२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

राज्यले विशेष आर्थिक प्याकेज नल्याए बाध्यताले सडकमा उत्रिँदै ग्रिल व्यवसायीहरुः अध्यक्ष कटुवाल

राज्यले विशेष आर्थिक प्याकेज नल्याए बाध्यताले सडकमा उत्रिँदै ग्रिल व्यवसायीहरुः अध्यक्ष कटुवाल

माेहन कटुवाल, अध्यक्ष, ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल

नेपालमा सानो लगानीका व्यवसायीहरु समेटिएको र ठूलो मात्रामा रोजगारी सृजना गरेको साथै ठूलो क्षेत्र ओगटेको एउटा क्षेत्र हो ग्रिल उद्योग । अहिले यस उद्योगमा देशैभर गरी करिब ११ हजार उद्याेगहरु रहेकाे यस क्षेत्रबाट प्रत्यक्ष रुपमा १ लाख ६० हजार व्यक्तिहरुले रोजगारी पाइरहेका छन् । झण्डै २ महिना देखिको लकडाउनको कारण अन्य उद्योगहरु जसरी नै ग्रिल उद्योगहरु पनि सञ्चालन हुन सकेका छैनन् ।

काेराेना संक्रमितहरुको सङ्ख्या निरन्तर बढिरहेको र लकडाउन खुल्ने कुनै आधार नदेखिएको अहिलेको अवस्थामा ग्रिल व्यवसायीहरु चल्नै नसक्ने अवस्थामा पुगेको ग्रिल तथा स्टिल व्यवसायी महासंघले बताएको छ ।

महासंघका अध्यक्ष मोहन कटुवालले आफूहरु निकै नै समस्याग्रस्त अवस्थामा पुगिसकेको बताउँदै राज्यले तत्काल ग्रिल तथा साना उद्योग बचाउनको लागि आवश्यक प्याकेज ल्याउनुपर्नेमा जोडदार माग गरेका छन् । उनले अहिलेको अवस्थाले गर्दा आफूहरु धानिनै नसक्ने अवस्थामा पुगेको बताउँदै राज्यले तत्काल उपयुक्त सम्बोधन गर्नुपर्नेमा बताए ।

सेतोघर डट कम सँगको विशेष कुराकानीमा उनले आफूहरु यही १५ गते सार्वजनिक हुँदै गरेको बजेट मार्फत आफ्ना समस्याहरु सम्बोधन हुनेमा आशावादी रहेको बताउँदै तेनतेन १५ गते सम्म धैर्य रहने बताए । साथै विगतमा राजस्व र रोजगारी सृजनाको माध्यमबाट राज्यलाई ठूलो सहयोग पुर्याउँदै आएका उद्योगहरुलाई बचाउनको लागि यतिबेला राज्यले प्रभावकारी तवरले अभिभावकीय भूमिका निर्वाह गर्नेमा आफूहरु आशावादी रहेको समेत बताए ।

यद्यपि बजेट मार्फत साना र ग्रिल उद्योगका समस्या सम्बोधन नगरिए आफूहरु लगायतका थुप्रै उद्योगी व्यवसायीहरु बाध्य भएर सडकमा ओर्लनुपर्ने चेतावनी समेत उनले दिएका छन् । सरकारले ४२ प्रकारका उद्योगहरु खोल्न अनुमति दिएपनि ग्रिल उद्योगहरु सानो लगानीमा सञ्चालित उद्योग भएको र अधिकांश उद्योगमा सुरक्षित रुपमा सामाजिक दूरी कायम गरी सञ्चालन गर्न सम्भव नरहेको समेत उनले बताए ।

यस्तो विषम परिस्थितिमा राज्यले ल्याउनुपर्ने विशेष प्याकेज अन्तरगत उनले यी कुराहरुमा जोड दिएका छन् ।

  •  बैंकको व्याजको अवधि थप्नुपर्ने
  •  उद्योगमा उपलब्ध मेसिन र लगानीको आधारमा थप पुनकर्जा
  •  लकडाउन अवधिको कर तथा जरिवाना छुट
  •  कृषि र पशुपालनमा जसरी सहुलियत कर्जा दिइएको छ त्यस प्रकृतिको
  • कर्जा ग्रिल तथा अन्य साना उद्योगलाई पनि दिनुपर्ने
  • वातावरणमैत्री ग्रिल सामाग्री आयात गर्दा १ प्रतिशत मात्र भन्सार लाग्ने व्यवस्था गर्नुपर्ने 

यसैगरी कटुवालले राज्यले गर्नुपर्ने अन्य व्यवस्थालाइ निम्न बमाेजिम उल्लेख गरेका छन् ।

  1. बै‌ंक तथा बित्तिय संस्थाबाट लिइएको कर्जाको लकडाउन अवधिमा बुझाउनुपर्ने साँवा र ब्याजलाई पुनर्तालिका गरि १ बर्ष भित्र बुझाउने व्यवस्था गर्नुपर्ने जरुरी छ । यसैगरी लकडाउन पछि उध्योग सन्चालन गर्न वर्किङ क्यापिटलको लागि अधिकतम ३ प्रतिसतमा पुनर्कर्जाको ब्यवस्था राज्यले गर्नुपर्छ।
  2. अहिले सन्चालित उध्योगहरुलाइ बचाइ हाल कार्यरत श्रमिकको रोजगारीलाई निरन्तरता दिँदै लाखौंको संख्यामा बिदेशबाट रोजगारी गुमाइ केही सीप आर्जन गरि स्वदेश फर्किन लागेका युवालाइ देशमै रोजगारी दिनको लागि अवस्थाको श्रजना गर्नु जरुरी छ ।
  3. विशेष गरि पुर्वाधार बिकासमा र आधुनिक एवम औध्योगिक कृषि प्रणालिमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने ग्रील तथा स्टील ब्यवसायमा रोजगारिको राम्रो सम्भावना भएको हुँदा यो ब्यवसायको सम्बर्धनमा विशेष ध्यान दिनु जरुरी रहन्छ ।

ग्रिल उद्योग सञ्चालनका कठिनाईहरुः

ग्रिल उद्योगहरु ग्रामीण भेगमा समेत सञ्चालनमा रहेका र गाउँमा सबै तिर सिल गरिएको कारण काम गर्ने वातावरण नभएको, ग्रिल उद्योगको लागि आवश्यक कच्चा पदार्थ उपलब्ध गराउने हार्डवेयर पसलहरु बन्द रहेको, प्रयाप्त ठाउँ अभाव भई सामाजिक दूरी कायम गर्न कठिनाई हुने लगायत छन् ।

लामो समय उद्योग बन्द हुँदा कर्मचारीलाई तलब उपलब्ध गराउन मात्र नभइ स्वयम उद्योगीहरु नै भोक र शोकले मर्ने स्थिति सृजना हुने, साथै बैंकले किस्ता तिर्न ताकेता गर्दा व्यवसायी आत्महत्या गर्न बाध्य हुन सक्ने अवस्था सृजना हुन सक्ने कुरामा सङ्केत गर्दै त्यस्तो सम्भावित भयावहको अवस्थालाई पहिले नै विचार गर्न राज्यलाई उनले सुझाव दिएका छन् ।

सरकार अहिले आफैं पनि समस्यामा रहेको स्वीकार्दै उनले नेपाल सरकारले जहाँबाट जसरी सम्भव हुन्छ, त्यसरी नै ग्रिल तथा साना उद्योगहरुलाई बचाउन विशेष कदम चाल्नुपर्नेमा उनले जोड दिएका छन् ।

राज्यले प्राथमिकताको आधारमा तत्काल गर्नैपर्ने कामहरु पहिचान गरी ती क्षेत्रमा बजेट परिचालन गर्न साथै तत्काल अप्ठ्यारो नपर्ने क्षेत्रबाट बजेट कटौती गर्न सकिने समेत सुझाएका छन् । यसको अलावा निम्न स्रोतबाट समेत रकम परिचालन गर्न सकिने उनले बताए ।

  • सामाजिक सुरक्षा कोष स्थापना हुनु भन्दा पहिले व्यवसायीबाट १
  • प्रतिशतकाे दरले संकलिन करिब २४ अर्ब रकम
  • सैनिक कल्याणकारी कोष
  • नेपाल प्रहरी
  • नागरिक लगानी कोष
  • कर्मचारी सञ्चय कोष लगायत ।

उद्योग सञ्चालनको लागि आफूहरलाई चालु पुँजी आवश्यक रहेको बताउँदै उनले व्याज पुनर्तालिका गरी त्यसलाई १ बर्ष बढाउनुपर्ने माग समेत गरे ।

ठूलो समस्या बन्न सक्छ बैंक
लकडाउनको कारण समस्यामा परेका उद्योगी व्यवसायीहरुको लागि बैंकको ताकेता आगामी दिनको लागि ठूलो समस्या बन्ने निश्चित छ । यसलाई विचार गर्दै कठिन परिस्थितिमा आफूहरुसँग उपलब्ध रहेका मेसिनलाई समेत आधार मानेर पुनकर्जा उपलब्ध हुने व्यवस्था गरिएमात्र व्यवसायी टिक्ने अवस्था रहन्छ ।
उद्योग बन्द नगरौं, थप रोजगारी सृजना गरौं
राज्यले उद्योगलाई सहयोग नगरी बन्द गराएर समस्या समाधान नहुने बरु अझ जटिल बन्ने बताउँदै कटुवालले तत्काल नै विदेशबाट ५ लाख भन्दा बढी जनशक्ति नेपाल भित्रिने र उक्त जनशक्तिलाई समेत नेपालका उद्योगमा रोजगारी उपलब्ध गराउन सम्भव रहेका क्षेत्रहरुमा थप प्रभावकारी रुपमा सञ्चालन हुने व्यवस्था गर्नुपर्नेमा समेत जोड दिए । त्यसको लागि सबैभन्दा महत्वपूर्ण कदम भनेको अहिले सञ्चालनमा रहेका उद्योगहरुमा नयाँ प्रविधिका मेसिनहरु थप्न र उद्योगको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए । यसको अलावा कृषिलाई पनि उद्योगमा जोड्नुपर्ने धारणा राखे ।

बहुआयामिक बनिसकेको ग्रिल
अहिले ग्रिलको प्रयोग व्यापक बनिसकेको छ । सबै कार्यहरुमा ग्रिल आवश्यक छ । कृषिजन्य कार्य, निर्माण, पूर्वाधार एवं बाटोघाटो लगायतका सर्वव्यापी बनिसकेको ग्रिल उद्योगको थप सम्भावना बारे राज्यले सोच्नुपर्नेमा समेत उनको जोड छ ।

कटुवालको राज्यलाई चेतावनी
अध्यक्ष कटुवालले राज्यलाई चेतावनी दिँदै भनेका छन्, ‘हामी तालाचाँबी बुझाएर सिधै सडकमा उत्रिनुपर्ने अवस्था नआओस् । राज्यले उपयुक्त सम्बोधन नगरे बाध्य भइ हामी सडकमा उत्रिनुपर्ने अवस्था पनि आउन सक्छ । त्यो अवस्था आए परिणाम निकै विकराल हुन सक्छ । राज्यलाई व्यवस्थापन गर्न कठिन पर्न सक्छ । त्यस्तो कुरालाई विचार गर्दै राज्यले बजेट मार्फत उद्योगलाई लक्षित गरी राहतका प्याकेज सार्वजनिक गर्नु जरुरी छ ।’ राहत प्याकेज ल्याउँदा साना र ठूला उद्योगलाई फरक किसिमका प्याकेज ल्याउनु जरुरी हुने समेत उनले बताएका छन् ।
अवसरको रुपमा पनि लिनुपर्छ
अहिलेको कोरोना महामारी र लकडाउनलाई स्वदेशी वस्तुको प्रयोग बढाउने र श्रम शक्ति यहीँ रोक्नको लागि महत्वपूर्ण हुने अर्थमा पनि बुझ्नुपर्ने धारणा राख्छन् । जुन महत्वपूर्ण अवसर बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij