दिनेश पाण्डे
आहा एकान्तसंवास क्या मजा साधुको सरि।
जल्दैछन् दुनियाँ सारा रुँदैछिन् मनकी चरी।।१
सास झैँ बन्न गो आज दुनियाँ सब बन्धकी।
भित्र बाहिर गर्दैमा जाने भो अब जिन्दगी ।।२
भूकम्प आउँदा सारा थुप्रिए घरबाहिर।
उर्ली आयो महामारी घरैभित्र सबै स्थिर ।।३
एकैसाथ दुवै आए के होला सबको गति।
भित्र बाहिर गर्दैमा बिग्रेला कतिको मति।।४
भूकम्पले लथालिङ्ग पारेकी धरणी परी।
खेप्दैछिन् आज कोरोना महामारी कठैबरी ।।५
थन्किए महँगा गाडी विमान जेट थन्किए।
पैसाले अब क्यै हुन्न विज्ञान भाँडमा गए।।६
यत्रो संकट पर्दामा कहाँ छन् विश्वका धनी ।।
सबै छन् बन्द पर्दामा सम्झनू धन के अनि।।७
आयो कोभिड-हल्ला यो हल्लायो सबको मन।
आ! यो कोभिड-हल्लाले अस्तव्यस्तै छ जीवन।।८
सबैले बिर्सिएकै हो परिवारसँगै बसी।
वार्ता आपसमा गर्दै घोटेको प्रेमको मसी।।९
मौका आयो यही सम्झी प्रेम सद्भावना छर।
यो हो प्रकृतिको देन मरेर लानु के छ र।।१०
घरमै धैर्य राखेर क्वारेन्टाइनमा पसौँ ।
सादा भोजन खाएर जे जे होस् एक्लिई बसौँ।।११
परिवार हुँदै भेला गरौँ बात रमाइला।
छोराछोरी सबैभित्र फुलोस् संस्कार-कोपिला ।।१२
आँत्तिने मात्तिने हैन धारणा ध्यानमा बसौँ।
कोरोना करुणा सम्झी आत्मसन्धानमा पसौँ ।।१३
अनावश्यक टन्टामा नलागौँ दुनियाँसित।
आत्मसंयम गर्नाले हुन्छौँ हामी सुरक्षित ।।१४
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij