कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या विश्वभर ४० लाख नाघेकाे छ ।
जोन हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वमा अहिले सम्म कम्तिमा ४० लाख २० हजार ८ सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै विश्वभर कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ७९ हजार भन्दा बढी पुगेको छ। सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १३ लाख ९ हजार भन्दा धेरै छ । यो विश्वका कुल संक्रमित मध्ये एक चौथाई भन्दा बढी भाग हो ।
यस्तै कोभिड–१९ बाट अमेकिरामा ७८ हजार ७ सय भन्दा बढीको ज्यान गएको छ । यो विश्वमा मृत्यु भएका मध्ये एक तिहाई भन्दा बढी हो ।
विज्ञहरुले कोरोना भाइरसबाट संक्रमित हुनेको वास्तविक संख्या अहिले थाहा भए भन्दा धेरै रहेको कुन सक्ने बताएका छन् । परीक्षण अति कम मात्रै भएकाले संक्रमितको संख्या कम देखिएको भन्दै उनीहरुले परीक्षणको दायरा बढाउनु पर्ने बताएका छन् ।
स्पेन, इटाली, फ्रान्ससहितका देशमा दैनिक मृत्यु हुनेको संख्या कम हुँदै गएको छ । तर लकडाउन खुकुलो पार्न थालिएकाले फेरि संक्रमण बिस्तार हुने चिन्ता भने थपिएको छ ।
सबैभन्दा बढी प्रभावित हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको बेलायतमा कोभिड–१९ बाट ३१ हजार ६ सय भन्दा बढीको ज्यान गएको छ । त्यहाँ संक्रमितको संख्या दुई लाख १६ हजार भन्दा बढी पुगेको छ ।
इटालीमा ३० हजार ३९५, स्पेनमा २६ हजार ४७८ तथा फ्रान्समा २६ हजार ३१३ जनाको ज्यान गएको छ । रुसमा ज्यान गुमाउनेको संख्या १८ सय भन्दा बढी रहे पनि संक्रमितको संख्या लगातार तीव्र रुपमा बढेको छ । त्यहाँ अलिहेसम्म एक लाख ९८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij