२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

अगरबत्तीको बट्टामा लागूऔषध !

अगरबत्तीको बट्टामा लागूऔषध !

काठमाडौं । पछिल्लो समय लागूऔषध कारोबारमा संलग्नहरुले तस्करीका लागि विभिन्न शैली अपनाउने गरेका छन् । प्रहरीको सक्रियतासँगै उनीहरुले तस्करीका लागि नयाँ नयाँ शैली प्रयोग गर्न थालेका हुन् । महानगरीय प्रहरी वृत्त, बानेश्वरले नयाँ शैलीबाट लागूऔषध कारोबार गर्दागर्दै मंगलबार ४ जनालाई पक्राउ गरेको छ । अगरबत्तीको बट्टाभित्र शिलबन्दी गरेर ल्याइएको लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्दराज काफ्लेका अनुसार पक्राउ पर्नेमा बुटवल घर भइ काँडाघारी बस्दै आएका २३ वर्षीय साजन खरेल, काभ्रे घर भइ कोठ्ठाटार बस्दै आएका ३३ वर्षीय सुनिल शिवभक्ति, संखुवासभा घर भइ काँडाघारी बस्दै आएका २१ वर्षीय विजय राई र रामेछाप घर भइ काँडाघारी बस्दै आएका १९ वर्षीय धिरज राई छन् । उनीहरुको साथबाट अगरबत्तीको प्याकेटमा शिलबन्दी गरिएको अवस्थामा ४८० पिस नाइट्राभेट बरामद भएको काफ्लेले बताए । उनका अनुसार खरेलले बुटबलबाट त्यो लागूऔषध ल्याएका थिए । अन्य ३ जना भने स्थानीय विक्रेता एवं प्रयोगकर्ता भएको प्रहरीको भनाइ छ ।

‘उनीहरुले १ सय ६० रुपैयाँमा किनेर ल्याएर २ सयदेखि ३ सय रुपैयाँसम्ममा विक्री गर्ने गरेको खुलेको छ’, काफ्लेले अनलाइनखबरसँग भने, ‘उनीहरुमाथि अनुसन्धानका लागि बुधबार जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान सुरु हुनेछ ।’

यसैबीच, बानेश्वर प्रहरीले दुई पत्ता नाइट्राभेटसहित २० वर्षीय शंकर रोक्कालाई पनि पक्राउ गरेको छ । काँडाघारीबाट पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij