ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई ललितपुर र भक्तपुरका व्यवसायीहरुबाट बधाईं तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
शुभकामना आदानप्रदानको क्रममा नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण व्यक्तिहरुले आफूहरु व्यवसायलाई व्यवस्थित बनाउनको निम्ति निरन्तर लागिपर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
शुक्रवार तिनकुने स्थित सिद्धार्थ कटेजमा भएको एक कार्यक्रम बीच ग्र्रिल तथा स्टिल व्यवसायी संघ ललितपुर र ग्रिल तथा स्टिल व्यवसायी संघ भक्तपुरले एक भव्य समारोह बीच हार्दिक बधाईं तथा शुभकामना कार्यक्रम आयोजना गरेको र उक्त समारोहमा ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष सहित ठूलो सङ्ख्यामा व्यवसायीहरुको उपस्थिति रहेको ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंका नवनिर्वाचित कार्यसमिति सदस्य गोपाल कार्कीले सेतोघर डट कमलाई बताएका छन् ।
ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिले भदौ ९ गते बाट जिम्मेवारी पाएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष यज्ञदास श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र अर्याल, प्रथम उपाध्यक्ष अनिल कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष सुनिल अमात्य, तृतीय उपाध्यक्ष विष्णुभक्त डंगोल, महासचिव राजुलाल श्रेष्ठ, कोषाध्यक्ष विनोद लामा तथा सदस्यहरुमा गोपाल कार्की, प्रमोद ठाकुर, रामबाबु ठाकुर लगायतका व्यक्तिहरु छन् ।
कार्यसमिति २१ जना निर्वाचित र २ जना मनोनित गरी २३ सदस्यीय छ ।
सेतोघर डट कम सँगको संक्षिप्त कुराकानीको क्रममा सदस्य गोपाल कार्कीले नेपालमा ग्रिल व्यवसाय मर्यादित र व्यवस्थित बन्न नसकेको बताउँदै यस क्षेत्रलाई व्यवस्थित, आत्मनिर्भर बनाउनुपर्नेमा आफूहरुको जोड रहने बताएका छन् । कार्कीका अनुसार अहिले यस व्यवसायमा व्यवसायीहरुबीच अस्वस्थ प्रतिष्पर्धा, मूल्यमा एकरुपता कायम हुन नसकेको, दक्ष जनशक्तिको अभाव लगायतका विभिन्न समस्याहरु छन् । 
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij