
वि.सं २०२५ मा सिन्धुलीको गोलञ्चौर गाउँपालिकामा जन्मिनुभएका दुर्गा विक्रम थापा विगत लामो समय देखि व्यावसायिक क्षेत्र अन्तरगत पश्मिना व्यवसायमा संलग्न रहँदै आउनुभएको छ । विगतमा कार्पेट उत्पादनको अनुभव समेट्नुभएका ऊहाँ हाल पश्मिना उद्योगीको रुपमा परिचित हुनुहुन्छ । व्यावसायीहरुको संस्था नेपाल पश्मिना उद्योग संघका अध्यक्ष समेत रहनुभएका थापा नेपालमा पश्मिना व्यवसाय विभिन्न उतारचढाव पार गर्दै पछिल्ला बर्षहरुमा भने राम्रै तवरले अघी बढिरहेको बताउनुहुन्छ । पशुपति क्याम्पसबाट स्नातक तह सम्मको अध्ययन पूरा गर्नुभएका ऊहाँले शुरुका दिनमा कार्पेट फ्याक्ट्रीलाई धागो सप्लाई गर्ने कार्य, आफैं उत्पादन, आफैंले मार्केटिङ र निर्यात लगायतका काम गर्दै व्यावसायिक यात्रालाई अघी बढाउनुभएको हो ।
सन् १९९९ देखि पस्मिना क्षेत्रमा संलग्न हुनुभएका थापा त्यो भन्दा पहिले कार्पेट उत्पादन कार्यमा संलग्न हुनुहुन्थ्यो । क्यानडामा आयोजना भएको एक मेलामा कार्पेट व्यवसायीको रुपमा सहभागि हुनसभएका ऊहाँ कार्पेटको अर्डर काम रहेको तर पश्मिनाको माग राम्रो रहेको पाएसँगै पश्मिना उत्पादन क्षेत्रमा लगानी विस्तार गरेको बताउनुहुन्छ ।
पारिवारिक पृष्ठभूमि र व्यावसायिक अनुभव
विगतमा आफ्नो बुबा कृषि, शिक्षक हुँदै निर्माण व्यवसायमा समेत संलग्न रहनुभएकोबाट दुर्गा विक्रम थापा पनि उत्प्रेरित हुनुभएको थियो । वि.सं २०४० मा अध्ययन अघी बढाउने योजनासाथ काठमाडौं प्रवेश गर्नुभएका थापा काठमाडौंमा विभिन्न तीतामीठा अनुभव समेट्दै शिक्षा र जागिरलाई सँगै अघी बढाउनुभयो । आफूले सिकेको सीपको उपयोग गर्ने क्रममा नै ऊहाँ एक सफल उद्यमी बन्न बन्न सक्नुभएको हो । वि.सं ०४७ देखि आफैं विशेष जोखिमता बीच व्यावसायिक क्षेत्रमा होमिनुभएका थापा निकै सङ्घर्षपूर्ण यात्रा बीच आफूलाई अघी बढाइ नै रहनुभयो ।
कार्पेट व्यवसाय
शुरुका दिनमा नेपाली कार्पेटको माग विश्वबजारमा नै राम्रो रहेपनि पछि भने कम गुणस्तरको कार्पेट समेत निर्यात हुन थालेपछि नेपाली कार्पेटको बजार विस्तारै घट्दै गयो । ०५०÷५२ तिर ३६ लाख वर्गमिटर भएको कार्पेट केही समयमा नै ३२ लाखमा झ¥यो । आफैंले करिब १ सय ५० व्यक्तिहरुलाई रोजगारी दिनुभएका थापाको व्यवसायमा पनि कमी भयो । कामदारहरुको सङ्ख्या घटाउनुप¥यो । पछि थापा पस्मिना क्षेत्रमा लगानी विस्तार गर्नुभयो । साथै थापाले युके, जर्मनी, अमेरिका लगायतमा समेत आफ्नो व्यवसाय विस्तार गर्नुभयो ।
व्यवसाय परिवर्तन बारे बताउँदै थापाले भन्नुभयो, ‘नेपालमा उत्पादित कार्पेटको विश्वव्यापी बजार खस्कँदै गएको अवस्थामा मैले पश्मिनाको क्षेत्रमा लगानी विस्तार गरेको हुँ । कार्पेट र पश्मिना उद्योग धेरै हिसाबले एउटै प्रकृतिका भएका हुनाले पश्मिना उद्योग सञ्चालन गर्न खासै गाह्रो भएन ।’
शुरुमा दिनमा व्यवसाय र आर्थिक स्रोतको व्यवस्थापन
सानो पुँजीबाट व्यवसाय शुरु गर्नुभएका थापा काठमाडौंका एक जना साथीसँगको व्यावसायिक साझेदारीमा व्यवसाय शुरु गर्नुभएको हो । आफूले ५० हजार रकम व्यवस्थापन गरी साझेदार मित्रको घरलाई धितो राखी कर्जा लिएर आफूले व्यवसाय शुरु गरेको अनुभव सुनाउनुहुन्छ ।
शुरुका दिनमा मासिक ३ सय मिटर उत्पादनबाट शुरु गरेको कार्पेट मासिक २५ सय मिटर सम्म फैलाउन थापा सफल हुनुभयो । कार्पेट व्यवसाय २०५३ सम्म राम्रै थियो । तर पछि कारोबार घट्दै गएको अवस्थामा नेपालमा यस क्षेत्रमा रहेर काम गरिरहेका अन्य साथीहरु अमेरिका लगायतमा पलायन समेत भए । तरपनि थापा आफू भने नेपालमा नै रहेर काम गर्नुपर्छ भन्ने मान्यतामा दृढ रहनुभयो ।
बाह्य परिस्थितिको प्रभाव
नेपालमा आफूले व्यवसाय विस्तार गर्ने क्रममा अधिकांश समय प्र्रतिकूलता बीच नै काम गर्नुपरेको थापा बताउनुहुन्छ । २०४६ को जनआन्दोलन पश्चात् बनेको नीति नेपाली उद्योगीहरुलाई लक्षित गरेर ल्याइएको राम्रो नीति भएपनि त्यसपछिको मध्यावधि निर्वाचन, जनयुद्ध, कामदार आन्दोलन लगायतका अन्य अवस्था भने उद्योगी व्यवसायिक दृष्टिकोणले प्रतिकूल परिस्थिति बन्न पुगे ।
संस्थागत यात्रा
निरन्तर रुपमा पश्मिनाको रुपमा काम गर्दै अघी बढिरहँदा व्यावसायिक संस्थाको आवश्यकता महसुस गरेर नेपाल पश्मिना उद्योग संघको स्थापना गरिएको हो । उक्त संघमा संस्थापक सचिव, महासचिव, उपाध्यक्ष हुँदै हाल थापा अध्यक्षको भूमिका निर्वाह गरिरहनुभएको छ ।
नेपाल पश्मिना उद्योग संघको आवश्यकता
यो संघको परिकल्पना सन् १९९९ मा गरिएको हो । नेपालमा पस्मिना राम्रो क्षेत्रको रुपमा विस्तार हुँदै गएको अवस्थामा यस संस्थाको स्थापना भएको हो । शुरुमा राम बहादुर गुरुङको अध्यक्षतामा सन् २००० मा यस संघको स्थापना भयो । १ सय ३५ उद्योग सदस्य रही स्थापना भएको यस संस्थाले व्यावसायिक हक, हित र राज्य पक्षसँग यस क्षेत्रका कुराहरु पुर्याउने लगायतका काममा प्रभावकारी तवरले काम गरिरहेको छ ।
पस्मिना क्षेत्रको अहिलेको अवस्था
हाल पस्मिना उत्पादन क्षेत्रमा काम गर्ने उद्योगहरु करिब १ सय ५० को हाराहारीमा छन् । साथै पस्मिना व्यवसायीहरु करिब ४ सय ५० को हाराहारीमा छन् । यस क्षेत्रमा करिब १० अर्ब रकम लगानी भएको छ । बार्षिक ८ देखि १० अर्ब उत्पादन हुँदै आएको छ भने बार्षिक साढे २ देखि ३ अर्बको हाराहारीमा निर्यात समेत हुँदै आएको छ ।
व्यावसायिक क्षेत्रमा आएका उतारचढावहरु
सन् २००० मा करिब १० अर्बको निर्यात भएको पस्मिना सन् २००१ मा आइपुग्दा भने १ बर्षमा नै १ अर्बको हाराहारीमा झर्यो । उसो त सन् २००० को वृद्धि समेत स्वभाविक थिएन । पस्मिनाको सल बेलायतकी महारानीले प्रयोग गरेसँगै अन्य चर्चित हलिउडका स्टारहरुले समेत यसको प्रयोग गरेको कारण उक्त कारोबार बढेको हो । तर त्यतिबेला बढेको कारोबार अवस्थामा समेत व्यवसायीहरुले जुन रुपमा गुणस्तरीयता कायममा ध्यान दिनुपर्थ्याे, त्यसमा कमजोरी हुनु व्यवसायीहरुको तर्फबाट भएको कमजोरी हो । यसैगरी सन् २००१ मा ट्विन टावरमा भएको आक्रमणले समेत नेपाली पस्मिनाको अन्तराष्ट्रिय बजार घटायो । त्यस पश्चात् भने नेपाली पश्मिना पुःन बार्षिक १ अर्बबाट वृद्धि हुँदै अहिले ६ अर्बमा पुग्न सफल छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij