पुर्बसांसद छिमी लामाको पहल, एलिस अर्गानिक रेस्टुरेन्टको आर्थिक सहयोग एवं युवा नेता प्रेमा लामा र अखिल शाहीको सकृयतामा लकडाउनको अवसरमा पहिलो चरणको राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।
हुम्लाबाट राजधानी शहर काठमाडौंमा आइ विभिन्न स्थानमा बसोवास गर्ने हुम्लीलाई पूर्वसांसद छिमी लामा र राष्ट्रिय युवा संघ नेपालका नेता अकिल शाहीले राहत वितरण गरेका हुन् । उक्त राहत एवं विविध सहयोगको लागि आवश्यक आर्थिक सहयोग एलिस अर्गानिक फुड एण्ड रेस्टुरेन्टले उपलब्ध गराएको हो ।
हुम्लामा उत्पादन भएका विभिन्न खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएर अप्ठ्यारोमा परेका नेपाली दाजुभाइहरुलाई नयाँ जीवन दिन सकेकोमा आफूलाई गर्वको महसुस भएको एलिस अर्गानिककी अध्यक्ष याङछिरिङ लामाले जानकारी गराउनुभयो ।
मुख्यतः हुम्ली जनतालाई लक्षित गरी राहत उपलब्ध गराउँदै आइएको उक्त सहयोग अप्ठ्यारोमा परेका जुनसुकै क्षेत्रका व्यक्तिहरुलाई पनि उपलब्ध गराइएको छ ।

नेपाली जनताहरुलाई सहयोग गर्न आफ्नो तर्फबाट अमूल्य सहयोग उपलब्ध गराइ सहयोग गरेकोमा एलिस अर्गानिक रेष्टुरेन्ट परिवार प्रति युवा नेत्री प्रेमा लामाले विशेष कृतज्ञता व्यक्त गर्नुभयो । साथै निकै कठिन परिस्थितिमा महत्वपूर्ण सहयोग पाएकोमा सेवाग्राहीले पुनर्जीवनको महसुस भएको बताएका छन् ।
पहिलो चरणको राहत अन्तरगत हुम्ली जनताहरुलाई विभिन्न हवाइजहाज खर्च सहित १७ लाख ४० हजार ४ सय रकम बराबरको सहयोग उपलब्ध गराइएको एलिस अर्गानिक रेष्टुरेन्टले जनाएको छ । यस अन्तरगत नेपालगञ्ज, सुर्खेत, दाङ र काठमाडौंका हुम्ली जनतालाई यो सहयोग उपलब्ध गराइएको हो । यसैगरी एलिसले गैरहुम्लीहरुको लागि ५ लाख ३ सय २० रकमको राहत सहयोग उपलब्ध गराएको छ ।
लकडाउन शुरु भएपश्चात् सबै गरी अहिले सम्म २२ लाख ४० हजार ७ सय २० रुपियाँ बराबरको रकम राहत तथा विभिन्न सहयोगमा उपलब्ध गराएर मुलुकमा अप्ठ्यारो पर्दा जस्तोसुकै कठिनाईको सामना गर्दै हृदय खोलेर सहयोग आदानप्रदान गर्ने कार्यमा नेपालीहरु संलग्न हुने गर्छन् भन्ने सन्देश समेत प्रवाह गर्न एलिस अर्गानिक टीम सफल भएको छ । साथै यस सहयोगले अन्य व्यक्तिहरुलाई समेत आफ्नो तर्फबाट सक्दो आर्थिक तथा सामाजिक सहयोग उपलब्ध गराउन विशेष उत्प्रेरित समेत गरेको छ ।

लकडाउन शुरु भएदेखि नै सम्भावित कठिन परिस्थितिलाई लक्षित गरी आफुसँग स्टक रहेका खाद्यान्न सामाग्री उपलब्ध गराउनुको अलावा क्विक रेस्पोन्स टीम मार्फत तथ्यांक सङ्कलन गरी आवश्यक सेवा उपलब्ध गराउन यो कम्पनी सक्रिय रहँदै आएको थियो ।
सुर्खेतमा अलपत्र अधिकांश हुम्लीहरुको सडक र हवाइ मार्गबाट उद्धार गरिएपनि उघद्धार हुन नसकेका ५० जना व्यक्तिहरुलाई समेत आवश्यक राहत उपलब्ध गराई सुरक्षित तवरले रहन सक्ने व्यवस्था यस टीमले मिलाएको छ । छाक टार्न निकै संकट परेका व्यक्तिहरुलाई कोठा भाडामा बस्नेलाई एक बोरा चामल र होटलमा बस्नेलाई सोही बराबरको नगद रकम सहयोग गरिएको हो ।
यो सँगै पहिलो चरणको राहत वितरण कार्यक्रम समापन भएको र दोस्रो चरणको लागि योजनावद्ध तवरले राहत वितरण गर्ने योजनामा आफूहरु रहेको सहयोगी संस्था एलिस अर्गानिकका छिरिङ लामाले बताउनुभयो ।

राहत बारे के भन्छन् त पीडितहरु
लकडाउनका कारण समस्या परेको अवस्थामा आफूले प्राप्त गरेको राहतले धेरै मद्दत पुगेको विद्यार्थी उब्जन सुनारले बताए । उनले भने राज्यले उचित ढंगले हामी डेरामा बसेर पढ्ने विद्यार्थीको समस्यामा चासो नदिइरहेको अवस्थामा जिल्लाका नेताहरू र सहयोगी भावनाका व्यक्तिहरुले गरेको उपकार सधैं अविस्मरणीय रहने र यसबाट आफूलाई समेत सामाजिक दायित्वको महत्व अनुभुति भएको उनले बताए ।
सुर्खेतमा उपचारको क्रममा झण्डै ३ महिनासम्म बस्दै आएकी सर्केगाड गाउपालिका १ जैरकि ध्यागा भियालले चामल पाउँदा राहत महसुस गरेको बताइन् । लकडाउनको झण्डै ४५ दिन पुग्दा कोठामा रासन नभएको बेला सहयोग पाएकोमा सबै खुसी छन् ।
चामल नभएर खोले पकाउने अवस्था आएको बेला एक कठ्ठा चामल पाएकोमा सर्केगाड गाउपालिका– ६ का अर्जनु शाहीले निकै सहयोग भएको बताएका छन । वीरेन्द्रनगर नगरपालिकाले दिएको ५ केजी राहत समेत नपाएको अवस्थाामा बुधबार व्यक्तिगत रुपमा नै गरेकोे सहयोग आफूले समेत पाउँदा उनी निकै खुसी भए ।
सहयोग बारे यसो भन्छन् हुम्ली नेताहरु
पुर्वसांसद लामाले आफ्नो जिल्लाबाट उपत्यकामा रहेका नागरिकहरु लकडाउनका कारण समस्यामा परेको थाहा पाएपछी आफुहरुले सहयोगी मनकारी व्यक्तिहरुको साथ पाएर मात्र यति ठूलो राहत उपलब्ध गराउन सकेको बताउँदै अन्य जिल्लामा पनि कोही नागरिकहरु समस्यामा भए यसरी नै सहयोग गर्न तयार रहेको समेत बताए ।
यस्तै नेता शाहीले अहिले हुम्लाबाट उपत्यकाका विभिन्न स्थानमा बसिरहेका नागरिकलाई सकेको सहयोग गर्ने र भोकका कारण मर्न नदिने कुरामा प्रतिबद्ध भएर लाग्ने जनाएका छन् ।
दोस्रो चरणको राहत अन्तरगत सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई राहत वितरण गर्ने योजनामा आफूहरु रहेको समेत एलिस अर्गानिक रेष्टुरेन्टले बताएको छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij