भक्तपुर । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य, भक्तपुर २ का प्रतिनिधिसभा सदस्य तथा युवा नेता महेश बस्नेतको प्रमुख आतिथ्यतामा भक्तपुरको अरनिको राजमार्ग स्थित एक पार्टी प्यालेसमा एक बृहत कार्यक्रम सम्पन भएको छ ।
प्रस्तावित सूर्यविनायक–धुलिखेल सडक खण्डको स्तरोन्नती तथा विस्तार कार्यको वातावरणीय मूल्याकंन (EIA) सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बस्नेतले सूर्यविनायक–धुलिखेल सडक खण्डको स्तरोन्नतीले समग्र भक्तपुर र काभ्रे का जनताको मात्र नभई पुर्वी क्षेत्रको विकासमा महत्वपुर्ण भूमीका खेल्ने बताएका छन ।

उक्त सडक खण्ड देशकै ठूलो यातायातको भार वहन गर्ने सडक भएको तर अहिलेको सडकले बढदो सवारी भार थेग्न नसकेको कारण कारण उक्त सडकको स्तरोन्नति आवश्यक रहेको बताएका हुन् ।
केही दिन अघि मात्र जगातेमा भएको सडक दुर्घटनामा परि तीन जनाले अल्पायुमा ज्यान गुमाउनु परेको पीडालाई सम्झँदै बस्नेतले आगामी दिनमा यस्ता दुखद घटनाबाट बच्नकै लागि पनि भक्तपुर र धुलिखेल क्षेत्रका सक्षम जनताहरुको बलियो समूह बनाई दुर्घटना न्युनीकरणको निम्ति पहल गर्नुपर्ने कुरामा समेत जोड दिएका छन् ।
आफु विकास र जनताको समृद्धिको निम्ति अहोरात्र खटिँदै आएको उनी बताउँछन् । बस्नेतले भने, ‘म भक्तपुरका जनताका लागि अहोरात्र खटिइरहेको छु, विकासका गुरुयोजनाहरु निर्माण गरिरहेको छु, हिजो नेपाली कांग्रेस र नेमकिपाका नेताहरुले नगरेका कामहरुमा नयाँ योजनाको साथ ती कामहरु अघी बढाइरहेको छु ।’
उनी जनताहरु प्रति प्रश्न गर्छन्, ‘अब तपाइहरु भन्नुस् मैले के गर्नुछ ?’
उक्त सडकनिर्माण हुँदा अतिक्रमण हुने जग्गा, घर र रुखहरुको क्षति मुल्याङ्कन तथा व्यवस्थापनको लागि भक्तपुरका प्रमुख जिल्ला अधिकारीकै प्रमुख संयोजकत्वमा एउटा बलियो टिम बनाउने र समस्याको समाधानको निम्ति तत्काल नै काम थालनी गर्ने समेत बस्नेतले बताए ।
उक्त कार्यक्रममा बस्नेतले विकास निर्माणका कुरा गरिरहँदा कार्यक्रममा आएका विभिन्न पार्टीका ४०० भन्दा बढी नेता, कार्यकर्ता, संघसंस्था प्रतिनिधि तथा स्थानीय र सरोकारवालाहरुले नेता बस्नेतको गडगड ताली बजाएर खुसीयाली व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमको आयोजना फुल ब्राइट कन्सल्टेन्सीले गरेको थियो

सीपमूलक महिलाहरु खुशी
नागरिक सुनुवाई कार्यक्रम सकिएपछि दिउँसो नेता बस्नेत केही कार्यकर्ता सहित भक्तपुरमा रहेका महिलाहरुको एउटा समुहले आयोजना गरेको सीपमुलक कार्यक्रममा पुगेका थिए । सीपमुलक कार्यक्रम संचालन गरेको ठाउँमा सिपाटोल, जगाते र सूर्यविनायक लगायतका ठाउँहरुबाट दिदीबहिनीहरु उपस्थित थिए ।
महिलाहरुले सीप सिक्दै गरेको ठाऊँमा उनीहरुको सीपलाई सम्मान गर्नुपर्ने समेत नेता बस्नेतले बताए ।
सीपमुलक तालिममा साडीमा बुट्टा हाल्ने, कुर्तामा बुट्टा राख्ने, पछयौरामा बुट्टा राख्ने, सलमा बुट्टा हाल्ने लगायतका सीपमूलक तालिमहरु संचालन गरिएको थियो ।
भोलीका दिनमा समग्र भक्तपुरका लागि मात्र नभएर देश विकासका लागि समेत यस्ता कार्यक्रमहरु अपरिहार्य रहेकोमा जोड दिँदै उनले आफूले जहिले पनि श्रम र सीपको सम्मान गर्ने कुरा दिदीबहिनीहरुको बिचमा व्यक्त गरेका छन् । महिला उद्यमी दिदीबहिनीहरुका लागि लक्षित गरी बजेटमा समेत बिना झन्झट उपलब्ध गराइएको ५ प्रतिशत व्याजदर र ७,००,००० सम्मको रकम बैंक मार्फत लिन सकिने व्यवस्था पनि नेपालमा काम गर्न चाहनेहरुलाई लक्षित गरी ल्याइएको समेत बस्नेतले बताए । आफ्नो फार्म वा उद्योग देखाएर सजिलै कर्जा लिन सकिने समेत पूर्व उद्योग मन्त्री बस्नेतले जानकारी दिएका छन् । बस्नेतको कुरा र जनताप्रतिको सहानुभूती सुनेर ती दिदीबहिनीहरु अत्यन्तै खुशी व्यक्त भएर बस्नेतको टोलीलाई खादाले स्वागत र सत्कार गरेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij