२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेपालमा मूल्यांकन क्षेत्र र यसका चुनौतीहरु

नेपालमा मूल्यांकन क्षेत्र र यसका चुनौतीहरु

विगत लामो समय देखि इन्जिनियरिङ धितो मूल्याङ्कन क्षेत्रमा रहेर काम गर्दै आइरहनुभएका सञ्जय महतो नेपाल डेभलपमेन्ट कन्सल्ट्यान्टका प्र्रबन्ध निर्देशक समेत हुनुहु्रन्छ । पछिल्लो समय बिल्डिङ तथा कन्स्ट्रक्सन क्षेत्रलाई पनि सँगसँगै अघी बढाउने मानसिकता बनाउनुभएका ऊहाँ कलाकारिता क्षेत्रमा समेत राम्रो रुचि राख्ने व्यक्ति हुनुहुन्छ । यसै बर्ष ‘पसिना’ नामक चलचित्र निर्माण गर्नुभएका ऊहाँ आगामी दिनमा रङ्गमञ्च क्षेत्रका केही प्रतिष्ठित व्यक्तिहरु सँगको सहकार्य आफ्नो यात्रालाई थप गति दिने योजना बमोजिम अघी बढ्दै हुनुहुन्छ ।

ई.सञ्जय महतो पुर्व उपाध्यक्ष, नेपाल भ्यालुयर्स एसोसिएसन

सन् २००५ मा इन्जिनियरिङ अध्ययन पूरा गर्नुभएका महतो आफू यस व्यवसायमा प्रवेश गर्दाका शुरुका दिनहरु निकै कष्टकर रहेको स्मरण गर्नुहुन्छ । यस क्षेत्रमा काम गर्न स्पष्ट कार्यनीति नभएको र व्यवसायीहरु पनि सङ्गठित हुन नसकेको कारण यस क्षेत्रमा काम गर्न गाह्रो थियो । सोही कुरालाई मध्यनजर गर्दै यस क्षेत्रमा संलग्न केही व्यक्तिहरु (ऋषि कोइराला, सञ्जय महतो, वसन्तरमण रजौरे) लगायतका व्यक्तिहरु सङ्गठित हुनुपर्छ भन्ने मान्यता सहित अघी बढ्नुभयो । व्यवसायलाई व्यवस्थित बनाउन सकिने, आपसी सहयोग आदानप्रदान एवं व्यावसायिक हकहित सुरक्षित गर्न सकिने र यस क्षेत्रका इन्जिनियरहरुको दक्षता वृद्धि एवं व्यावसायिक एकरुपता लगायतका कुराहरुलाई केन्द्रित गर्दै यो संघको अवधारणा विकास गरिएको हो ।

लामो इतिहास बोकेको धितो मूल्याङ्कन क्षेत्र 
नेपालमा स्थिर सम्पत्तिको धितो मूल्याङ्कन कार्यको इतिहास निकै लामो छ । व्यवसायीहरु सङ्गठित हुनुभन्दा निकै पहिले देखि अस्तित्वमा रहेको यस कार्यलाई सङ्गठित रुपमा अघी बढाइए पश्चात् अहिले सम्म आइपुग्दा यस क्षेत्रमा नयाँ सम्भावनाहरु समेत थपिएका छन् । अहिले नेपालमा धितो मूल्याङ्कन क्षेत्र नयाँ क्षेत्रको रुपमा स्थापित भइसकेको छ । अहिले यस क्षेत्रमा काम गर्ने व्यवसायीहरुको सङ्ख्या निकै नै बढेको छ । सोही बमोजिम यस संघका सदस्यहरुको सङ्ख्या पनि थपिँदै गएको छ । हाल सम्म आइपुग्दा करिब साढे ४ सय इन्जिनियरिङ फर्महरु यस नेपाल भ्यालुयर्स एसोसिएसनको सदस्य बनिसकेका छन् भने व्यवसाय उपत्यका बाहिर पनि चितवन, विराटनगर, दाङ, पोखरा लगायतमा निकै नै तीव्रताको साथ बढिरहेको छ । यी क्षेत्रहरुमा समेत व्यवसायीहरु संगठित भई निरन्तर रुपमा विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेका छन् । नेपालका विभिन्न मुख्य शहरहरुमा पछिल्ला बर्षहरुमा यस व्यवसायमा संलग्न इन्जिनियरहरुलाई तालिम प्रदान गर्ने र व्यावसायिक एकरुपता ल्याउने कार्यमा भ्यालुअर्स एसोसिएसनले विभिन्न तालिम, गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रमहरु समेत आयोजना गरी व्यवसायीहरुलाई थप जिम्मेवार बनाउँदै लगेको छ ।

नेपालमा इन्जिनियरिङ भ्यालुएसनको अवस्था 
नेपालमा इन्जिनियरिङ भ्यालुएसन क्षेत्रमा विगत एक दशक पहिलेको तुलनामा निकै नै प्रगति भएको छ । यद्यपि यस क्षेत्रको अवस्था अहिले पनि कमजोर नै छ । यस क्षेत्रले जुन गुणात्मक फड्को मार्नुपर्ने थियो, अब त्यो बेला आएको छ । यस क्षेत्रलाई व्यवस्थित बनाउने मान्यता बमोजिम अहिले नेपाल राष्ट्र बैंक मातहत नै गाइडलाइन्स समेत निर्माण हुने अवस्थामा छ । यसबाट हामी व्यवसायीहरुलाई थप सहज हुनेछ । अहिलेको अवस्थामा पनि मूल्याङ्कनकर्ता इन्जिनियर र बैंक केही मतभेदहरु रहँदै आएका छन् । जसले गर्दा कुनै समस्या आएको खण्डमा त्यसको ठूलो दोष इन्जिनियरलाई नै लाग्ने गरेको छ । यस कार्यमा बैंकबाट पनि कमजोरी भएका हुन सक्छन् । कतिपय समस्याहरुमा इन्जिनियरबाट पनि कमजोरी भएका हुन सक्छन् । कुनै समस्या आएको खण्डमा त्यो समस्या कसरी सृजना भएको हो भन्ने सम्बन्धमा राम्रोसँग अध्ययन गरी कमजोरी पत्ता लगाएर उचित समाधान खोज्नु आवश्यक रहन्छ । साथै मूल्याङ्कन क्षेत्रलाई अझ व्यवस्थित गर्दै लैजाने क्रममा बैंक, मूल्याङ्कनकर्ता इन्जिनियर तथा ऋणी लगायत सबै सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहने गर्छ ।

अग्रजहरुको सहयोग महत्वपूर्ण रह्यो 
नेपालमा यस क्षेत्रलाई व्यवस्थित गर्दै लैजानुपर्छ भन्ने मान्यता बमोजिम यस क्षेत्रका लामो अनुभव समेट्नुभएका देवेन्द्र श्रेष्ठ लगायतका केही अग्रजहरुले हामीलाई निकै ठूलो सहयोग गर्नुभएको छ । आफ्नो दशकौं लामो अनुभवका आधारमा नयाँ व्यक्तिहरुलाई आवश्यक तालिमहरु समेत प्रदान गर्दै सुसुचित समेत गर्दै लैजान अग्रजहरुको सहयोगले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

मेरो भ्यालुएसन क्षेत्रको संलग्नता 
इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने समय सम्म मैले यस क्षेत्रमा संलग्न रहने सोच बनाएको थिइन । शायद म स्ट्रक्चरल वा बिल्डिङ वा हाइड्रोपावर क्षेत्रमा रहेर काम गर्छु भन्ने मेरो सोच थियो । यद्यपि मसँगै पढेका ऋषि कोइरालाको समेत आग्रहमा म यस क्षेत्रमा संलग्न भएको हुँ । अहिले म सन्तुष्ट छु । लामो समय देखि मूल्यांकन क्षेत्रमा रहेर काम गर्ने क्रममा मैले यस क्षेत्रमा रहँदै आएका समस्या, चुनौती र सम्भावनाहरुलाई मैले नजिकबाट बुझेको छु । अहिले पनि नेपालका मूल्यांकनकर्ता इन्जिनियर ठूलो समस्यामा पर्दै आएका छन् । यस क्षेत्रमा कार्यरत थुप्रै इन्जिनियर बिना गल्ति नै जेल परेको अवस्था पनि छ । नेपालमा अहिलको अवस्थामा पनि इन्जिनियर र बैंक बीच राम्रो तालमेल बन्न नसक्दा यसबाट कर्जा लिएका ग्राहकहरुले भने अनुचित लाभ लिन सफल छन् । सामान्यतया प्र्राविधिक तथा इन्जिनियरिङ क्षेत्रमा काम गरेर जेल जानुपर्ने अवस्था रहँदैन । यद्यपि नेपालमा इन्जिनियरिङ क्षेत्रमा रहेर काम गर्ने क्रममा भने कर्जावाहकले बैंकलाई उपलब्ध गराएर बैंकले प्रमाणित गरेका कागजपत्रहरुकै आधारमा इन्जिनियरले सजाय भोग्नुपर्ने अवस्था छ । जुन निकै दुखद छ ।

सम्भावना बोकेको मूल्यांकन क्षेत्र 
पछिल्लो समय नेपालमा बैंकहरुको सङ्ख्या मर्जर सँगै घटेपनि यस क्षेत्रको कामको दायरा भने बढ्दो छ । अंशवण्डा तथा घरायसी सम्पत्ति बाँडफाँडको क्रममा समेत सम्पत्तिको मूल्यांकन गर्ने कार्यको जिम्मेवारी इन्जिनियरहरुकै रोहवरमा हुने प्रचलन नेपालमा शुरु भएको छ । यसको अलावा नेपालका कुनै संस्थाहरुको किनबेच गर्ने क्रममा होस् वा कुनै प्रोजेक्टले काम अघी बढाउने क्रममा समेत किन नहोस्, त्यसको मूल्यांकन गर्ने मूल्यांकनकर्ता इन्जिनियरकै हुने भएको कारण यस क्षेत्रमा राम्रो सम्भावना रहेको मान्न सकिन्छ ।

महतोको बाल्यकाल र रुचि र आगामी योजना 
बाल्यकाल देखि नै आफूमा कलाकारिता प्रतिको विशेष रुचि रहेका महतो नाटकमा अभिनय गर्ने, गीत गाउने जस्ता प्रतिभाहरुमा रमाउनुहुन्थ्यो । अहिले पनि व्यवसायको अतिरिक्त यस्तै रोमाञ्चक गतिविधिहरुमा संलग्न हुन बढी चासो राख्नुहुन्छ । साथीहरुसँग भेटघाट तथा अन्तरक्रिया, नयाँ क्षेत्रको घुमफिर लगायतमा विशेष रमाइलो महसुस गर्नुहुने महतो आफूले सञ्चालन गर्दै आएको नेपाल डेभलपमेन्ट कन्सल्ट्यान्ट मार्फत आफ्नो पहिचान तथा कार्यदायरा समेत अझ विस्तार गर्दै लैजाने योजनामा हुनुहुन्छ । भावी योजना अन्तरगत गल्कोट हाउजिङ अन्तरगत निर्माण हुन लागेका घरहरुको नक्साङ्कन तथा डिजाइनको कामको जिम्मेवारी आफूले लिँदै गरेको जानकारी गराउनुभयो । साथै नेपालमा आफूहरुले गर्नुपर्ने थुप्रै कामहरु बाँकी रहेको र योजनावद्ध रुपमा ती कामहरु सम्पन्न गर्दै जाने महतोे बताउनुहुन्छ ।

नेपालमा अहिलको अवस्थामा पनि इन्जिनियर र बैंक बीच राम्रो तालमेल बन्न नसक्दा यसबाट कर्जा लिएका ग्राहकहरुले भने अनुचित लाभ लिन सफल छन् । सामान्यतया प्र्राविधिक तथा इन्जिनियरिङ क्षेत्रमा काम गरेर जेल जानुपर्ने अवस्था रहँदैन । यद्यपि नेपालमा इन्जिनियरिङ क्षेत्रमा रहेर काम गर्ने क्रममा भने कर्जावाहकले बैंकलाई उपलब्ध गराएर बैंकले प्रमाणित गरेका कागजपत्रहरुकै आधारमा इन्जिनियरले सजाय भोग्नुपर्ने अवस्था छ । जुन निकै दुखद छ ।

आफ्नो क्षमताको पहिचान गरे सफलता निश्चित छ 
कुनै पनि व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गरेर आफ्नो रुचिको क्षेत्रमा काम गर्ने हो भने सोहीबमोजिम सफलता अवश्य पनि हासिल गर्न सकिन्छ । हरेक व्यक्तिले आफूले रुचि भएकै क्षेत्रमा रहेर काम गर्नु उपयुक्त हुन्छ । कसैको बाध्यतामा परेर रुचि नै नभएको काम गर्दा सफल हुने सम्भावना पनि कम रहन्छ । महतोको अनुभवले यही बताउँछ ।

अन्त्यमा,
नेपालमा मूल्यांकन क्षेत्रमा काम गर्नको निम्ति अहिले सबैभन्दा ठूलो समस्या वैधानिक कागजपत्रकै कारण सृजना हुने गरेको छ । यसरी आउन सक्ने भावी समस्यालाई पहिले नै बैंक तथा भ्यालुयर्स बीचको राम्रो समन्वयबाट धेरै हद सम्म कमी ल्याउन सकिन्छ । कुनै कागजपत्रमा शङ्का लागेमा त्यसलाई राम्रो तवरले अध्ययन गर्नु जरुरी रहन्छ । यसको साथै मूल्यांकनकर्ता इन्जिनियर पनि आफु अतिरिक्त लाभबाट प्रभावित नभई आफ्नो विवेकपुर्ण ढङ्गले वस्तुस्थितिलाई विचार गरेर नै सम्पत्तिको मूल्यांकन गर्नु जरुरी हुन्छ ।

साथै यो व्यवसाय विश्वासको व्यवसाय समेत भएको कारण बैंक र मूल्यांकनकर्ता बीच राम्रो विश्वासयुक्त वातावरण कायम हुनु जरुरी रहन्छ ।
नेपालमा व्यवसायीहरुकै सक्रियतामा अहिलेको अवस्था सम्म आइपुगेको यस क्षेत्रलाई नयाँ क्षेत्रको पहिचान गर्नुपर्छ भन्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले समेत विशेष महत्व दिँदै निर्देशिका तयार पार्ने लगायतका आफ्ना गतिविधिहरु अघी बढाएको छ । नेपाल राष्ट्र बैंकबाटै निर्देशिका आइसकेपश्चात् हामीलाई यस क्षेत्रमा काम गर्न अझ सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij