युवराज गुरुङ निर्देशक, एग्रो मनाङ प्रा.लि
नेपालमा व्यापक परिमाणमा स्याउ उत्पादन तथा बजारीकरण गर्ने योजना सहित स्थापना भएको कम्पनी हो एग्रो मनाङ प्रा.लि. । नेपालको एक दुर्गम हिमाली जिल्लाको विशेष उपहारको रुपमा रहेको स्याउलाई व्यावसायिक बनाई आयात विस्थापनको योजना बमोजिम कम्पनीले स्याउ उत्पादन गरिरहेको छ ।

नेपालको हिमाली क्षेत्रलाई स्याउ उत्पादनको हिसाबले राम्रो सम्भावना भएको क्षेत्र मानिन्छ । यसको बजार समेत राम्रो छ । यद्यपि राम्रो सडकको अभावमा राम्रो सँग यसको बजार व्यवस्थापन भने हुन सकेको छैन । जसले गर्दा एकातिर ठूलो परिमाणमा स्याउ नष्ट भइरहेको साथै काठमाडौं लगायतका ठूला शहरहरुमा भारत, चीन लगायतबाट ठूलो परिमाणमा स्याउ आयात भइरहेको अवस्था छ ।
७ बर्ष पहिलेको अवधारणा
विगत ७ बर्ष अघी वृहद योजना सहित स्याउ उत्पादनमा सक्रिय हुने मनसायमा यस कम्पनीका सञ्चालकहरु पुगेका हुन् । व्यवस्थित तवरले अघी बढ्ने योजना बनेपश्चात् करिब २ बर्ष लगाएर वस्तुस्थितिको आवश्यक अध्ययन तथा जमीनको तयारी गरेको र त्यस पश्चात् विगत ५ बर्ष देखि स्याउ रोपण गरी शुरुकै बर्ष देखि नै आफूहरु उत्पादन गर्न सफल रहेको कम्पनीका सञ्चालक युवराज गुरुङले बताए ।
एग्रो मनाङ अन्तरगत सञ्चालित कृषि फार्म करिब ५ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । यस फार्ममा हाल करिब ६२ हजार विरुवाहरु रोपिएको छ । शुरुको बर्ष १५ टन स्याउ उत्पादन भएको थियो । हरेक बर्ष उत्पादन बढ्दै गएको छ भने यस बर्ष फार्मबाट करिब ५ सय टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । अबका २ हप्ता भित्रमा स्याउ टिप्ने कार्य सकिनेछ ।

हाल यस स्याउ फार्ममा करिब ३५ जना कर्मचारीहरु काममा खटिएका छन् भने आवश्यकता बमोजिम थप ज्यालादारी कामदारहरुलाई समेत काममा लगाइने कम्पनीले जनाएको छ ।
नेपालमा स्याउको अवस्था
अहिले नेपालमा करिब ९० प्रतिशत स्याउ बाह्य बजारबाट नै आयात भइरहेको छ । साथै नेपालमा नै स्याउको माग निकै राम्रो छ । नेपाली स्याउ गुणस्तरीय छ । यद्यपि अहिलेको अवस्थामा नेपाली स्याउको माग राम्रो भएपनि बजार माग बमोजिम उत्पादन हुन नसकेको कारण प्रयाप्त मात्रामा यसको पुर्ति हुन सकेको छैन ।
हाल यस कम्पनीले फार्मबाट उत्पादित स्याउहरुलाई विभिन्न श्रेणीमा वर्गिकरण गरी सोही बमोजिम २ सय ५० रुपियाँ सम्म विक्री गर्दै आएको छ । सानो दाना र दाग भएका स्याउहरु वाइन उद्योगमा खपत हुने गरेका छन् । यसको अलावा कम्पनी आफैंले पनि स्याउको जुस तथा सुकुटी उत्पादन समेत गर्दै आएको छ । यी प्रडक्टहरु स्थानीय बजारमा समेत विक्री हुँदै आएको छ ।
राज्यको सहयोग आवश्यक
आगामी दिनमा उत्पादन थप बढाउने योजनामा समेत यो कम्पनी छ । यसको अलावा अन्य थुप्रै व्यक्तिहरु समेत स्याउ उत्पादनको निम्ति तयार छन् । यद्यपि राज्यको प्राविधिक सहयोग उपलब्ध हुन सकेको र छिटो गतिमा सडक विस्तार भई आवतजावत सहज भएको खण्डमा नेपाली स्याउको उत्पादन तथा बजार अझ बढ्ने अनुमान गर्न सकिन्छ ।
प्रतिकिलो १२ रुपियाँ ढुवानी खर्च
अहिले यातायात सुविधा स्याउ ढुवानीको लागि ठूलो चुनौती बनेको छ । जसले गर्दा मनाङमा उत्पादित स्याउ काठमाडौं ल्याउने क्रममा प्रतिकिलो करिब १२ रुपियाँ ढुवानी बापत नै खर्च हुने गरेको छ । यसको अलावा मनाङमा सुगम क्षेत्रबाट सामानहरु लैजान समेत निकै कठिनाई छ । बाटोको सहज पहुँच विस्तार भएसँगै लागत घट्ने कम्पनीको विश्वास छ ।
अन्त्यमा,
नेपाली स्याउको बजार वृद्धिको अलावा फरक पहिचान स्थापना गर्नको लागि उत्पादन परिमाण, गुणस्तर एवं प्याकेजिङमा थप सुधार गर्नु जरुरी छ । यसो हुन सकेको खण्डमा नेपाली स्याउलाई आयातित स्याउ सँग प्रतिष्पर्धा गर्न कठिनाई हुँदैन । नेपालको निम्ति मुख्य प्रतिष्पर्धि बजार भारत र चीन हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij