२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

फ्लोरिकल्चर मार्फत चर्चा कमाउँदै भक्तपुरका आशिष

फ्लोरिकल्चर मार्फत चर्चा कमाउँदै भक्तपुरका आशिष

हाल नेपालबाट युवा वर्गहरु नेपालमा रोजगारीको अवसर छैनन् भन्ने मान्यताले विदेशिइरहेको अवस्थामा नेपालका केही युवाहरु भने नेपालमा नै काम गरेर पनि राम्रो प्रतिष्ठा र आम्दानी कमाउन सफल छन् ।
भक्तपुरको सुर्यविनायक स्थित पाण्डुबजारका स्थानीय बासिन्दा आशिष चगुथी पनि त्यस्तै जागरुक युवा मध्ये एक हुन् । हाल फ्लोरिकल्चर क्षेत्रमा सक्रिय छन् । साथै विभिन्न प्रकारका तरकारी बालीहरु समेत रोप्दै आएका छन् । उनले नेपालमा फूल संस्कार विकासको निम्ति समेत अदृश्य रुपमा महत्वपूर्ण काम गरिरहेका छन् । नेपालमा फूल घरघरमा रोप्नुपर्छ भन्ने मान्यता राख्ने उनी औपचारिक कार्यक्रममा ओरजिनल फूल नै प्रयोग गर्नुपर्ने बताउँछन् ।
पछिल्लो समय शहरी क्षेत्रमा समेत फूल प्रति मानिसहरुको आकर्षण बढ्दो छ । फूललाई सौन्दर्य, पूजाआजा तथा अन्य विविध कार्यको निम्ति प्रयोगमा ल्याउने प्रचलन छ । कतिपय फूलहरु विशेष औषधीय गुणयुक्त समेत हुने गरेका छन् ।

पछिल्लो समय नेपालमा चाडपर्वको समयमा फूलको माग निकै नै बढ्ने गर्छ । नेपालमा उपलब्ध फूलले बजारको माग धान्न सक्ने अवस्था नरहेको कारण विदेशबाट समेत फूल भित्रने क्रम नेपालमा बढेको छ । यस्तो अवस्थामा नेपालमा नै फूल क्षेत्रमा नै आफ्नो भविष्य खोज्ने दृढ विश्वासको साथ काम गरिरहेका आशिषले समाजमा उदाहरणीय कार्यको रुपमा उक्त क्षेत्रलाई अघी ल्याउन सहयोग गरेका छन् । अरु व्यक्तिहरुको निम्ति उपेक्षित क्षेत्र हुँदाहुँदै पनि श्रमको सम्मान र निरन्तर पहलको कारण आशिष अहिले स्थानीय बजारमा निकै चर्चामा छन् । हाल फूल तथा तरकारीको निम्ति आवश्यक सम्पूर्ण कामहरु आफैंले गर्दै आएका आशिष आफूले रोजेको काममा सन्तुष्ट छन् । हाल उनको गार्डेनमा १० जना कर्मचारीहरु कार्यरत छन् ।

बजारमा आफूले उपलब्ध गराएका तरकारी तथा फूलहरुको कारण उनले उपभोक्ताबाट समेत हौसला पाइरहेका छन् । भन्छन्, ‘आफू संलग्न रहेको क्षेत्रमा प्रतिवद्ध भएर काममा लाग्ने हो भने हरेक क्षेत्रमा सम्भावना छन् । आफूले कसैलाई अनावश्यक प्रलोभनमा पार्नुहुँदैन । कसैको अहित गर्नुहुँदैन । शुरुमा गाह्रो भएपनि समयको गति सँगै आफ्नो पनि मूल्याङ्क हुन्छ नै ।’

भक्तपुरका स्थानीयवासी तथा भर्खर कलेजमा पढ्दै गरेका र कलिलो उमेरका आशिषलाई अहिले नै आफू व्यवसायमा होमिनुपर्ने बाध्यता त थिएन । तैपनि उनी श्रमलाई नै आफ्नो धर्म र सफलताको पहिलो बिन्दु सम्झेर निरन्तर कर्तव्यपथमा अघी बढिरहेका छन् । उनको विहानी पनि यसै कार्यबाट शुरु हुन्छ भने बेलुकी राती सम्म पनि यसै कार्यमा नै सक्रिय रहिरहन्छन् ।

कृषि क्षेत्रमा काम गर्न शुरुका दिनमा केही गाह्रो भएपनि पछिल्लो समय बजारमा माग भने बढ्दो छ । यद्यपि कृषि तथा वनपैदावरमा आधारित क्षेत्र नै मानिसहरुको जीवन चल्नको निम्ति मुख्य आधार भएको कुरालाई हृदयङ्गम गर्दै अन्य थुप्रै युवाहरुलाई आकर्षित गर्नको निम्ति नेपाल सरकार तथा सरोकारवाला निकायहरुले पनि सहयोगको निम्ति विशेष कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने हुन्छ । जसले गर्दा काम गरिरहेका व्यक्तिहरुलाई थप हौसला मिल्न सकोस् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij