तविकतामा भने त्यसो हुँदोरहेनछ । काठमाडौं प्रवेश गरेपछि आफ्ना चिनजानका व्यक्तिहरु ह्याट उत्पादन कार्यमा संलग्न रहेको कारण आफू पनि त्यही क्षेत्र हुँदै उद्योगमा जोडिएर काम अघी बढाए । काठमाडौं प्रवेश देखि नै औद्योगिक क्षेत्रमा नजिक रहेर काम गर्ने अवसर मिलेको कारण अहिले आफूलाई पनि प्रतिष्ठित उद्योगी बन्ने सौभाग्य मिलेको लुईंटेल बताउँछन् । साथै आफ्नो बाल्यकाल देखिको शोख समेत जागिर नगरी सानोठूलो जस्तोसुकै भएपनि उद्योग वा व्यवसाय नै सञ्चालन गर्नुैपर्छ भन्ने मान्यताले पनि उद्योगी बन्नलाई प्रोत्साहित गर्नुले अझ सहयोग पुर्यायो ।
आफैंले उद्योग सञ्चालन कार्य केही जोखिमयुक्त हुन सक्ने भएपनि त्यो जोखिमको परिणाम पनि राम्रै प्राप्त हुन सक्छ भन्ने कुरालाई मनन गरेर क्षणिक प्रलोभनलाई नहेरी दीर्घकालिन लाभलाई विचार गरेर उत्पादनमूलक क्षेत्रमा संलग्न रहनुपर्ने कुरा लुईंटेल औद्योगिक क्षेत्रमा नयाँ प्रवेश गर्न चाहने व्यक्तिहरुलाई सुझाउँछन् । आफूले शुरुका दिनमा जागिर गर्दा पनि लुईंटेलले बुझेका छन् कि अन्य कम्पनीमा काम गरेर आफ्नो अवस्था कहिल्यै पनि माथि उठ्न सक्दो रहेनछ, सोहीकारण सफल बन्नको लागि आफैं उद्यमी बन्नुपर्छ ।

शुरुका चुनौतीहरु
शुरुका दिनहरु निकै चुनौतीपूर्ण रहे । आफैंले उत्पादनमूलक काम शुरु गर्नुपर्छ भन्ने मान्यता भएपनि काम सजिलो थिएन । आफ्नो साथमा प्रयाप्त पुँजी थिएन । कसरी काम अघी बढाउने भन्ने थाहा थिएन । व्यवसाय राम्रो हुन्छ वा हुँदैन भन्ने पनि निश्चितता थिएन । यस्ता समस्या र चुनौती हरेक व्यवसायमा सबै व्यवसायीलाई रहन्छन् । यद्यपि यी र यस्ता चुनौतीलाई पार गर्न सक्ने व्यक्ति मात्र सफल बन्न सक्छन् । साथै आफूले सिकेको कामबाट नै सफल हुन सकिन्छ भन्ने कुरा सबै उद्यमीले बुझ्नु जरुरी रहन्छ । सोहीबमोजिम लुईंटेल पनि आफूमा सीप रहेको काममा नै संलग्न भएकोले सफल भएका हुन् ।
आफूले निकै सङ्घर्षपूर्ण दिनहरु बिताएको सम्झँदै लुईंटेल भन्छन्, कर्मचारीहरु ७–८ घण्टा काम गरेर घर फर्कन्थे तर म आफू भने २४ सै घण्टा समेत काममा खटिन्थेँ । काम प्रतिको त्यही लगाव र निरन्तरताले नै अहिले अलग पहिचान बन्न स्थिति सृजना भएको हुनुपर्छ ।
आफ्नो उद्योगलाई सफल बनाउनुमा आफ्नो लगाव महत्वपूर्ण रहँदोरहेछ भन्ने उनको अनुभवले बताउँछ ।
व्यावसायिक सफलतामा सञ्चार, प्रविधि र बैकिङ क्षेत्रको महत्व
आफूले व्यवसाय सञ्चालन गर्दाका शुरुका दिनहरु सञ्चार सेवाको दायरा साँघुरो थियो । मोबाइल सेवा विस्तार भएको थिएन । कहीँकतै ल्याण्डलाइन टेलिफोन सेटहरु थिए । त्यस्तो अवस्थामा आपसी सम्पर्क कार्य निकै कठिन थियो । साथै उनले आफ्नै सम्पर्कका व्यक्तिहरुबाट ऋण लिएर यस व्यवसायलाई अघी बढाएका हुन् । बैंकबाट ऋण लिने कार्य सहज थिएन । बैंकको प्रक्रिया समेत निकै झण्झटिलो । तर अहिले भने व्यवसाय बढ्दै जाँदा बैंक आफैंले कर्जा लिनको लागि प्रेरित गर्छन् । अहिले सञ्चार, सूचना र बैंकिङ क्षेत्रको दायरा फराकिलो भएकोले व्यवसाय सञ्चालन कार्य निकै सहज भएको छ ।
लगानी विस्तारको आवश्यकता
व्यवसाय शुरुवात गर्दा सानै रकम लगानी गरेपनि बजार टे«ण्ड बढ्ने क्रमसँगै आफ्नो लगानी रकम समेत बढाउँदै जानुपर्ने हुन्छ । उत्पादनमूलक उद्योग जोखिमको क्षेत्र समेत हो । कामको तौरतरिका र व्यवस्थापनलाई राम्रोसँग नेतृत्व गर्न सकेको खण्डमा मात्र सफलता हासिल गर्न सकिन्छ । शुरुमा गरेको लगानी र व्यवसाय वृद्धिको आधारमा थप लगानी गर्न तयार हुनुपर्छ ।
कच्चा पदार्थ र यसको सञ्चिती
फेल्ट उद्योगको लागि आवश्यक पर्ने उन न्युजिल्याण्डबाट नेपालमा आउने गर्छ । त्यहाँबाट आउने कच्चा उनको मूल्य सधैं एकै किसिमको हुँदैन । कहिलेकाहीँ समयमा कच्चा पदार्थ उपलब्ध नहुन सक्छ । यस्तो परिस्थितिलाई विचार गरी आफूलाई अलि लामो समयको लागि नै सञ्चित हुने गरी कच्चा पदार्थ राख्न सक्नुपर्छ । जसले गर्दा आफूले महँगोमा कच्चा पदार्थ खरिद गर्न नपरोस् । काम पनि नरोकियोस् । जुन हरेक व्यावसायिक सफलताको लागि महत्वपूर्ण विषय हुने गर्छ ।
फेल्ट प्रति बढ्दो आकर्षण र प्रतिष्पर्धा
यस क्षेत्रमा आकर्षण बढ्दै जानुमा उनबाट धेरै किसिमका सामानहरु उत्पादन गर्न सकिने स्थिति रहनु हुन सक्छ । पश्मिना, कार्पेट लगायतका उत्पादनहरु एकै किसिमका हुने गर्छन् । साथै फेल्ट अन्तरगत निर्माण हुने सामानहरु विभिन्न किसिमका हुने र समय ट्रेण्ड बदलिएसँगै नयाँ किसिमका सामानहरु उत्पादन गर्न सकिने स्थिति रहनु मुख्य हुन सक्छ ।
नेपालमा उत्पादन हुने फेल्ट सामानहरु तुलनात्मक रुपमा अलि महँगो हुने गर्छ । साथै अहिले सम्म फेल्ट सामानहरु विलासिताको रुपमा रहँदै आएका छन् । नेपालमा अहिले निकै धेरै सङ्ख्यामा फेल्ट उद्योगहरु सञ्चालनमा छन् ।

नयाँ व्यवसायीलाई सल्लाह
प्रकाश लुइटेल, महाप्रबन्धक
नेपालमा व्यापार व्यवसायमा सबैभन्दा फस्टाएको समुदायको रुपमा मारवाडी समुदाय रहँदै आएको छ । उक्त समुदायमा एकजना संलग्न रहेको परिवारमा उसका नजिकका सदस्य एवं आफन्तहरुलाई पनि त्यही क्षेत्रमा नै संलग्न हुनको लागि उत्प्रेरित गरिन्छ । तर अधिकांश नेपाली व्यवसायीहरुमा यस्तो मानसिकता देखिँदैन । आपसमा जुटेर राम्रो लाभ लिन सकिँदोरहेछ भन्ने कुरा मारवाडी समुदायबाट हामीले सिक्नुपर्छ । एउटै व्यवसायमा आगामी पुस्तालाई समेत संलग्न हुने किसिमको वातावरण मारवाडी समुदायमा रहेजसरी नेपालका व्यवसायी पनि आगामी दिनमा दीर्घकालिन सोच बमोजिम व्यावसायिक गतिविधिहरुमा निर्देशित हुनुपर्छ । साथै नेपालमा नै रहेर पनि काम गर्न चाहनेको लागि राम्रो सम्भावना छ । यहीँ नै राम्रो अवसर छ भने कामको लागि बाहिर जानुपर्ने आवश्यकता रहँदैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij