कोरोना भाइरस (COVID-19) को महामारीबाट नराम्रोसँग प्रभावित भएको पर्यटन व्यवसायको पुर्नस्थापना गर्न विस्तृत रुपमा ठोस नीति तथा कार्यक्रम आओस् भन्ने अपेक्षा राख्दै पर्यटन व्यवसाय संग सम्वन्धित बिभिन्न संघ संस्थाका जिम्मेवार पदाधिकारीहरुले सामुहिक रुपमा नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
पर्यटन सँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले प्रेश विज्ञप्ति र समाचार मार्फत विभिन्न सञ्चारका माध्यमबाट अपिल गर्दै, सरकारको ध्यानाकर्षण गराउँदै आएका भएपनि नेपाल सरकारले सदनमा प्रस्तुत गरेको आ. व. २०७७ ।०७८ को नीति तथा कार्यक्रममा पर्यटन व्यवसायीहरुको मर्म र भावना अनुरुप पर्यटन व्यवसायलाई पुनर्जीवन दिने खालको कुनै पनि ठोस नीति तथा कार्यक्रमहरु नआएकाे पर्यटन व्यवसायीहरुकाे ठहर छ ।
सरकारले ल्याएकाे नीति तथा कार्यक्रमबाट सन्तुष्ट हुन नसकेका व्यवसायीहरुले पुःन अर्काे विज्ञप्ति सार्वजनिक गर्दै देशकै अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन उद्योगलाई बचाउन राज्यले वेवास्ता गरेको आफूहरुले महसुस गरेकाे बताएका छन् ।
नेपाल सरकारले आव्हान गरेको नेपाल भ्रमण वर्षलाई व्यापक रुपमा सफल बनाउन पर्यटन व्यवसायीहरुले यस क्षेत्रमा अर्वौको थप लगानी गरेकाे बताउँदै अब सरकारले पर्यटन व्यवसायीहरुको लगानीको संरक्षण गर्ने, सिथिल भैसकेको व्यवसायलाई पुनर्जीवन दिएर पुनस्र्थापना गर्ने सरकारको प्रमुख दायित्व हुनुपर्ने समेत बताएका छन् ।
प्रस्तुत नीति तथा कार्यक्रममा नयां-नयां योजनाहरु आएको तर महामारीको संक्रमणले विस्थापित अवस्थामा पुगेका पर्यटन व्यवसायीहरुलाई पुनर्उत्थान गर्ने कुनै पनि ठोस योजनाहरु घोषणा नगरिएकोमा सम्पूर्ण पर्यटन व्यवसायीहरु मर्माहत, आक्रान्त र निरास बनेकाे उल्लेख छ ।
विज्ञप्तिमा अगाडि भनिएकाे छ,
नेपाल सरकारको सबै नीति नियमहरु पालना गर्दै, करोडौंको कर राज्यलाई नियमित रुपमा तिर्दै आइरहेका हामी पर्यटन व्यवसायीहरुलाई कोरोनाको महामारीले निम्त्याएको जरजर अवस्थाबाट जोगाउनु राज्यको प्रमुख दायित्व पनि हो । COVID-19 को प्रभावको प्रारम्भमा नै क्षेती व्यहोर्न पुगेको तथा पुनः सामान्य अवस्थमा फर्कन समेत अन्य व्यवसाय भन्दा निकै लामो समय लाग्ने हुंदा पर्यटन व्यवसायलाई यो महासंकटबाट बचाउन हारगुहार गरिराखेका पर्यटन व्यवासयीहरुको बलियो साहारा बन्नबाट राज्य पछि नहटोस् । तसर्थ खरबौंको लगानी डुब्ने र नेपालको समग्र पर्यटन उद्योग नै तहसनहस हुने खतरालाई मध्यनजर गर्दै नेपाल सरकारले यही जेठ १५ गते सदनमा प्रस्तुत गर्ने आ.व. २०७७।०७८ को बजेट वक्तव्य मार्फत पर्यटन व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै राहतका अल्पकालीन तथा दिर्घकालीन विशेष कार्यक्रमहरु ल्याउन सरकारसँग हामी जोडदार माग गर्दछौं ।
विज्ञप्तिमा भावी अर्थतन्त्रको आधारको रुपमा महत्व दिँदै आएको नेपालको पर्यटन क्षेत्रलाई जीवन र मरणको दोसाँधबाट उद्दार गर्न सरकार जिम्मेवारपुर्ण तवरले पर्यटन मैत्री अभिभावकको भुमिकामा खरो रुपमा उत्रनु पर्नेमा समेत ध्यानाकर्षण गराइएकाे छ ।
पर्यटन क्षेत्रकाे प्रतिनिधित्व गर्ने विभिन्न संस्थाहरुकाे सामुहिक माग बमाेजिक जारी गरिएकाे उक्त विज्ञप्तिमा नेपाल एसोशिएसन अफ टुर एण्ड ट्रभाल एजेन्ट्स (NATTA), होटल एसोशिएसन नेपाल (HAN), ट्रेकिंग एजेन्सिज् एसोशिएसन अफ नेपाल (TAAN), नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA), नेपाल एशोसिएसन अफ टुर अपरेटर (NATO), सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल ( SOTTO Nepal ), पाटा च्याप्टर नेपाल (PATA ), नेपाल माउन्टेरिङ एसोशिएसन (NMA ), टुरिष्ट बस एसोशिएसन अफ नेपाल (TBAN) , नेपाल एसोशिएसन अफ -याफ्टिङ एजेन्सिज् (NARA) , रेष्टुरेन्ट एण्ड वार एसोशिएसन अफ नेपाल ( REBAN), एक्सपिडिसन अपरेटर्स एसोशिएसन (EOA) लगायतकाे एेक्यवद्दता छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij