हिन्दु मान्यता अनुसार भगवान विष्णुलाई नै मर्यादापुरुष श्रीराम र कृष्णको रुपमा पूजा गरिन्छ। पुराणहरुका अनुसार श्रीकृष्णजीको जन्म द्वापरयुगको भाद्र कृष्ण अष्टमी रोहिणी नक्षत्रका दिन मध्यरातमा मथुराको कंसको कारागारमा भएको थियो।
आजको रातमा नै भगवानले सम्पुर्ण जगतलाई मोहमा पार्नु भएकोले मोहरात्रि पनि भनिन्छ । कृष्ण पक्षको अँधेरी रातमा जन्मिएर पनि संसारलाई सुनौलो किरण प्रदान गर्ने भगवानको महिमा अपरम्पार छ।
भगवानले जन्म लिने समयमा एकाएक सर्वगुण सम्पन्न समय देखिएका ग्रहहरु, उच्च स्थितिमा नदीहरु, प्रसन्न,कमल आदि फूलले शोभित भएका थिए । स्वर्गवाट बढाई गर्दै दुन्दुभि नगरा बजेका थिए।
ज्याे पं विष्णु प्रसाद खनाल, सदमार्ग एष्ट्राेलाेजी
कृष्णको चरित्र सोध्ने,भन्ने, सुन्ने तीनै प्रकारका व्यक्ति पवित्र हुन्छन्
भनिएको छ। आउनुहोस् हामी पनि जानौं को हुनुहुन्छ श्रीकृष्णजी
? किन यस धराधाममा जन्मलिनुभयो र किन मनाइन्छ उहाँको जन्मजयन्ती ?
द्वापर युगकाे अन्त्यमा विभिन्न राजकुलमा दानवंश राजा धेरै भए र अधर्म, असत्य,अन्याय यत्रतत्र फैलियाे । पृथ्वी भारयुक्त भई ब्रह्माको शरणमा जानुभयो । ब्रह्माले देवताहरुलाई साथ लिई क्षीरसागरमा गई वैदिक मन्त्रद्वारा भगवानको स्तुति गर्नुभयो। यसपछि भगवानको आकाशवाणी भयो। वासुदेवको पुत्र भएर भगवानको अवतार हुने र अनन्तका साथमा मायापति भगवानकाे लिलामा साथ दिन देवताहरु पनि जानू भन्ने आदेश भयो र ब्रह्म र पृथ्वी शान्त भए। भगवानले जन्मनासाथ शङ्ख चक्र गदा पद्म लिएको र वर्णन गर्नै गाह्रो पर्ने रुप देखाईदिनुभयो । भगवानकाे बुबा वसुदेव र आमा देवकी दुवै जनाले स्तुति गरे र देवकीले साधारण बालकरुप हुन आग्रह गरिरहनुभयो ।
अब वसुदेव र देवकीको पुत्ररुप हुनुमा पुर्वजन्म देखिका कुरा आउँछन् । जसअनुसार स्वाम्भुव मनुको पालामा देवकीको नाम पृश्नि थियो । उनका पति वसुदेव सुतपा नामका प्रजापति थिए। ब्रह्माद्वारा सृष्टिको क्रममा खटाइएका उनीहरुले धेरै वर्षसम्म कठोर तपस्या गरेपछि भगवान उहाँहरु सामु प्रकट हुनुभयो । के वर माग्छौ ? माग भन्दा उहाँहरुले हजुरजस्तै छोरो पाउँ भन्नुभयो । उहाँ जस्तो कोही नभएको हुँदा उहाँ नै पृश्नि गर्भको रुपमा आफैं जन्मलिनुभयो।
दोस्रो जन्ममा उहाँहरु अदिति र कश्यप हुनुभयो र भगवानले फेरि त्यस समयमा वामन अवतार लिई जन्मलिनुभएको थियो। त्रेता युगमा भगवानले दशरथ पुत्रकाे रुपमा रामचन्द्र स्वरुपमा जन्म लिनुभयाे । द्वापरमा कृष्णका रुपमा जन्म लिएकाे कुरा त माथि नै आइसक्यो । यसरी हेर्दा जब-जब यो धराधाममा धर्म माथि अधर्म हावी हुन्छ तब-तब भगवानले अवतार लिनुहुन्छ। जुन कुरा श्रीमद्भागवत गीता (४/७)मा भगवानले भन्नुभएको छ।
उहाँले कर्मयोगका कुरा, भक्ति र ज्ञान याेगको कुरा पनि सिकाउनु भएको छ। इहलोकको लौकिक बिषयवस्तुको ज्ञान दिलाउन नै भगवान् कृष्णको अवतार भएको हो। सबै कर्म भगवानमा अर्पण गरेर असत व्यवहार त्यागेर तीन थरि ताप भन्दा पर रहेर सत कार्य र सद्मार्गमा लाग्नु नै सच्चा अर्थमा कृष्ण पूजन हो र कृष्ण जन्मोत्सव पूजा पनि सार्थक हुन्छ। अब पूजा कसरी गर्ने र के-के गर्नुपर्दछ।
बिहान उठेर आफ्नो नित्य शारीरिक शुद्धताका कर्म सकेपछि पुर्णकद छोप्ने गरि शुद्ध वस्त्र धारण गर्नुपर्छ। व्रतको संकल्प लिनुपर्दछ। भगवानलाई षोडषाेपचारले पूजा गर्नुपर्दछ।सन्ध्यामा पनि भगवानको पूजाआरती गर्नुपर्छ। भजन नामसंकृतन गर्नुपर्दछ। राति भगवानको जन्म समयपछि पञ्चामृत स्नान गराउनुपर्छ। भएमा दाहिने शंखले स्नान गराउनु राम्रो । नभएमा अरु शंखबाट पनि हुन्छ।त्यसपछि भगवानलाई सजाएर झुलामा राख्नुपर्छ ।पूजा अर्चना गर्नुपर्दछ।भोगमा बिशेषगरेर नौनी र मिश्री चढाउने चलन छ । व्रत पारण भोलि पल्ट ९ बजे पछि गर्न सकिन्छ। यसपालि रोहिणी नक्षत्र भने परेको छैन।
आज देश तथा विदेशमा रहेका कृष्णमन्दिरमा विशेष उत्सव हुनेगर्छ। आज मन्दिरहरुमा ५६ भोग लगाउने चलन पनि छ। श्री कृष्ण परब्रह्म परमात्मा हुनुहुन्छ । उहाँको स्मरण मात्रले पनि दुःख हट्छ भनेपछि व्रतको त अनन्त फल छ । जुन कुरा प्रायः सबै पुराणले बताएका छन्। उहाँले धर्मको पुनर्स्थापना गरेर यो पृथ्वीलाई भारमुक्त गराई हामीलाई भोग्न योग्य गराई दिनु भएको छ। त्यसैले सनातन हिन्दु धर्मावलम्बीको लागि बिशेष महत्त्वपूर्ण रहेको छ।