नागरिक सराेकार समाज तारकेश्वर द्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा विभिन्न शारीरिक समस्याहरुको स्वास्थ्य जाँच तथा निःशुल्क औषधी वितरण समेत गरिएको थियो ।
शनिवार तारकेश्वरको सिमाना नजिकै पर्ने नयाँबसपार्कबाट मनमैजु जोडिने पुल सँगैको गुम्बा प्राङ्गणमा आयोजना गरिएको उक्त स्वास्थ्य शिविरबाट स्थानीय बासिन्दाहरुले लाभ लिएका छन् । कार्यक्रममा १ सय १५ जना व्यक्तिहरुले लाभ लिएको नागरिक सरोकार समाजका महासचिव दिवाकर पौडेलले बताउनुभयो ।
कतिपय अवस्थामा मानिसहरु सामान्य चेकजाँचको लागि पनि ठूलो रकम खर्च गर्न बाध्य हुनुपर्ने अवस्था रहेको तथा कतिपय अवस्थामा रोगलाई सामान्य मान्दै बेवास्ता गर्दा निकै ठूलो जोखिम व्यहोर्नुपर्ने अवस्थालाई चित्रण गर्दै यस्तो अवस्थाबाट बच्न यस्ता शिविरहरुले ठूलो सहयोग गर्ने महासचिव पौडेलको धारणा छ ।
विगत लामो समय देखि यस संस्थाले सामाजिक क्षेत्रमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । विगतमा जनचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गरि ठूलो सङ्ख्यामा मानिसहरुलाई जागरुक बनाएको यस संस्थाले स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुग्न सक्नुपर्छ भन्ने मान्यताले स्वास्थ्य शिविर सञ्चालन गरेको र यसलाई आगामी दिनमा स्वास्थ्य सेवा पहुँच र आवश्यकता हेरी अन्य क्षेत्रमा समेत कार्यक्रम सञ्चालन गर्ने योजनामा आफूहरु रहेको समेत महासचिव पौडेलले बताउनुभयो ।
संस्थाका अध्यक्ष चन्द्रमणी अधिकारी आफूहरुले विशुद्ध सामाजिक गतिविधिहरुमा पाइला चालिरहेको बताउँदै यसको निम्ति सहयोग गर्न सम्पूर्ण सरोकारवाला निकायहरुसँग आग्रह गर्नुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij