काठमाडौं । नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा भएको खुलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्धा भएको पुष्टि गरे । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् । अहिले संक्रमण पुष्टि भएकी वृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया किशोरीकी आफन्त हुन् ।
दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए । त्यसपछि उनीहरु यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एकदिन आफन्तकहाँ बसेर उनीहरु दुबै जिपमा बाग्लुङ पुगेका थिए । ‘घरमा आएपछि सामान्य भेटघाट गर्नुभएको रहेछ । सँगै आएकी किशोरीमा संक्रमण देखिएपछि उहाँ पनि क्वारेन्टाइनमा बस्नुभएको थियो’ एक अधिकारीले भने ।
बागलुङ अस्पताल स्रोतकाअनुसार उनलाई दमको समस्या थियो । तर, बेल्जियमबाट फर्किएपछि कोरोना संक्रमणको कुनै लक्षण पनि देखिएको थिएन । संक्रमण देखिएपछि उनलाई होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी भइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij