
नेपाललाई तपोभूमि, योगभूमि एवं सिद्धभूमिको रुपमा चिन्ने गरिन्छ । आदिमकालका ऋषिमुनिहरुले नेपालकै हिमाली क्षेत्रमा तपस्या गरेर सिद्धि पाएको मान्ने गरिन्छ ।
यसै कुरालाई मध्यनजर गर्दै विगत करिब १ बर्ष पहिले देखि मध्य बानेश्वर क्षेत्रमा हिमालयन योगा एण्ड नेचुरल हस्पिटल सञ्चालनमा आएको छ । नेपालमा रहेका नेपालीहरुमा प्राकृतिक विधिबाट नै स्वास्थ्य उपचार गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने र पूर्वीय दर्शनमा आधारित योग तथा प्राकृतिक चिकित्सालाई थप प्रवर्दन गर्ने अस्पतालको उद्धेश्य रहेको देखिन्छ । नेपालमा योग अस्पतालको आवश्यकता, सम्भावना, चुनौती र राज्यको दृष्टिकोण लगायतका विषयहरुमा रहेर हामीले अस्पतालका अध्यक्ष आनन्द गैरे सँग कुराकानी गरेका थियौं ।
प्रस्तुत छ उक्त कुराकानी
सर्वप्रथमतः योग के हो ? यसको महत्व के छ ? केही बताइदिनुहुन्छ कि ?
पूर्वीय दर्शनबाट विकास भएको प्राकृतिक उपचार पद्धतिको रुपमा लिन सकिन्छ । योग निकै व्यापक क्षेत्र समेटेको क्षेत्र हो । यसको उत्तपत्ति पूर्वीय क्षेत्रको हिमवतखण्डबाट विकास भएको मानिन्छ । पछिल्लो समय विश्वका अन्य थुप्रै देशहरुले पनि योग विधिलाई अनुशरण गर्दै गइरहेका छन् । जर्मन, युरोप, अमेरिका, बेलायत लगायतका वैज्ञानिक प्रयोगमा बढी केन्द्रित मुलुकहरुले समेत योग पद्धतिलाई पछिल्लो समय जीवनपद्धतिको रुपमा अपनाउँदै गएका छन् ।
तपाईं यस क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
मैले भारतको बैंगलोरबाट योग सम्बन्धी अध्ययन गरेर नेपाल फर्किएपश्चात् यस क्षेत्रमा संलग्न रहँदै आएको छु । नेपालमा पनि योग तथा प्राकृतिक चिकित्सा लगायतका पुर्वीय दर्शनमा आधारित ज्ञानको प्र्रचारप्रसारको अलावा स्वस्थ समाज निर्माणमा योगदान पु¥याउने मान्यताले हामीले यो अस्पताल सञ्चालन गरेका छौं । सानै देखि नै म डा. मणि प्रसाद पोखरेल लगायतका व्यक्तिहरुको सामिप्यमा पनि रहेको हुनाले ऊहाँको मार्गनिर्देशनमा नै मलाई यस क्षेत्रमा अघी बढ्ने अवसर मिलेको हो ।
नेपालमा अस्पताल सञ्चालनको १ बर्षे अवधि कस्तो रह्यो ?
नेपालमा अहिले पनि प्राकृति चिकित्सा एवं योग पद्धतिको बारेमा सचेतना जागरण हुन सकेको छैन । यस क्षेत्रको सम्भावना, उपचारको निम्ति अपनाइने विधिहरु, यसको दायरा, फाइदा एवं प्रतिकुल प्रभाव लगायतको बारेमा पनि जानकारी हुन सकेको छैन । यद्यपि नेपालमा पछिल्लो समय योग तथा प्राकृतिक चिकित्सा विधिमा आधारित अस्पतालहरुको सङ्ख्या पनि बढ्दै गएको, सरकारले पनि यस क्षेत्रलाई व्यवस्थित गर्नको लागि पहल गरिरहेको र योग तथा प्राकृतिक पद्धति प्रति मानिसहरुको चासो बढ्दै गएको अवस्थालाई हेर्दा यस क्षेत्र प्रति मानिसहरुको चासो बढ्दो क्रममा रहेको पाइन्छ । यो हामी सबैको लागि खुसीको कुरा हो ।
अहिले कस्ता व्यक्तिहरु अस्पतालमा आउने गरेका छन् ?
अहिले अधिकांश मानिसहरु विरामी हुनुमा उनीहरुको अस्वभाविक अर्थात अप्राकृतिक जीवनशैली नै मुख्य हो । जीवनशैलीमा परिवर्तन ल्याउन सकेको खण्डमा अधिकांश शारीरिक एवं मानसिक समस्याहरु निर्मूल हुने गर्छन् । तर कतिपयलाई यसबारेमा जानकारी छैन । जानकारी हुनेहरु मध्ये पनि अधिकांशलाई जीवनशैली परिवर्तन बदलिँदो परिवेशमा सहज माध्यम चाहिँ नहुन सक्छ । यस्तो अवस्थामा विरामी भइसकेपछि सबैभन्दा पहिले सबैले सजिलो माध्यम नै रोज्ने गरेको पाइन्छ, एलोप्याथिक विधिबाट गरिने उपचार । त्यसबाट ठीक नभएका विरामी आयुर्वेद हुँदै प्राकृतिक चिकित्सा सम्म आइपुग्छन् । थुप्रै असाध्य मानिएका रोगहरु समेत प्राकृतिक चिकित्साबाट निकै कम भएका छन् । यद्यपि यस क्षेत्रको बारेमा राम्रो तवरले प्रचारप्रचार पुग्न नसक्दा तुलनात्मक रुपमा निकै कम विरामीले मात्र प्राकृतिक चिकित्सा पद्धति अपनाउने गरेको अवस्था छ ।
अहिले प्यारालाइसिस भएपछि गरिने रिह्याव, नसा च्यापिएको लगायत क्लिन्जिङ (शरीरको आन्तरिक शुद्धिकरण), मसाज, योग थेरापी लगायतका सेवा लिने विरामीहरुले यस अस्पतालबाट सेवा लिइरहनुभएको छ ।
राज्यले पूर्वीय दर्शनबाट विकास भई पश्चिमी मुलुकहरुमा समेत विस्तार भइरहेको योग एवं प्राकृतिक चिकित्सा लगायतलाई कसरी लिएको छ ?
नेपालमा अहिले सम्म विश्वविद्यालय अन्तरगत योग तथा प्राकृतिक चिकित्सा कार्यक्रम सञ्चालन हुन सकेको छैन । जसले गर्दा कुनै कलेजले यस किसिमले शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहेको खण्डमा पनि उक्त कार्यक्रम सञ्चालन गर्न सकिने अवस्था छैन । यद्यपि नेपाल सरकारले पनि यस किसिमको प्राकृतिक चिकित्साको महत्व बुझिसकेको कारण अब छिट्टै नै उक्त कार्यक्रम शैक्षिक कार्यक्रमको रुपमा सञ्चालनमा ल्याउनको लागि आवश्यक व्यवस्था गर्नेछ । अहिले यस कार्यक्रम सञ्चालनको लागि पाठ्यक्रम तयार भइरहेको हामीले जानकारी पाएका छौं । नेपालमा संस्कृत शिक्षाको पर्वर्धनमा लागेको महेन्द्र संस्कृत विश्वविद्यालय वा त्रिभुवन विश्वविद्यालय अन्तरगत यस किसिमको शैक्षिक कार्यक्रम सञ्चालन गरिनेमा हामी आशावादी छौं । अहिले सम्मको अवस्था हेर्दा वाल्मिकी क्याम्पसमा ६ महिने र त्रिविमा संस्कृत विभाग मातहतमा १ बर्षे योग सम्बन्धी डिप्लोमा कार्यक्रम सञ्चालन भएको अवस्था छ । आगामी दिनमा योग सम्बन्धी माथिल्लो तहका कार्यक्रम सञ्चालन गरिनु जरुरी छ ।
विगतको तुलनामा यो परिष्कृत हुँदै गएको छ त ?
विगत लामो समय देखि नेपालमा नै विकास भएको योग लामो समय ऋषिमुनिहरुको लागि मात्र उपयुक्त हुने भन्दै यस प्रति अन्य व्यक्तिहरुको ध्यान जान सकेन । अहिले यस क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनको लागि थुप्रै पहल भएका भएपनि अहिले पनि कुनै दीर्घरोगी र आफन्तले मात्रै योग पद्धति अनुशरण गरिरहेको अवस्था छ । साथै गलत तवरले हुन सक्ने योगासनको प्रतिकुल प्रभावलाई विचार गर्दै अहिले योगका खासखास पद्धति खास समस्यालाई नै केन्द्रित गरेर योगथेरापी सञ्चालन गरिँदै आइएको छ । जसले गर्दा योग थप परिष्कृत हुँदै गएको बुझ्न सकिन्छ । साथै योगका सम्बन्धमा विभिन्न अनुसन्धानहरु पनि भइरहेका छन् । भारतको स्वामी विवेकानन्द योग विश्वविद्यालय, जुन योग क्षेत्रको अनुसन्धानमा नै केन्द्रित छ । नेपालमा भने योगलाई थप व्यवस्थित गर्दै अनुसन्धानमूलक कार्यक्रमहरु सञ्चालन गर्नु जरुरी छ ।
योग पश्चिमी मुलुकमा विस्तार हुँदै जानुलाई कसरी लिन सकिन्छ ?
अहिले पश्चिमी मुलुकहरुमा पनि योगको टे«ण्ड बढेको छ । जुन हाम्रो लागि खुसीको कुरा पनि हो । यसरी पश्चिमीहरु आकर्षित हुनुमा योगका विधिहरुको अनुसन्धानबाट यो पद्धति मानवीय हितको लागि प्रभावकारी देखिनु र सकारात्मक नतिजा ल्याउन सफल हुनु नै मुख्य हो । अहिले नेपालमा पनि अनुसन्धानमूलक रुपमा योग, प्रणायाम, ध्यान, साधना, रेकी लगायतको प्रयोग हुनु जरुरी छ । पश्चिमी मुलुकका सेवाग्राहीहरु कुन आसन वा प्रणायामको परिणाम के रहन्छ भन्ने कुराको ज्ञान भएपश्चात् मात्र ऊहाँहरु यो सेवा लिन आकर्षित हुनुहुन्छ, जुन अनुसन्धानकै कारण विकास भएको चेतना हो ।

अबका दिनमा हामीले बेष्ट अफ द इष्ट र बेष्ट अफ द वेष्टको संयोजनबाट यस कार्यक्रमलाई व्यापक र वृहद बनाउनुपर्छ । पूर्वीय समाजको योगदान भनेको ज्ञानका अथाह स्रोत र गहिराइ हो भने पश्चिमको उत्कृष्टता भनेको वैज्ञानिक प्रयोग र परिणाममा दिइएको जोड हो । नेपाल सरकारले पनि अबका दिनमा नसर्ने रोगहरुको लागि जीवनशैली पद्धतिमा नै परिवर्तन ल्याउनको लागि विशेष पहल एवं सचेतना विकास गर्न जोड दिनु आवश्यक छ । अबको दिनमा अहिले वैकल्पिक उपचार मानिएका विधिहरुलाई पनि मुख्य विधिकै रुपमा अघी बढाउन र मेडिकल पद्धतिमा मात्र निर्भर नरहने अवस्था सृजना गर्नु जरुरी छ । यसबाट हाम्रो स्वास्थ्यमा निकै नै प्रभावकारी परिणाम पाउन सकिन्छ ।
तपाइहरुले सञ्चालन गरेकाे यो अस्पताल कस्तो प्रक्रितिकाे हो ?
हामीले आयुर्वेद विभागमा दर्ता भएर १० सिट क्षमतामा यो अस्पताल सञ्चालन गरेका हौं । आवश्यक सबै मापदण्ड पु¥याएर नै यो अस्पताल सञ्चालन गरेका हौं । हाल यस अस्पतालमा फिजियोथेरापी, अकुपञ्चर, अकुप्रेसर, योगथेरापी लगायत सञ्चालन गरेका छौं । नेचुरोप्याथी र योगथेरापी दुवै सञ्चालन गर्ने नेपालको यो पहिलो अस्पताल हो ।
आगामी योजना के छन् ?
नेपालभरी योगथेरापी विस्तार गर्ने कार्यमा यस अस्पतालले कसरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्नेमा हामीले विशेष पहल गर्नेछौं । 
अन्त्यमा के भन्नुहुन्छ ?
जीवनशैलीमा सुधार ल्याउन सकेको खण्डमा अधिकांश रोगहरुबाट पहिले नै बच्न सकिन्छ भने रोग लागेपछि सहजै उपचार गर्न सकिने अवस्था समेत रहन्छ । यसको लागि उपयुक्त खानपान, रहनसहन, शारीरिक अभ्यास, संस्कार, बोलचाल, योगध्यान, सकारात्मक सोच लगायतमा हामीले उपयुक्त तवरले पहल गर्नु जरुरी रहन्छ । यसको अलावा पूर्वीय दर्शन ज्ञानको खानी भएको कारण यसको थप अध्ययन एवं खोजमा राज्यले आफ्नो ध्यान केन्द्रित गर्नु जरुरी रहन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij