२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कस्तो रोग: जसको उपचार एक्लोपन

कस्तो रोग: जसको उपचार एक्लोपन

राजन प्रसाद पाेखरेल

विश्व परिवेश निकै परिवर्तन भइसकेको छ। मलाई र हामी सबैलाई सधैं लाग्थ्यो कि, धेरै साथीहरू बनाऊँ, रमाइलो गरिरहूँ, दिनभरि काम गरेपनि साँझ साथीहरूलाई जमघट गराएर रमाइलो गरूँ। दिनभरका दु: ख एकैछिन भएपनि बिर्सु। मलाई मात्रै होइन सबै मान्छे, संघ, संस्थाले धेरै सम्पर्क, धेरै सम्बन्ध, धेरै भीडभाड गराउने होडबाजी नै थियो । कसैको्समर्कमा नरहने व्यक्ति एकान्त प्रिय हुने र उसको मानसिक समस्या हुन सक्ने हाम्रो बुझाइ हुन्थ्यो। महाकवि देवकोटाले साहित्य फुराउने सन्दर्भमा बगैंचामा गएर ‘ए जून! ए रुख! ‘ भन्दै भावना साट्दा भनौँ वा घरायसी पीडा प्रकृतिसँग साट्न खोज्दा पागलको संज्ञा दिएर पागलखानामा पुराउनुपर्ने अवस्था आइपर्यो । यस्ता एकान्त बासबाट धेरैलाई समस्या आएका थुप्रै उदाहरण छन् । लगभग दुई दशक शिक्षण पेशामा बिताउँदै गर्दा धेरै विद्यार्थीहरूमा एक्लोपन (एकान्त)का कारणले मानसिक समस्या आएको मैले भोगेको छु ।

अहिले वास्तवमा क्वारेन्टाइन भनेको नै एकान्त बास हो । योा पनि व्यस्त रहने अभिभावक, छोराछोरीलाई पैसाकै कुरा ठूलो बनाएर आफ्नो ब्यापारलाई महत्त्व दिने, र बच्चाका समस्यालाई पैसामा किन्न त्यो परिवारका छोराछोरीहरू आज हाँसी खुसी आफ्ना सधैं व्यस्त हुने अभिभावकसँग बस्न पाएका हुनाले पक्कै खुसी भएका होलान् तर यो कोरोना महामारीको कारणले परिवार र आफन्तबाट छुट्टिएर बस्नु परेका बालबालिका र मानिसको संख्या पनि धेरै नै छ ।

फेरी घर परिवारबाट बञ्चित भएको यो ठूलो संख्या कतै मानसिक रोगको शिकार हुने त होइनन् । समस्या गम्भीर छ । त्यसैले मानसिक समस्या के हो ? यसका लक्षण के हुन्छन् ? र यसबाट बच्ने उपाय के-के हुन सक्लान् ? भन्ने विषयमा केन्द्रित यो लेखमा यी विविध विषयमा जानकारी दिने सानो प्रयास गरिएको छ ।

मानसिक रोग कसरी पत्ता लगाउने ? के हुन् लक्षण ?
नेपालीहरू मानसिक समस्याका बिरामी चिकित्सकलाई देखाउन अझै पनि हिच्किचाउँछन् । कति त परिवारमा कुरा गर्नसम्म पनि डराउँछन् । कसैले थाहा पाउला कि भनेर चिकित्सककहाँ जँचाउन पनि जाँदैनन्। र, यसरी मानसिक समस्यालाई लुकाएर समस्यालाई अझ बढाउनुभन्दा समयमै निको बनाउनु बुद्धिमानी हुन्छ।

कसरी पत्ता लगाउन सकिन्छ ?

मानसिक रोग चिकित्सकले जाँच्नासाथ अरू रोगजस्तो पत्ता लाग्दैन। यो कुनै एक्सरे, सिटी–स्क्यान, रगत जाँचेर थाहा पाउन सकिन्न। मनसँग सम्बन्धित समस्या हुने भएकाले यो रोग शारीरिक रोग भन्दा अत्यन्त सूक्ष्म हुन्छ। विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म मधुमेह, उक्त रक्तचाप, अन्य संक्रमित रोगहरू भन्दा मानसिक रोग अग्रपंक्तिमा आउने अनुमान गरेको छ। अमेरिका जस्तो विकसित देशका धेरैजसो मानिस निद्रा लाग्ने औषधि सेवन नगरी निदाउन सक्दैनन्।

साधारणतया मानसिक रोगहरूमा डिप्रेसन, बाइपोलार डिसअर्डर, डिमेन्सिया, स्किजाफ्रेनिया, एन्जाइटी डिसअर्डर पर्दछन्। सामान्य मानसिक समस्या सबैलाई हुने छर्दछ, जुन आफैँ निको पनि हुने गर्दछ। त्यसैले सामान्य समस्याबाट असामान्य अवस्थासम्म नपुर्‍याउन स्वयं नै सचेत हुन जरुरी छ।

लक्षणहरू:

  • बेहोस होउँला कि भन्ने डर हुने।
  • मानसिक सन्तुलन गुमाउँला कि र मृत्यु होला कि भन्ने डर हुने।
  • हातखुट्टा वा शरीरबाट पसिना आउने।
  • मनमा धेरै कुरा खेलाउने, तर्सिने, झस्किने।
  • तुरुन्तै दुःखी अनि खुसी हुने।
  • एक ठाउँमा बस्न नसक्ने, छटपटी हुने।
  • मुटुको धड्कन असामान्य रूपमा बढ्ने।
  • हातखुट्टा काम्ने।
  • अचानक शारीरिक कमजोरी हुने।
  • बेसुरले बोल्ने, बेलाबेलामा बेहोस हुने।
  • सामान्य अवस्थामा भन्दा यौनेच्छामा कमी आउने।
  •  रिसाउनु, झर्किनु, काममा मन नजानु।
  • निद्रा नलाग्नु।

प्रमुख कारणहरू: –
चिन्ता, बेरोजगारी, उदासीनता, असहायपन, गरिबी, वितृष्णा, अति महत्वाकांक्षा, असुरक्षा जस्ता कारण मानसिक समस्यालाई बढाउने त्यस्तैगरी, परिवारबीच मेलमिलापको वातावरण नहुनु, दम्पतीबीच यौनसम्बन्धबाट सन्तुष्टि नहुनु आदिले पनि समस्या थपेको छ ।

समस्या ठीक पार्ने वैकल्पिक उपाय
मानसिक समस्यामा औषधि भन्दा योग, प्राणायाम, ध्यानबाट पूर्ण रूपमा ठीक हुन सकिन्छ। साक्षी साधनाअनुसार हाम्रो विचार, भावना र शरीरमा आइरहेको विचार, भावना, संवेदनाहरूलाई ठीक–बेठीक भनेर छुट्याई होसपूर्ण रूपमा हेर्नकाे लागि दैनिक साधना गर्नुका साथै धैर्यको खाँचो हुन्छ। त्यसका साथै सकारात्मक चिन्तन, सन्तुलित भोजनले पनि सहयोग गर्दछ। यसकाे लागि योग्य ध्यानाचार्यसँग प्रशिक्षणको खाँचो हुन्छ।

यी  कार्यहरू गरियो भने यो कोरोना महामारीबाट एकान्त बासमा पर्न बाध्य हुने आम विद्यार्थी, अभिभावक, शिक्षक, महिला, पुरुष लगायत सबैलाई यो समस्या तत्कालको लागि महामारीको उपचारको उत्तम उपाय एकान्त बास नै भएको छ। याे रोग लाग्यो भनेर खाने औषधि छैन। परामर्श दिने, वा अरु कुनै उपाय नै हामीसँग रहेन। तर केही समय एकान्त बासमा बस्नुपर्ने भएपनि केही समयपछि त सामान्य जीवनमा फर्कनु नै छ। यो महामारी पछि त झन् यी महिनामा भएका आर्थिक मन्दीलाई उकास्न झन् धेरै समय खटिनु पर्नेछ। त्यसैले यो महामारीको औषधि एकान्त बास नै भएकोले सुरक्षित तरिकाले शान्तिपूर्ण तरिकाले बसौँ। यो एकान्त बासमा भोलिका दिनमा मानसिक समस्या नदेखिने गरि ढुक्कसँग मनमा हिम्मत लिएर बसौँ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij