‘दारी बा’का नामले चर्चित हास्यकलाकार सुरवीर पण्डितले भरियाको भूमिका निर्वाह गरेका छन् ।
झरना संगीतले हालै उनको मर्मस्पर्शी अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरेका हो । मूलतः भारी बोक्ने वृद्ध उमेरका भरियाहरुका दुःखपीडा झल्काउने आशयका साथ उक्त सन्देशमूलक भिडियो तयार गरिएको धारणा कलाकार पण्डित र निर्देशक भुवन श्रेष्ठ मुस्कानको रहेको छ ।
नेपाली वैज्ञानिक भविन्द्र कुँवरको शब्दसंगीत एवम् संगीत संयोजन रहेको र गायक कृष्ण अधिकारीको गाउँबेसी सुहाउँदो स्वर रहेको उक्त म्युजिक भिडियोले भरियाहरुको मात्र नभई समग्र नेपाली मजदूर वर्ग र किसानहरुको दुःखपीडा र यथार्थ बोलेको प्रतिक्रिया कलाकार पण्डितले दिएका छन् ।
सुटिंग गर्दै गर्दा व्यस्त अवस्थामा भेटिएका कलाकार सुरवीर पण्डितलाई सो गीतबारे प्रतिक्रिया लिँदा उनले भने, ‘एउटाले भारी बोकेर पसिना बगाउने र अर्कोले शीतल ताप्ने समग्र सामाजिक र राजनीतिक अवस्थालाई मूल विषयवस्तु बनाएको यस व्यंग्यात्मक गीतले नेपाली जनताको मर्मस्पर्शी भावना र सन्देश बोलेको छ’ ।
‘कस्लाई चिन्यौ चौतारी? भारी बोक्ने भरिया शीतल बस्ने बटुवा’ भन्दै समाज र नेतृत्वलाई अत्यन्तै गम्भिर, अविस्मरणीय र असाध्यै घत लाग्दो प्रश्न गरेकाले पनि उक्त गीत नेपाली जनतामाझ छिट्टै चर्चित हुने विश्वास कलाकार पण्डितको रहेको छ । उक्त गीतका संगीतकार एवम् संगीतसंयोजक भविन्द्र कुँवरले उक्त गीत जति सुन्यो उति सुनूसुनूँ लाग्दै जाने प्रकृतिको कौतुहलपूर्ण रचना भएको स्पष्ट पारे ।
यस गीतमा आफूले श्रोताहरुलाई नित्तान्त नौलो प्रकृतिको नेपाली स्थानीय रङ प्रस्तुत गर्ने जमर्को गरेको धारणा संगीतकार कुँवरको रहेको छ । त्यसै गरी उक्त गीतमा एक व्यापारीको भूमिकामा अभिनय गरेका झरना संगीतका सन्चालक एवम् बरिष्ठ संगीतकार रत्न बानियाँले पनि गीतले समसामयिक दुःखपीडा र तीखो व्यंग्य समेटेको प्रतिक्रिया दिएका छन् । गीतमा नेपाली जनजीवनको मर्मस्पर्शी भावना रहेको धारणा कलाकार बानियाँको छ । नित्तान्त नौलो र आकर्षक भाखाले सजिएको हुँदा उक्त गीतले विस्तारै जनताको मनमुटुमा स्थान लिने विश्वास गायक उक्त गीतका कृष्ण अधिकारीको समेत रहेको छ । यस क्रममा गोर्खाका गायक अधिकारीले भने, ‘एउटै गीतले विभिन्न अर्थ बोकेको छ, जता सोच्यो उतै मिलेजस्तो लाग्छ, यसले अवश्य पनि चर्चा बटुल्नेछ ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij