– दिव्या थापा
अहिले सिङ्गो विश्व नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट त्रसित छ । सबै देशमा संक्रमितहरुको सङ्ख्या निरन्तर बढ्दो छ । अमेरिका, चीन लगायतका देशमा संक्रमितहरुको सङ्ख्या बढिरहँदाका शुरुका दिनमा यो भाइरस नेपालमा समेत प्रवेश गरेर यसरी कोरोना संक्रमण तीव्र गतिमा फैलिएला भनेर हामीले अनुमान समेत गर्न सकेका थिएनौं । तर कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि अछुतो रहन भने सकेन ।
अहिले सम्म आइपुग्दा नेपालमा मात्रै संक्रमितहरुको सङ्ख्या १० हजार नाघिसकेको छ । संक्रमणको दर निरन्तर बढ्दो छ । यद्यपि उपचार पश्चात् निकाे भएर घर फर्कनेहरुकाे समेत सङ्ख्या बढ्दाे छ । नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण सबैजसो क्षेत्रहरु समस्यामा छन् । राजनीतिक स्थिरतासँगै मुलुक समृद्धि तर्फ उन्मुख हुँदै गर्दा कोरोना भाइरसले अहिले हाम्रा प्रायः सबैजसो योजनाहरु चौपट पारिदिको छ । कोरोना नियन्त्रणकै उद्देश्यले नेपालमा समेत झण्डै ३ महिना लकडाउन गरिँदा हाम्रो अर्थतन्त्र कमजाेर भएको छ । मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तुलनात्मक रुपमा न्यून रहेपनि संक्रमणको दर भने निरन्तर बढ्दो छ । यससँगै हाम्रो दिनचर्या थप कष्टकर बन्दै गएको र अर्थतन्त्र समेत गम्भीर खतरामा पर्दै गरेको परिस्थितिलाई दृष्टिगत गर्दै हामीले हिम्मत र आत्मविश्वासलाई बलियो बनाएर विशेष सावधानी अपनाउँदै कोरोना भाइरस विरुद्ध लड्नुपर्ने जरुरी समेत छ ।
कोरोना तत्काल नियन्त्रणमा आउन सक्ने कुनै बलिया आधारहरु फेला पर्न नसकेको अहिले सम्मको अवस्थामा मानिसहरु काेराेना राेगले मात्र नभइ अन्य किसिमका राेगहरु एवं भाेकले समेत मृत्यु हुने अवस्था सृजना हुन सक्ने देखिएकाे छ । यस्ताे अवस्थामा सुरक्षाका विधिहरु अपनाउँदै उद्योग व्यवसाय सञ्चालन गर्नु नै हाम्रो लागि महत्वपूर्ण कार्य हुने देखिएको छ । हुनतः कोरोना भाइरस नियन्त्रणकाे लागि थुप्रै प्रयाशहरु भएका छन् । तर पनि ती प्रयाशहरु सफल हुन सकेका छैनन् । यसलाइ हेर्दा हाम्रा आगामी दिनहरु अझ बढी कष्टकर र अन्यौलपूर्ण हुन सक्ने अनुमान गर्न सकिन्छ । यो भाइरसको प्रभाव कति समय सम्म रहिरहन्छ भन्ने निश्चित हुन नसकेको अवस्थामा हाम्रा गतिविधिहरुलाई सुरक्षित तवरले सञ्चालन गर्नु नै महत्वपूर्ण कदम हुन सक्छन् ।
हुनतः हाम्रो राष्ट्र नेपाल मुलुकमा कोरोना संक्रमण महामारीको रुपमा नफैलियोस् भनेर यसको रोकथामको लागि निरन्तर जुटिनै रहेको छ । यो महामारीलाई नियन्त्रणमा लिने उद्देश्यले नै मुलुकमा लकडाउन आह्वान गरिएको हो । यही लकडाउनकै कारण हामीले नेपालमा अहिले सम्म अन्य मुलुकहरुमा जस्तो धेरै ठूलो परिमाणमा मानवीय क्षति व्यहोर्नु परेको छैन । तर यही अवस्थाले हामी थप सङ्कटमा पर्न सक्ने तथ्यलाई समयमै विचार गर्दै हाम्रा दैनिक क्रियाकलापहरुलाई बढाउँदै लैजानुपर्ने आवश्यकता छ । यसको लागि सामाजिक दूरी, मास्क, पञ्जा, सेनिटाइजर लगायतका सुरक्षा सामाग्री प्रयोग गर्दै हाम्रा नियमित क्रियाकलापमा संलग्न हुनैपर्ने बाध्यता समेत छ ।
सधैं यसरी घरभित्र मात्रै बन्दी भएर हाम्रा समस्याहरु नघट्ने बरु थप बल्झिँदै जाने अवस्थालाई विचार गर्दै पूर्ववत् रुपमा हाम्रा दैनिक क्रियाकलापहरु सुचारु गर्नुपर्छ । हाम्रा उद्योगधन्दा, व्यापार व्यवसाय, स्कुल कलेजहरु समेत खोल्दै जानुपर्छ । राज्यबाट यी विभिन्न प्रकृतिका संस्थाहरु सुचारु गर्ने सम्बन्धमा निश्चित मापदण्ड तयार गरियो भने नेपाली जनताहरु पनि अहिले सचेत भइसकेका हुनाले आफ्नो स्वास्थ्यमा सचेत रहँदै दैनिक क्रियाकलापमा संलग्न हुने अवस्था सृजना हुन सक्छ ।
लकडाउनले बढी मारमा पर्नेहरुमा शैक्षिक संस्था र ती शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरु पनि हाैं । नेपालका स्कुल-कलेजहरु लामो समय सम्म बन्द भएका छन् । भर्चुअल शिक्षा पनि सबै वर्गका विद्यार्थीहरुलाई त्यत्ति प्रभावकारी देखिएको छैन । जसले गर्दा शैक्षिक कार्यक्रम सञ्चालन हुन नसक्दा अहिले हामी लाखौं विद्यार्थीहरुको भविष्य अन्योलमा छ । यस्तो अवस्थामा हामीले शैक्षिक गतिविधि सञ्चालनको लागि उपयुक्त विकल्प छनौट गरी शैक्षिक कार्यक्रमहरु सुचारु गर्नु जरुरी छ ।
यस सङ्कटले विद्यार्थी वर्ग पनि विशेष मारमा परेकाे अवस्थालाइ विचार गर्दै घरभाडा छुट हुने अथवा नहुने सम्बन्धमा कुनै द्विविधा सृजना नहुने गरी नेपाल सरकारबाटै उपयुक्त विकल्प दिनु जरुरी छ । जसले गर्दा घरभाडाकै कारण घरवेटी र उक्त घरमा बस्ने विद्यार्थीहरु बीच कुनै विवाद वा तिक्तता सृजना नहाेस् ।
साथै यी र यस्ता सङ्कटहरु आइपर्दा मुलुकको शिक्षा प्रणालीलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा निश्चित नीतिगत व्यवस्था गर्न हामीले अब ढिला गर्नुहुँदैन । भौतिक रुपमा टाढा भएपनि प्रविधिले सिङ्गो विश्वलाई एक ठाउँमा जोडिसकेको अहिलेको अवस्थामा शिक्षामा प्रविधिको प्रयोगलाई जोड दिने महत्वपूर्ण अवसर समेत बन्न सक्छ । यसकाे लागि इन्टरनेट र कम्प्युटरको पहुँच विस्तार गर्दै यसलाई प्रभावकारी बढाउन सोहीबमोजिमको दक्षता हाम्रा शिक्षक तथा कर्मचारीमा विकास गराउनु जरुरी छ । जुन हाम्रो वर्तमान परिस्थितिको लागि आवश्यक हुन सक्छ भन्ने मलाई लाग्छ ।
लामो लकडाउन र कोरोना संकटको कारण महिनौं सम्म स्कुल-कलेजहरु बन्द हुँदा यस बीचको शुल्कको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा अर्को समस्याको रुपमा रहँदै आएको छ । यसलाई नेपाल सरकार, अभिभावक र विद्यार्थीहरुसँग सम्बन्धित संघसंस्थाहरु एवं स्कुल-कलेज व्यवस्थापन पक्ष तथा सरोकारवाला संघसंस्थाहरुको समन्वयमा तत्काल मध्यमार्गी विकल्प खोज्नुपर्ने जरुरी छ । जसले गर्दा भावी दिनहरुमा समेत स्कुल-कलेज प्रशासन एवं हामी विद्यार्थी अनि हाम्रा अभिभावकहरु बीच सधैं सुमधुर सम्बन्ध कायम रहन सकोस् । शुल्ककै विषयलाई लिएर पछि सम्म विवाद उत्पन्न हुने अवस्था कायम नरहोस् भन्नेमा हामी सबै अहिले नै सचेत हुनु जरुरी छ ।
अन्त्यमा, म एउटा इन्जिनियरिङ विधामा अध्ययनरत विद्यार्थी भएको नाताले इन्जिनियरहरुले लाइसेन्स परीक्षा उत्तीर्ण गरेर मात्रै सेवा प्रवाह गर्नुपर्ने जुन व्यवस्था अहिले गरिएको छ, यसले इन्जिनिनियरिङ क्षेत्रलाई थप मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउन विशेष सहयोग पुर्याउनेछ भन्ने मलाई लाग्छ । यसकारण यो व्यवस्थाको मैले स्वागत गर्दछु ।
साथै यो कोरोना महामारी छिट्टै विश्वभरबाटै रोकथाम हुन सकोस् भन्ने कामना समेत गर्दछु । यो सङ्कटको घडीमा अब सबै नेपालीहरु फुटेर होइन, जुटेर हाल उत्पन्न विभिन्न समस्याहरुको उचित समाधानको लागि अघी बढ्नु जरुरी रहने समेत मैले देखेकी छु । यसतर्फ हाम्रो नेतृत्व वर्गलाई प्रेरणा मिलोस् भन्ने कामना समेत गर्दछु । साथै हामी पुनः नयाँ ऊर्जा सहित जुर्मुराउनसके यस सङ्कटलाई शक्तिमा बदल्न सक्छौ भन्नेमा पनि म विश्वस्त छु ।
(छात्रा दिव्या थापा हाल कम्प्युटर इन्जिनियरिङ अध्ययनरत छिन् ।)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij