२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

राहत वितरणकाे क्रममा उत्पन्न समस्या नियन्त्रणमा लिन हवाइ फायर

राहत वितरणकाे क्रममा उत्पन्न समस्या नियन्त्रणमा लिन हवाइ फायर

लकडाउन’को मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर गर्नु परेको थियो ।

राहत लिनेको सूचीमा धनी व्यक्तिको नाम समावेश भएको भन्दै स्थानीयवासीले राहत वितरण गर्ने टोलीमाथि ढुङ्गामुढा गर्न थालेपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले भीडलाई तितरवितर पार्न तीन राउण्ड हवाई फायर र आधा दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । झडपका क्रममा चार जना स्थानीयवासी सामान्य घाइते भएको र उहाँहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

मिर्चैया नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामकुमार यादवले राहत पाउनेको सूचीमा आफ्ना आसेपासेको नाम मात्रै समावेश गरी राहत वितरण गर्न थालेकाले विरोधमा उत्रेका स्थानीयवासी रामेश्वर यादवले बताउनुभयो । वडाध्यक्ष यादवले मनोमानी ढङ्गले विपन्नको नामावली सङ्कलन गरेर राहत वितरण गर्न थालेको विरुद्धमा स्थानीयवासी ओर्लिएपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको उहाँको भनाइ छ । यता वडाध्यक्ष यादवले कुनै पूर्वाग्रह नराखी निष्पक्ष तरिकाले वास्तविक विपन्न, गरिब परिवारलाई राहत वितरण गर्न खोज्दा राजनीतिरुपमा विवाद सिर्जना गर्न खोजिएको बताउनुभयो । यसअघि मिर्चैया नगरपालिकाको अन्य वडामा पनि राहत वितरण गर्ने क्रममा विवाद भएको थियो ।

यस्तै सिरहाको सुखीपुर नगरपालिका– २ मा पनि राहत विरतणका क्रममा आइतबार झडप भएको थियो । वडाध्यक्ष भुपनेश्वर यादवले राहत वितरण गर्नेको सूचीमा आफ्ना आसेपासेको नाममा मात्र समावेश गरेको भन्दै राहत वितरणमा अवरोध गर्न खोजेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठीचार्ज गरी भीडलाई तितरवितर पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij