
काभ्रे । धुलिखेल नगरपालिकाले एक हजार नागरिकको पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) परीक्षण तयारी गर्ने भएको छ । नगरपालिकाका करिब दुई दर्जनको सङ्क्रमितसँगको सम्पर्कमा रहेका एक हजारको तत्काल परीक्षण गरिने भएको हो ।
सङ्क्रमितको सम्पर्कमा रहेका एक हजार नागरिकको पीसीआर परीक्षणको तयारी गरिएको नगर प्रमुख अशोक ब्याञ्जूले बताए । समुदायमा कोरोना फैलन नदिन तत्काल एक हजारको परीक्षण्को तयारी गरेकाे उनले बताए । सङ्क्रमितको सम्पर्कमा आएका नगरपालिकाका नागरिकलाई पीसीआर परीक्षण गर्न वडा वा नगर कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको उनले बताएका छन् ।
नगर स्वास्थ्य शाखाले सङ्क्रमितको सम्पर्क रहेकाको पहिचान भइरहेको तथा पहिचान भएका र सम्पर्कमा आउनेको क्रमैसँग परीक्षण गरिने जनाएको छ । उनले नगरका नागरिकमा सङ्क्रमण देखिन थालेपछि हालसम्म ४०० नागरिकको ‘कन्ट्याक्ट ट्रेसिङ’गरी परीक्षण गरिसकिएको जानकारी दिएकाे छ ।
शाखाका अनुसार हालसम्म धुलिखेल बसोबास गर्ने २४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये समुदायका आठ नागरिकमा कोरोना सङ्क्रमण देखिएको हो । पहिचानका क्रममा एक सङ्क्रमितसँग ३० जनासम्म सम्पर्कमा आएको पाइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij