२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

रक्षामन्त्री पोखरेल भन्छन्, जेष्ठ नागरिकको भत्ता बढ्छ

रक्षामन्त्री पोखरेल भन्छन्, जेष्ठ नागरिकको भत्ता बढ्छ

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताउनुभएको छ । आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक रु पाँच हजार पु¥याइने जानकारी दिनुभयो ।

“ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमा समेत गरिएको छ”, उहाँले भन्नुभयो, “सामाजिक सुरक्षाभत्ता सरकारले घटाउँदै छ भनेर गलत प्रचारबाजी गरिएको छ ।” उहाँले वर्तमान सरकार कानून र विशेष नीति निर्माणमा लागेको बताउँदै चालु वर्षमा समृद्धिको तस्बीर खडा गर्न सरकार लागि परेको धारणा राख्नुभयो ।

“हिजोका दिनमा सरकार मात्रै फेरिन्थ्यो”, मन्त्री पोखरेलले भन्नुभयो, “अहिले प्रणाली फेरिएको छ ।” उहाँले कृषि, जलस्रोत, उद्योग स्थापना र पर्यटनको विकास नै समृद्धिको मुख्य आधार भएको बताउनुभयो । “जनप्रतिनिधिले जनताको मन बुझेर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “जनताको निगरानीमा रहेर काम गर्नुपर्ने बेला आएको छ ।” कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र र दैजी–जोगबुढा सडक निर्माणका विषयमा आफूले पहल गर्ने उहाँले वचनसमेत दिनुभएको छ ।

भू–उपयोग नीति बदल्न आवश्यक रहेको बताउँदै उहाँले अधिकार स्थानीय तहसम्म आइसकेकाले हरेक विषयमा केन्द्रसित मुख ताक्नुभन्दा पनि अहिले पाएको अधिकार बमोजिम काम गर्न जोड दिनुभयो ।

नगरसभासँगै मन्त्री पोखरेलले नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्नुभयो । सोही कार्यक्रममा कञ्चनपुरका स्व पत्रकार कर्ण बोहराको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कारबाट यहाँस्थित अपि टुडे दैनिकका सम्पादक सुरेश धामीलाई सम्मान गरिएको छ ।

त्यसैगरी केही दिनअघि सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा कुस्तीतर्फ स्वर्ण पदक विजेता वेदकोटकै स्थानीय मनिषा सिंहलाई पनि नगदसहित सम्मान गरिएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij