नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा पछिल्लो २४ घन्टामा २६ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।
सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घन्टामा भारतमा २६ हजार ५०६ जना संक्रमित भएका हुन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सवैभन्दा धेरै पनि हो ।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ४७५ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या सात लाख ९३ हजार ८०२ पुगेको अधिकारीहरुले जनाएका छन् ।
भारतमा अहिले पनि दुई लाख ७६ हजार ६८५ जना संक्रमित अवस्थामै रहेका छन् भने चार लाख ९५ हजार ५१३ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २१ हजार ६०४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा दुई लाख ३० हजार ५९९ जना संक्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा एक लाख २६ हजार ५८१ जना र दिल्ली प्रदेशमा एक लाख सात हजार ५१ जना संक्रमित भएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij