२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कपन क्षेत्रमा काेही भाेकै बस्नुपर्ने अवस्था छैनः अक्कल तामाङ

कपन क्षेत्रमा काेही भाेकै बस्नुपर्ने अवस्था छैनः अक्कल तामाङ

अक्कल तामाङ
अध्यक्ष, कल्याणकारी स्वयमसेवक संघ नेपाल 

कल्याणकारी स्वयमसेवक संघ नेपाल विभिन्न सामाजिक क्रियाकलापमा संलग्न संस्था हाे । लकडाउनसँगै कपन क्षेत्रलाइ लक्षित गरेर राहत वितरण गरिरहेकाे यस संस्थाले राहत लिन याेग्य व्यक्ति पहिचान गरेर मात्र राहत वितरण गर्दै आएकाे छ । यस संस्थाका अध्यक्ष अक्कल तामाङ राहतलाइ थप प्रभावकारी बनाउन राज्य पक्षले स्थानीय टाेल सुधार समितिलाइ जिम्मेवारी दिनु अझ प्रभावकारी हुने धारणा राख्नुहुन्छ ।

अध्यक्ष अक्कल तामाङ

कल्याणकारी स्वयमसेवक संघ नेपाल कस्तो संस्था हो ?
यो एक सामाजिक संस्था हो, यसले जनजीवनलाई सहज बनाउन र समाजमा देखिएका समस्या न्यूनीकरण गर्ने कार्यमा आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । अहिले लकडाउनको कारण जनजीवनमा सृजना भएको समस्यालाई लक्षित गरी कमजोर अवस्थाका व्यक्तिहरुलाई राहत तथा सहयोग उपलब्ध गराइरहेका छौं ।

 राहत किन बाँडिरहनुभएको छ ?
लकडाउनको कारण अहिले निकै धेरै मानिसहरु समस्यामा छन् । थुप्रै मानिसहरुको बिहानबेलुका चुलो बल्न नसक्ने सृजना भएको छ । जो रोगले भन्दा पनि भोकले बढी छटपटाइरहेका छन्, खाना बाँच्नको लागि आधारभूत आवश्यकता हो । यसलाई संविधानले पनि सुनिश्चित गरेको छ । कोही पनि भोको नरहुन् र कठिन परिस्थितिमा जीवनयापन सहज बनोस् भनेर हामीले राहत वितरण गरिरहेका छौं ।

कहिले बाट राहत वितरण गरिरहनुभएको छ ?
लकडाउन शुरु हुने बित्तिकै हामीले यो कार्य शुरु गरेका हौं । जनता साँच्ची पीडित भएको महसुस गरेर राज्यले यो कार्यक्रम सञ्चालन नगर्दै हामी अघी बढेका हौं ।

कुन क्षेत्रलाइ लक्षित गरेर राहत वितरण गरिरहनुभएको छ ?
हामीले स्वयमसेवी कल्याणकारी संघ मार्फत बुढानिलकण्ठ नगरपालिका अन्तरगत कपन क्षेत्रलाई लक्षित गरेर राहत वितरण गरिरहेका छौं । हामीले सञ्चालन गरिरहेको राहत तथा सहयोग कार्यक्रमले अहिले कोही पनि भोकै बस्नुपरेको छैन ।

राहत वितरण साँच्ची प्रभावकारी भइरहेको छ त ?
हामीले स्थलगत अध्ययन गरेर जसलाई साँँच्ची राहतको आवश्यकता छ, उनीहरुलाई नै राहत वितरण गरिरहेका छौं । यदाकदा सबल आर्थिक अवस्था भएका व्यक्तिहरुले पनि राहत पाउनु आफ्नो अधिकारको रुपमा बुझेको पाइन्छ । उहाँहरुलाई राम्रोसँग बुझाएपछि कतिपय व्यक्तिहरु राहत नलिइ फर्किनुभएको छ । हामीले बुझाएका पनि छौं कि राहत भनेको कमजोर अवस्थामा गरिने सहयोग हो । समग्रमा हेर्दा राहत कार्यक्रम प्रभावकारी नै भएको छ ।

सामाजिक कार्यमा तपाईंहरु कसरी प्रभावित हुनुभयो ?
जो व्यक्ति सक्षम छ त्यसले आफू भन्दा कमजोर व्यक्तिलाई सहयोग गर्दा पुण्य प्राप्त हुन्छ भन्ने कुरालाई हाम्रो धर्मले पनि आत्मसात् गरेको छ । साथै अप्ठ्यारो अवस्थामा प्राप्त भएको सानो सहयोगले पनि साँच्चिकै पीडितलाई ठूलो सहायता मिल्न सक्छ भन्ने कुरा म आफैंले पनि बुझेको छु । मेरो परिवारको आर्थिक अवस्था कमजोर भएको कारण मेरो बाल्यकाल निकै नै कष्टपूर्ण रुपमा बित्यो । मैले आफ्नो चाहना बमोजिम आफ्नो शैक्षिक कार्यक्रम समेत अघी बढाउन सकिन । अहिले म जुन बाटो अँगालेको छु, त्यो बाटोमा सफल छु । साथै सेवा भावलाई पनि सँगसँगै अघी बढाएको छु ।
सामाजिक कार्यमा हामी संगठित रुपमा लागिपरेका छौं । अहिले हाम्रो यस संस्थाले शिक्षा, स्वास्थ्य, सरसफाई लगायत अन्य विभिन्न क्षेत्रमा काम गरिरहेको छ । हामी स्वतःस्फूर्त रुपमा नै आवश्यकता बमोजिमका सामाजिक क्रियाकलापमा संलग्न हुँदै आएका छौं ।

लकडाउन खुलाउने बारे के भन्नुहुन्छ ?
परिस्थिति नियन्त्रणमा आउने सुनिश्चित भएपछि मात्र राज्यले लकडाउन खुकुलो बनाउँदै लैजानुपर्छ । अहिलेको परिस्थितिले हाम्रो अर्थतन्त्र निकै नै प्रभावित भएको छ । यसमा दुइमत छैन । यद्यपि
अहिलेको अवस्थामा नेपालमा निकै धेरै मानिसहरु रोजगारी गुमाएका छन् । बैंकमा रहेको रकम निकाल्न नसकेको अवस्था छ । औषधी उपचार गराइरहेका दीर्घरोगी, विद्यार्थी, श्रमिक लगायत सबैजसो व्यक्तिहरु पीडित भएको अवस्था छ । खासगरी विहानबेलुकीको चुल्हो बल्न नसक्ने अवस्थामा रहेका व्यक्तिहरुलाई लक्षित गरेर राहत प्रदान गरिँदै आइएको छ ।

सरकारबाट वितरण हुने राहत कार्यक्रमलाइ अझ प्रभावकारी बनाउन के गर्नुपर्ला ?
कुन टोलमा भएका कति व्यक्ति पीडित छन् भन्ने सम्बन्धमा तथ्यांक संकलन गरेर पीडित नछुट्ने गरी राहत वितरण गर्ने कार्यको जिम्मा सम्बन्धित टोल सुधार समितिलाई दिनुपर्छ जस्तो मलाई लाग्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij