काठमाडौं–गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा कुनै पनि कमी आउन नदिने दावी गरिरहेका बेला राजधानीमा एकैदिन दुई जनाको हत्या भएको छ । गृहमन्त्री थापाले शान्ति सुरक्षामा कडाई गरिएको दाबी गरिरहँदा मंगलबार राती सिंहदरवार नजिकै एक युवती र एक युवाको हत्या भएको हो ।
बुधबार बिहान ६ बजे प्रहरीले काठमाडौं र ललितपुर जोड्ने टेकुको कालो पुलमुनी एक युवतीको शव फेला पार्यो । अन्दाजी २५ वर्षकी मंगोलियन युवतीको शव प्रहरीले टेकुको कालोपुल मुनीबाट बरामद गर्यो ।
अन्दाजी ५ फिट ३ इञ्च उचाईकी युवतीले खरानी रंगको हाफ सर्ट र कालो रंगको पाइण्ट लगाएकी छिन् । युवतीको बायाँ हातको नाडीमा निलो मसीले आईएलयु लेखिएको छ । युवतीको निधार र टाउकोमा चोट लागेको छ । शवको प्रकृति हेर्दा हत्या गरेर बागमती नदि किनारमा फालेको सहजै बुझ्न सकिन्छ ।

बुधबार बिहानै प्रहरीले गोकर्णेश्वरको अत्तरखेलबाट पनि एउटा शव बरामद गरेको छ । अन्दाजी ३२ वर्षका एक पुरुषको शव प्रहरीले अत्तरखेलस्थित बागमती नदि किनारबाट बरामद गरेको हो । शवको प्रकृति हेर्दा युवकको हत्या भएको बुझ्न सकिन्छ ।
अन्दाजी ५ फिट ३ इञ्च उचाई भएका पुरुषको टाउकोबाट रगत बगेको छ । घटनास्थलमा फलामको पाइपसमेत भेटिएकाले त्यही पाइपले हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । पातलो शरीर, लामो कपाल, जुंगा र दाह्री पालेका युवाको शव नाङ्गो अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij