
नेपाल इन्जिनियर्स एसोसिएसनको यस पटकको निर्वाचनमा नम्बर प्रदेशको सभापतिको रुपमा उम्मेदवारी दिनुभएको छ, यो निर्वाचनमा तपाईंले किन उम्मेदवारी दिनुभयो ?
नेपाल इन्जिनियर्स एसोसिएसन नेपाल भित्र र बाहिर रहेका आम इन्जिनियरहरुको हक, हित र अधिकारको निम्ति काम गर्ने संस्था हो । नेपालमा र नेपाल बाहिर रहेका इन्जिनियरहरुको लागि आवाज उठाउने, उनीहरुको क्षमता अभिवृद्धि लगायतको निम्ति मैले पनि लामो समय देखि काम गर्दै आएको छु । नेपाल अहिले संघीयतामा गइसकेको अवस्थामा एसोसिएसनको नेतृत्व सक्षम र जागरुक युवा वर्गले लिनुपर्ने आवश्यकता महसुस भएको कारण ३ नम्बर प्रदेशबाट सभापति पदको निम्ति मैले उम्मेदवारी दिएको छु ।
नेपाल इन्जिनियर्स एसोसिएसन अन्तरगत प्रदेशिक तवरबाट गर्र्नुपर्ने कामहरु के–के छन् ?
संघीयता हाम्रो पहिलो अभ्यास भएको कारण हामीले सबै प्रदेशमा यसका आधारहरु तयार गर्नुपर्ने आवश्यकता छ । अघिल्ला कार्यकालका अग्रणी व्यक्तिहरुको पहलबाट हासिल भएका उपलब्धिको रक्षा, नयाँ योजनाहरुको निम्ति पहल, इन्जिनियरिङ जनशक्तिको व्यवस्थापन लगायतका कुराहरुमा हामीले विशेष पहल गर्नुपर्ने आवश्यकता पनि छ ।
नेपालबाट प्रत्येक बर्ष करिब ५ हजार इन्जिनियरहरु उत्पादन हुने हाम्रो अनुमानित तथ्यांक छ । यसको व्यवस्थापन समेत निकै नै चुनौतीपूर्ण रहेको छ । यसको व्यवस्थापन गर्ने कार्य, सरकारी सेवामा रहेका इन्जिनियरहरुको अवस्थामा सुधार ल्याउने कार्य लगायतका कामहरु हामीले गर्नुपर्ने अवस्था छ । नेपालका इन्जिनियरहरु कमजोर छैनन् । साथै अब आफ्नो क्षमताको आधारमा इन्जिनियरहरुले स्थानीय तहमा नेतृत्व गर्नको निम्ति पहल गर्नुपर्ने आवश्यकतालाई समेत अबको नेतृत्वले उठाउनु जरुरी छ ।
कतिपय अवस्थामा कुनै काममा कमजोरी भए त्यसको दोष इन्जिनियरलाई नै दिइने गरेको पाइन्छ । समाजमा यसरी इन्जिनियर प्रति राखिने गलत दृष्टिकोणलाई अन्त्य गर्न र इन्जिनियरहरुको गरिमा कायम राख्नको निम्ति पनि हामीले पहल गर्नुपर्ने आवश्यकता छ ।
यस पटकको चुनाव विगत भन्दा केही फरक तवरले सञ्चालन हुन्छ कि ?
विगतमा इन्जिनियरिङ एसोसिएसन विभिन्न क्षेत्रका च्याप्टरहरुबाट मात्र सञ्चालन हुने गरे
कोमा अहिले सबै जिल्ला र स्थानीय तहमा समेत हाम्रा गतिविधिहरु सञ्चालन भइरहेका छन् । यद्यपि प्रचारप्रसार अभियानमा हाम्रो मुख्य ध्यान भनेको काठमाडौं केन्द्रित नै छ ।
तपार्इंंको इन्जिनियरिङ क्षेत्रको समग्र अनुभव र योगदान बारे प्रष्ट्याइदिनुहोस् न ?
म वि.सं २०५७ मा इन्जिनियरिङ अध्ययन पश्चात् एसोसिएसनमा जोडिएर यसमा विभिन्न रचनात्मक भूमीकाहरु निर्वाह गर्दै आएको छु । एसोसिएसनका विभिन्न कमिटीहरुमा रहेर मैले काम गरेको छु । पछिल्लो समय मैले टेक्निकल कमिटीको सहअध्यक्ष भएर समेत काम गरेको छु । मेरो समेत नेतृत्व रहेको यस समितिले रिसर्च जर्नल प्रकाशन तथा विभिन्न प्राविधिक खोज कार्यहरु गर्दै आएको छ ।
वि.सं २०७२ को भूकम्प पश्चात् जनतामा देखिएको त्रासलाई कमी गर्नको निम्ति पनि मेरो भूमीका निकै महत्वपूर्ण रहेको थियो । तत्कालिन एसोसिएसनका अध्यक्ष धु्रवराज थापा लगायत पूर्ण समितिसँग छलफल गरेर हामीले ‘¥यापिड भिजुअल ड्यामेज एसेसटेन्ट’को नाममा एउटा अभियान चलायौं । यस कार्यक्रम अन्तरगत करिब ३५ सय इन्जिनियरहरुलाई सेवामा खटाएर भूकम्पको प्रभावमा परेको घर बस्नको निम्ति योग्य छ कि छैन भन्ने सम्बन्धी तालिम दिएर सोहीबमोजिम ऊहाँहरुलाई हामीले काममा खटायौं । घरघरमा गई जनताहरुलाई बस्न मिल्ने घरमा बस्ने र बस्न नमिल्ने घरबाट उनीहरुलाई बाहिर निकाल्ने काम हामीले ग¥यौं । यसबाट जनतामा निकै ठूलो राहत महसुस हुन गयो । यसको नेतृत्व पनि मैले नै गरेको हुँ । त्यसैगरी मुलुक पुनर्निर्माणमा जाने समयमा इन्जिनियरहरुलाई पुननिर्माण सम्बन्धी तालिम दिने कार्यको निम्ति संयोजकको रुपमा काम गरेको छु । करिब १३ सय इन्जिनियरहरुले उक्त तालिम लिनुभयो । अहिले तिनै इन्जिनियरहरु मुलुकको विकासको निम्ति निरन्तर खटिइरहनुभएको छ ।
संक्षिप्तमा तपाईं आफूलाई कसरी परिचित गराउन चाहनुहुन्छ ?
म इन्जिनियर सुवास चन्द्र बराल हुँ । अहिलेको निर्वाचनमा ३ नम्बर प्रदेशबाट सभापतिको लागि उम्मेदवारी दिएको छु । मैले वि.सं २०५७ मा सिभिल इन्जिनियरिङमा स्नातक र २०६५ मा स्नातकोत्तर तहको अध्ययन पूरा गरेको हुँ । हाल म खासगरी जलविद्युत क्षेत्रमा परामर्शदाताको रुपमा काम गरिरहेको छु । म टेक्नोलाेजी कन्सल्ट नामक कम्पनीमा आवद्ध रही यो क्षेत्रमा कार्यरत छु ।
अन्त्यमा के भन्नुहुन्छ ?
करिब १८ बर्ष इन्जिनियरिङ क्षेत्रमा खटिने क्रममा मैले यस क्षेत्रलाई नजिकबाट बुझेको छु । मैले युवाहरुको क्षमता अभिवृद्धि, स्वरोजगारमूलक कार्य, रोजगारी सृजना लगायतको निम्ति काम गरिरहेको छु र आगामी दिनमा यि कामहरुलाई ठूलो समूहले लाभ लिन सक्ने गरी गर्न सकुँ भन्ने मेरो चाहना छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij