काठमाडौंमा एक प्रतिष्ठित व्यावसायिक परिवारमा जन्मिएका सुनिल शाक्य पर्यटन उद्यमी तथा समाजसेवी कर्ण शाक्यका छोरा हुन् । नेपालको पर्यटन, होटल तथा हवाई व्यवसायमा सुनिलको नाम निकै चर्चामा समेत छ । युवा उद्यमीको रुपमा पहिचान बनाएका उनले देशविदेशमा अध्ययन, भ्रमण, तालिम तथा अन्य विभिन्न माध्यमबाट पर्यटन क्षेत्रमा निकै राम्रो ज्ञान हासिल गरेका छन् । एभिएसन र टुरिज्मको क्षेत्रमा करिब ३ दशक बिताइसकेका उनी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)का अध्यक्ष समेत हुन् । नयाँ सोच र योजनाका साथ काम गर्ने हो भने अवश्य सफल हुन सकिन्छ भन्ने मान्यता बमोजिम अघी बढिरहेका सुनिल उद्यमशिलतामा आउन चाहने नयाँ युवा पुस्ताको निम्ति प्रेरणाको स्रोत समेत बनेका छन् । हाल उनी होटल एसोसिएसन नेपाल (हान), नेपाल युएसए चेम्वर्स अफ कमर्स अध्यक्ष, पाट्टाकोे अध्यक्ष लगायतका थुप्रै संंस्थाहरुमा विभिन्न भूमीकामा रही जिम्मेवारी निर्वाह गर्दै आएका छन् । नेपालको पर्यटन क्षेत्रमा शाक्यले पुर्याएको योगदान निकै महत्वपूर्ण छ । नेपालमा पर्यटन क्षेत्रलाई नयाँ गतिको साथ अघी बढाउनुमा शाक्यको महत्वपूर्ण भूमीका छ ।

नेपालमा मात्र नभई शाक्यले विभिन्न अन्तर्राष्ट्रिय मुलुकहरुबाट समेत महत्वपूर्ण अनुभव समेटेका छन् । ती देशहरुको पर्यटन गतिविधि, त्यहाँको पर्यटन पूर्वाधार, राज्यका नीतिहरु, उद्यमीको दायित्व, राज्यको भूमीका लगायतका विषयवस्तुहरुमा समेत उनले गहन अध्ययन गरेका छन् । नेपालको पर्यटन क्षेत्रमा समेत ३५ बर्ष भन्दा लामो समय बिताइसकेका छन् । शाक्य संलग्न काठमाडौं गेष्ट हाउस (केजिएच ग्रुप) अन्तरर्गत हाल काठमाडौंमा ३ ओटा, पोखरामा २ ओटा, चितवन र लुम्बिनीमा १–१ वटा होटलहरु सञ्चालनमा रहेका छन् ।
परिस्थितिले साथ दिए आगामी दिनमा आफूहरु होटल, रिसोर्ट तथा पर्यटन र पूर्वाधारसँग सम्बन्धित अन्य क्षेत्रमा समेत लगानी विस्तार गर्ने सोचमा रहेको राष्ट्रिय आर्थिक मासिकसँगको कुराकानीको क्रममा शाक्यले बताए । उनले भने, ‘हामीले सञ्चालन गरेको काठमाडौं गेष्ट हाउसले अहिले ५० बर्ष लामो यात्रा पूरा गरिसकेको छ । हामीले निरन्तर रुपमा सेवा विस्तारलाई जोड दिँदै आएका छौं । अबको समय लगानी विस्तारको लागि अनुकुल समेत बनिरहेको छ । हामीले लगानी कुन क्षेत्रमा गर्दा प्रभावकारी हुन सक्छ भन्ने कुरालाई विचार गरेर सोही बमोजिम लगानी विस्तार गर्छौं । सन् २०३० मा नेपालमा २० लाख पर्यटकहरु भित्र्याउने योजना बमोजिम अघी बढिरहँदा हामी व्यवसायीहरु समेत सोही बमोजिम थप दायित्वको साथ अघी बढ्नु जरुरी छ ।’
भूकम्प पश्चात् गति लिँदै पर्यटन व्यवसाय ः
भूकम्प पश्चात् व्यवसायलाई पहिलेको अवस्थामा फर्काउन निकै लामो समय लागेको सुनिल शाक्यको अनुभव छ । उनका अनुसार अब भने पर्यटन व्यवसाय भूकम्प भन्दा पहिलेको अवस्थामा आइसकेको छ । साथै अबका दिनमा यस क्षेत्रको सम्भावना निकै राम्रो रहेको र यो क्षेत्र तीव्रताको साथ अघी बढ्ने समेत शाक्यको तर्क छ । साथै सन् २०२० लाई लक्षित गरी आफुहरुले पोखरा, भैरहवा, निजगढ लगायतमा समेत होटलहरु सञ्चालनमा ल्याइसक्ने बताउँछन् । साथै नेपालमा पुर्वाधार विकास नै पर्यटन प्रवद्र्धनको निम्ति पहिलो सर्त रहेको समेत उनले बताए ।
अबको समय लगानी विस्तारको लागि अनुकुल समेत बनिरहेको छ । हामीले लगानी कुन क्षेत्रमा गर्दा प्रभावकारी हुन सक्छ भन्ने कुरालाई विचार गरेर सोही बमोजिम लगानी विस्तार गर्छौं । सन् २०३० मा नेपालमा २० लाख पर्यटकहरु भित्र्याउने योजना बमोजिम अघी बढिरहँदा हामी व्यवसायीहरु समेत सोही बमोजिम थप दायित्वको साथ अघी बढ्नु जरुरी छ ।
पर्यटन उद्यमीको अबको दायित्व ः
सन् २०२० मा २ मिलियन (२० लाख) विदेशी पर्यटकहरुलाई नेपालमा भित्र्याउनको निम्ति विशेष रणनीतिको साथ पहल भइरहेको छ । यसलाई सफल पार्न पर्यटन तथा होटल उद्यमीहरुको समेत महत्वपूर्ण भूमीका रहने गर्छ । काठमाडौंका होटलहरु त अहिले पनि २० लाख पर्यटकहरुलाई व्यवस्थित तवरले राख्न सक्ने अवस्थामा पुगिसकेका छन् । साथै अहिले नै नेपालमा आउने पर्यटकहरुको सङ्ख्या बार्षिक १० लाख पुगिसकेको छ । यसलाई हेर्दा पनि हामीले लिएको लक्ष्य असम्भव देखिँदैन । सम्भव छ । तर यद्यपि अहिलेका अन्य पूर्वाधारहरुलाई हेर्दा भने त्यो सम्भव हुन सक्दैन । जुन व्यावसायिक क्षेत्रको पहुँच भन्दा बाहिरको कुरा हो । यसमा राज्यको नै चासो रहनुपर्छ ।
यद्यपि नेपालमा पर्यटन क्षेत्रमा पछिल्लो समय निकै नै लोभलाग्दो तवरले लगानी वृद्धि भइरहेको छ । सन् २०१७-०१८ मा नेपालले निकै राम्रो प्रगति गरेको छ । आगामी दिनमा पनि यसलाई कायम राख्दै नेपालमा आउने पर्यटकहरुको सङख्या वृद्धिको साथै उनीहरुलाई उपलब्ध गराउने सेवा–सुविधाको गुणस्तरीयता कायम राख्नका लागि थप जागरुकताको साथ लाग्नुपर्ने अवस्था छ ।
समस्याः दक्ष जनशक्ति
नेपालका अधिकांश युवा जनशक्तिहरु कामको निम्ति विदेशमा गइरहेका छन् । नेपाली श्रमशक्तिहरु विदेशिएको कारण नेपालमा ठूला कामहरु गर्नका लागि समस्या उत्पन्न भएको छ । नेपालमा अहिले जति मात्रामा युवाहरु उत्पादन भइरहेका छन्, उनीहरुलाई नेपालमा नै रोक्नका निम्ति पहल गर्नुपर्ने अवस्था छ ।
विमानस्थल ः
नेपालको पर्यटन क्षेत्रलाई माथि उठाउनका निम्ति हवाई क्षेत्रको विकासमा विशेष जोड दिनु आवश्यक छ । दैनिक अहिले हुने उडान सङ्ख्या निकै कम छ । नेपालका आएका पर्यटकहरुको सुरक्षामा समेत हामीले जुन रुपमा विशेष सजकता अपनाउनुपर्ने हो, त्यो अपनाउन सकेका छैनौं ।
अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको हवाइ मैदान छैन ः
अहिले अन्य थुप्रै देशका हवाइमैदानहरु अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम नै सञ्चालनमा रहेका छन् । तर नेपालमा भने त्यसरी अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम हवाइमैदान सञ्चालन गर्न सकिएको छैन । नेपालको हवाइ सुरक्षा अहिले निकै जोखिमपुर्ण अवस्थामा छ । यसलाई विशेष चासोको साथ लिँदै सोहि बमोजिम हामी अब कसरी अघी बढ्नुपर्ने हो, स्पष्ट खाका तयार गर्नुपर्ने जरुरी छ । अहिले भारतमा मापदण्ड बमोजिमका २० ओटा अन्तर्राष्ट्रिय हवाइमैदानहरु सञ्चालनमा छन् । चीनमा ६० ओटा हवाईमैदानहरु सञ्चालनमा छन् । तर नेपालमा भने एउटा मात्र अन्तर्राष्ट्रिय हवाईमैदान सञ्चालनमा रहेको छ । जसले गर्दा नेपालमा आउने र आउन चाहने पर्यटकहरुको चाप धान्न यो हवाई मैदान धेरैभन्दा धेरै साघुँरो रहेको छ ।
अबको दायित्व ः
नेपालमा अब पर्यटन क्षेत्रलाई द्रुत गतिमा विकास गर्नका लागि एयरपोर्ट, कनेक्टिभिटी लगायतका कुराहरुमा हामीले विशेष ध्यान दिनु जरुरी छ । सम्भावना बोकेका निश्चित क्षेत्रहरुलाई पर्यटकीय हबको रुपमा समेत विकास गर्नपर्ने हुन्छ । यसबाट छिटो पर्यटन विकास गर्न सहयोग हुनेछ ।
चाँडै सञ्चालनमा ल्याउनुपर्छ निर्माणाधिन एयरपोर्टहरु ः
नेपालमा निर्माणको क्रममा रहेका लुम्बिनी र भैरहवा एयरपोर्टलाई जति सक्दो छिटो सञ्चालनमा ल्याउनु जरुरी छ । यसबाट नेपालमा आउने चिनीयाँ पर्यटकहरुको सङ्ख्या वृद्धिमा पनि सहयोग पुग्नेछ । लुम्बिनी क्षेत्र आफैंमा राम्रो सम्भावना बोकेको क्षेत्र हो । उक्त क्षेत्र बौद्ध धर्मका प्रवद्र्धक भगवान गौतम बुद्धको जन्मस्थल हो । त्यस क्षेत्रलाई लक्षित गरेर नेपालको पर्यटन बारे विश्वबजारमा प्रचारप्रसार गर्न आवश्यकता छ । जसरी भ्याटिकन सिटीलाई पर्यटन हब बनाइएको छ, त्यसरी नै लुम्बिनीलाई बुद्धिष्ट हबको रुपमा विकास र प्रचार गर्ने हो भने यसले नेपालमा ठूलो सङ्ख्यामा विदेशी पर्यटकहरुलाई आकर्षित गर्नमा ठूलो सहयोग गर्नेछ ।
साथै नेपाललाई पर्यटकीय दृष्टिकोणले दक्षिण एसियाकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भावना छ । यसो गर्न सकिएमा नेपालमा निकै ठूलो सङ्ख्यामा विदेशी पर्यटकहरु आउन सक्छन् । नेपालको पर्यटन वृद्धिको निम्ति यो कार्य निकै महत्वपूर्ण छ । यस कुरालाई मध्यनजर गर्दै हाम्रा पर्यटकीय गतिविधिहरु अघी बढाउनु जरुरी छ ।
नयाँ गन्तव्यको खोजी ः
काठमाडौंमा अब सेवा विस्तार गर्न सकिने सम्भावना छैन । यस्तो अवस्थामा नेपालका अन्य बाहिरी शहरहरु राम्रो सम्भावनाको रुपमा रहेका छन् । पोखरा पनि पर्यटकीय हिसाबले राम्रो सम्भावनाको रुपमा रहेको क्षेत्र हो । नेपालमा अब लुम्बिनीलाई पनि निकै राम्रो सम्भावनायुक्त क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल, रेल सेवाको सम्भावना बारे अध्ययन, पूर्वपश्चिम राजमार्ग सँगको सिधा पहुँच लगायतको कारण राम्रो सम्भावनाको रुपमा रहेको छ । यसलाई मुलुकको दोस्रो राजधानीको रुपमा विकास गर्नसके मुलुकलाई नयाँ गतिमा विकास गर्न सकिन्छ ।
(प्रस्तुती रामजी बस्नेत)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij