काठमाडौं । बर्दियामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर पठाइएका एक व्यक्तिको साेही राती मृत्यु भएको छ ।
क्वारेन्टाइनबाट घर पठाइएका बारबर्दिया नगरपालिका–३ का ४५ वर्षीय एक व्यक्तिको बिहीबार राति मृत्यु भएको हाे । मृत्यु भएका व्यक्ति गत जेठ २२ गते काठमाडौंबाट गएर वडा नम्बर–३ स्थित खुरखुरे बालविकास केन्द्रको क्वारेन्टिनमा बसेका थिए ।
आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनी बिहीबार दिउँसो १ बजे घर गएका हुन् । उनले राति ८/९ बजेको समयमा श्वास लिन गाह्रो भएको, टाउको र पेट पनि दुखेको भनेर परिवारका सदस्यलाइ जानकारी गराएका थिए । एम्बुलेन्सको व्यवस्था मिलाएर उनलाई बर्दिया जिल्ला अस्पताल लैजाँदै गर्दा अस्पताल पुग्न नपाउँदै उनको मृत्यु भएको हाे ।
नगरपालिकाकी उपप्रमुख अञ्जु दहितका अनुसार १४ दिनसम्म क्वारेन्टिनमा बसेर बिहीबार आरडीटी परीक्षण गर्दा उनकाे कुनै स्वास्थ्य समस्या थिएन । उनकाे पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको र रिपाेर्ट आएपछि मात्र अन्त्येष्टि गरिने समेत उपप्रमुख दहितले बताएकी छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij