२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

खुद्रा व्यवसायीहरु भन्छन्- सामान सप्लाई गर्ने कार्य नै ठूलाे चुनाैती बनेकाे छ

खुद्रा व्यवसायीहरु भन्छन्- सामान सप्लाई गर्ने कार्य नै ठूलाे चुनाैती बनेकाे छ

निरन्तर सेवा प्रवाहमा छौंः व्यवसायी श्रेष्ठ

राज कुमार श्रेष्ठ, अध्यक्ष, नेपाल खुद्रा व्यापार संघ

अहिले बजार लकडाउन भइरहँदा पनि केही खुद्रा व्यवसायीहरु भने सेवाप्रवाहमा व्यस्त छन् । अहिले कसरी भइरहेकाे छ खुद्रा व्यवसायीहरुकाे सेवा प्रवाह भन्ने सम्बन्धमा नेपाल खुद्रा व्यापार संघका अध्यक्षराज कुमार श्रेष्ठसँग कुराकानी गरेका थियाैं । प्रस्तुत छ उक्त कुराकानीकाे सम्पादित अ‌ंशः

अहिले नेपालको ढुवानी व्यवस्थापन निकै नै जटिल बनेको छ । समग्र अर्थतन्त्र नै लथालिङ्ग बनेको छ । नेपालका सबै क्षेत्रहरु संकटग्रस्त अवस्थामा छन् । ती विविध क्षेत्र मध्ये खुद्रा व्यवसाय पनि एक हो, जसले जनतालाई सुविधा उपलब्ध गराउने क्रममा प्रत्यक्ष भूमिका निर्वाह गरेको हुन्छ । यस्तो कठिन अवस्थामा पनि उपभोक्ताले प्रभावकारी सेवा पाउन सकुन् भन्ने मान्यता सहित हामी निरन्तर लागिपरेका छौं । जसले गर्दा अहिले खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरुको अभाव सृजना भएको छैन ।
खुद्रा व्यवसायीहरुले सीमित केही घण्टा मात्र पसल सञ्चालन गरेर सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । यसरी सेवा उपलब्ध गराउने क्रममा हामीले विना कुनै सुरक्षा उपकरण काममा खटिनुपर्ने अवस्था छ । यो हाम्रो लागि ठुलो चुनौतीको विषय बनेको छ ।

नेपालमा सञ्चालनमा रहेका खुद्रा व्यवसायीहरु अधिकांश सामान्य किराना व्यवसायीको रुपमा पहुँच बनाएका व्यवसायीहरु छन् । अधिकांश खुद्रा व्यवसायीहरुले सानो लगानीमा पारिवारिक व्यवसायको रुपमा परम्परागत तवरले नै व्यवसाय गर्दै आएका छन् ।

साना खुद्रा व्यवसायीहरुले सहकारीबाट कर्जा लिएर व्यवसाय गरेका हुन्छन् । यसरी सहकारीबाट ऋण लिएका व्यवसायीहरुलाई अहिलेको कोरोनाले निकै नै समस्या पार्ने अवस्था देखिएको छ । कोरोनाको कारण उत्पन्न भएको संकटमा ठूला बैंक लगायतका संस्थाहरुलाई नेपाल सरकारले विशेष सम्बोधन गर्ने देखिएपनि सानो लगानीका ठूलो संख्याका सहकारीहरुको पक्षलाई पनि राज्यले विशेष सम्बोधन गर्नुपर्ने अवस्था छ ।

अहिलेको अवस्था निकै जटिल र चुनौतीपूर्ण हुँदाहुँदै पनि उपभोक्ताको सहजतालाई ध्यानमा राखी नेपाल सरकार अन्तरगतका विभिन्न निकायहरुको सहकार्यमा हामी खुद्रा व्यवसायीहरुले प्रभावकारी रुपमा सेवा प्रवाह गर्न सकेका छौं । यस कार्यमा राज्यको पनि महत्वपूर्ण भूमिका छ ।

अहिले काठमाडौंमा सञ्चालनमा रहेका आधाजसो खुद्रा व्यवसायीहरु सेवाप्रवाहमा खटिएका छन् । आफ्नो घरमा नै पसल सञ्चालन गरेका व्यवसायीहरुलाई पसल सञ्चालन कार्य सहज भएपनि दूरीको हिसाबले अलि टाढा सञ्चालनमा रहेका पसलहरु भने सञ्चालन हुन सकेका छैनन् ।

अन्य समस्या 
अहिले प्रयाप्त मात्रामा गाडीहरु चल्न नसकेको र प्रयाप्त श्रममूलक जनशक्ति समेत उपलब्ध हुन नसकेको कारण हामीले हाम्रो सेवा राम्रो तवरले सुचारु गर्न सकेको अवस्था छैन । यसको अलावा अहिलेको अवस्थामा हामीले डिलरबाट सामान ल्याउने क्रममा हामी आफैंले नै सवारीसाधनको समेत व्यवस्था गर्नुपर्ने हुन्छ । तर यो हाम्रो लागि ठूलो समस्या बनेको छ । विगतमा अधिकांश सामानहरु पसलमा नै आउने भएको कारण खुद्रा व्यवसायीले सवारीसाधन व्यवस्था गर्नुपर्ने अवस्था नै थिएन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij