काठमाडौं । फिल्म ‘डायरी’को टिजर सार्वजनिक गरिएको छ। टिजरमा फिल्मको कथाबारे दर्शकलाई आंशिक जानकारी दिन खोजिएको छ। अभिनेत्री छुल्ठिमद्वारा निर्मित फिल्ममा छुल्ठिमको जोडी सन्नी सिंह बनेका छन्।
रेखा थापालाई छुल्ठिम र सन्नीको सम्बन्धमा व्यवधान खडा गर्ने पात्रका रुपमा प्रस्तुत गरिएको देखिन्छ। छुल्ठिम इन्टरटेनमेन्टले एयर क्रु प्रोडक्सनसँगको सहकार्यमा फिल्म बनाएको हो। फिल्मलाई अनिल योन्जनले निर्देशन गरेका छन्।
छुल्ठिमले यसअघि फिल्म ‘नोभेम्बेर रेन’मार्फत् डल्लीको उपनामले चर्चा कमाएकी थिइन्। फिल्ममा रेखा भिलेनको रुपमा देखिएकी छिन्। पछिल्लो समय फिल्म नै हाक्ने रेखा यसमा भने कथा सुहाउदो भएकोले भिलेन बनेकी हुन्। फिल्ममा रुपा राना, विनोद पौडेल, दिनेश डिसी लगायतको पनि अभिनय रहेको छ।
छेतेन गुरुङको पटकथा रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् भने प्रवीण श्रेष्ठले सम्पदान गरेका छन्। फिल्म आउदो चैतमा प्रदर्शन हुनेछ।
‘मलाई दर्शकले डल्लीको नामले चिनेजस्तै यसपछि जोयाको क्यारेक्टरबाट चिन्नुहुनेछ भन्ने मेरो विश्वास छ,’ छुल्ठिमले भनिन्, ‘फिल्मको कथा निकै मन परेकोले प्रोडक्सनमा हात हालेको हुँ। किनकि भोलिको दिनमा म कलाकारितामा मात्र होइन प्रोडक्सनमा पनि आउन चाहन्छु।’
‘मैले पढेको नै फिल्म निर्देशन हो तर प्राक्टिकल ज्ञान नभई फिल्म निर्देशनमा आउनु हुँदैन भन्ने लागेर म सुरुमा निर्माणमा आएँ,’ निर्देशक अनिलले भने। उनले यसअघि ‘आवरण’ फिल्म निर्माण गरेका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij