माओवादी शशस्त्र युद्धको क्रममा शरीरमा लागेको गोलि अहिलेसम्म बोकेर हिंडेकी एक पूर्व छापामारले उपचारको लागि सहयोगको याचना गरेकी छिन् । ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभीरमा जन्मिएकी अनुपा राईले १५ बर्ष अघि लागेको गोलि अहिलेसम्म पनि शरीरमै बोकेर हिंडेकी हुन् ।
युद्धकालमै पाँचथर हिलिहाङ गाउँपालिका–७, सुभाङका तत्कालीन छापामार मन कुमार राई सँग पार्टीभित्रै बिवाह गरेकी अनुपा अहिले पाँचथर सुभाङमै बस्छिन् । उनका श्रीमान चार बर्ष यता मलेशियामा वोल्डिङको काम गर्छन् । अनुपालाई २४ बैशाख २०५९ मा भोजपुरको चैनपुर युद्धमा गोलि लागेको थियो । उनको टाउँको र देब्रे छातिमा छर्रा छ । जसले अहिले धेरै पीडा दिन थालेको छ । ‘यसैको कारणले होला खुट्टा निदाउँछ, चलाउँनै गाह्रो हुन्छ’ फिदिममा पत्रकारहरु सँग कुराकानी गर्दै अनुपाले भनिन् ।
२०५७ सलामा ओखलढुंगाको कुइभीर माविमा नौ कक्षा पढ्दा पढ्दै युद्धमा होमिएकी थिइन् अनुपा । जतिबेला उनी १५ वर्षकी थिइन् । ‘स्कुलमा भएको एक कार्यक्रममा गरीब, दुःखीको मुक्ति हुन्छ भन्ने नेताहरुको भाषणबाट प्रभावित भएर एकैपल्ट १५ जना युद्धमा लागेका थियौं’ उनले भनिन् । २०६३ सालमा छोरा जन्मेपछि पार्टीको शैन्य फाँट छोडेकी अनुपाले आफ्नो छापामार जीवनकलामा पाँच वटा युद्ध लडिन् ।

१० मंसीर २०५८ मा सोलुखुम्बु, २२ माघ २०८५ मा काभ्रेको भकुण्डे आक्रमणमा अनुपाले बीरतापूर्वक लडिन् । २४ बैशाख २०५९ मा भोजपुरको चैनपुर आक्रमणमा गम्भिर घाइते भइन् । तर पनि युद्धबाट फर्किने मन बनाइनन् अनुपाले । घाइेते भएपछि पनि २२ भदौ २०५९ मा सिन्धुलीको भिमान र १० कार्तिक २०५९ मा ओखलढुंगाको रुम्जाटर आक्रमण उनले लडेको अन्तिम युद्ध हो । ‘रणसंग्रामबाट नयाँ जीवन पाएर फर्केकि थिएँ’ आफू घाइते भएको चैनपुर आक्रमणलाई स्मरण गर्दै अनुपाले भनिन् ‘साथीहरुले म मरेको रिपोर्ट कमान्डरकहाँ पुर्याएछन्, त्यसपछि पार्टीले मलाई सहिद घोषणा गरेछ ।’ गोलि लागेर बेहोस भएकी उनी छ दिन जंगलमै बसेर पार्टीको सम्पर्कमा पुगेकि थिइन् ।
उनी सहिद भएको खबर घरसम्म पनि पुग्यो । तर काजकिरिया चाँही गरिएनछ घरमा । माओवादी शान्ति प्रक्रियामा आएपछि अनुपा उपचारका लागि काठमाण्डौको लाइफ केयर अस्पताल सम्म पुगिन । तर छर्रा निकाल्न सकिएन । द्धन्द पीडितलाई पैशा दिन्छन् अरे भन्ने सुनेर फिदिम स्थित पार्टी कार्यालय आएर फारम पनि भरिन् । तर अहिलेसम्म कहीं कतैबाट पनि क्षतिपूर्ति नपाएको उनले बताइन् । आफ्नो उपचारका लागि कहाँ पुग्नुपर्छ, कति खर्च लाग्छ त्यो पनि आफूलाई थाहा नपाएको उनको भनाई छ । अहिले टाउको र छातिमा रहेको छर्राका कारण दिनदिनै आफूलाई गाह्रो हुँदै गएको अनुपा बताउँछिन् । पार्टीले आफ्नो उपचार गरिदिन्छ भन्नेमा उनी अझै आशावादी छिन् । ‘हाम्रै कारणले मुलुकमा यति सम्म परिवर्तन भयो, फेरि पनि पार्टी सत्तामा पुगेको छ, म र म जस्ता अन्य युद्धमा पीडित भएकालाई पार्टीले हेर्नुपर्छ’ अनुपाले पत्रकारहरु सँग भनिन् ‘मेरो कुरा तपाईहरु मार्फत पार्टीका ठूला नेता सम्म पुग्छ भन्ने विश्वास छ ।’
माओवादी केन्द्रका हिलिहाङ गाउँपालिका इन्चार्ज रबिन तिम्सिनाले भने सुरुमा पार्टीले द्धन्द पीडितको विवरण संकलन गर्ने क्रममा अनुपाको नाम छुटेकाले राज्य पक्षबाट कुनै किसिमको सहयोग जुटाउँन नसकिएको बताए । तर अनुपाको उपचार जसरी पनि हुनुपर्छ भनेर लागिरहेको उनको भनाई छ । अनुपाका १२ बर्षिय छोरा अहिले फिदिम स्थित नयाँ नमुना मावि कक्षा–७, पढ्दैछन् भने उनी सुभाङमै सासुआमा सँग बस्दै आएकी छिन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij