काठमाडौंको तारकेश्वर क्षेत्रमा खेलकुदलाई विशेष जोड दिने उद्धेश्य सहित स्तरीय फुट्सल सेवा सञ्चालनमा ल्याइएको छ । हाल करिब २ करोड रकम लगानीमा तारकेश्वर नगरपालिका स्थित नेपालटार हाइटमा सञ्चालनमा आएको उक्त फुट्सलको फिनिक्स गेमिङ जोन प्रा.लि मातहत सञ्चालनमा आएको हो । फिनिक्स गेमिङ जोन अन्तरगत फुट्सल, स्वीमिङ पूल, रेष्टुरेन्ट लगायतका सेवाहरु सञ्चालन गरिने योजनामा आफूहरु रहेको कम्पनीका सञ्चालक कल्याण श्रेष्ठले बताउनुभएको छ ।
तारकेश्वर क्षेत्रलाई लक्षित :
तारकेश्वर क्षेत्रलाई नै लक्षित गरी सञ्चालनमा ल्याइएको यस फिनिक्स गेमिङ जोनले तारकेश्वर क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गरी विद्यालय तहको निम्ति विशेष आकर्षक प्याकेज सञ्चालनको योजना समेत बनाएको छ । फिनिक्स गेमिङ जोन अन्तरगत अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको छ । फुट्सल भने माघ १६ देखि नै सञ्चालनमा ल्याइएको छ । स्वीमिङ पुल तथा रेष्टुरेन्ट लगायतका सेवाहरु वैशाख सम्म सञ्चालनमा आइसक्नेछन् ।
फिनिक्स गेमिङ जोनमा खेल क्षेत्रका अनुभवी व्यक्तिहरूकाे संलग्नता :
लामो समय देखि अनुभव समेट्नुभएका अनुभवी व्यक्तिहरुको संलग्नतामा फिनिक्स सञ्चालनमा आएको हो । हाल यस फिनिक्स गेमिङ जोनमा आवद्ध व्यक्तिहरु मध्ये दाताराम नेपाल नेपाल राष्ट्रिय खेलाडी नै हुनुहुन्छ । ऊहाँले नेपालमा खेल क्षेत्रबाट विभिन्न अवार्डहरु समेत प्राप्त गरिसक्नुभएको छ । यसबाहेक अन्य व्यक्तिहरु समेत खेल क्षेत्रलाई नजिकबाट नियाल्नुभएका व्यक्तिहरु नै हुनुहुन्छ ।
ट्रेनिङ सेन्टर समेत सञ्चालनको योजना ः
फुट्सल, स्विमिङ पुल, रेष्टुरेन्ट लगायतका सेवाहरुको अलावा ट्रेनिङ सेन्टर समेत सञ्चालनको योजनामा छ । यसबाट नेपालमा खेलकुद क्षेत्रमा विशेष सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपालमा खेलकुद क्षेत्रमा राम्रो अवसर रहेको र खेलकुद स्वास्थ्य, सक्रिय जीवनशैली, सकारात्मक सोच र सफलताको लागि समेत निकै महत्वपूर्ण मानिने भएको कारण अनिवार्य रुपमा सबै व्यक्तिहरु खेलकुदमा जोडिनुपर्ने आवश्यकता रहेको दाताराम नेपाल बताउनुहुन्छ ।
कल्याण श्रेष्ठ, सञ्चालक, फिनिक्स् फुट्सल (तारकेश्वर-डाँडागाउँ)
विभिन्न प्याकेजहरु बमोजिम शुल्क निर्धारण हुने ः
फिनिक्स टिमले समय र परिस्थिति हेरेर सोही बमोजिम विभिन्न प्याकेज सञ्चालनको समेत योजना बनाएको छ । समयको उपलब्धता बमोजिम शुल्कमा समेत केही थपघट हुन सक्नेछ । फुट्सलको निम्ति बेलुकाको समयमा तुलनात्मक रुपमा शुल्क केही बढी पर्न जानेछ । बेलुकीको समयमा विद्युत प्रकाशमा फुट्सल खेल्दाको मजा नै बेग्लै हुने साथै मानिसहरुको अधिक रोजाइमा समेत पर्ने भएको कारण उक्त समयमा शुल्क अलि बढी हुने कल्याण श्रेष्ठ बताउनुहुन्छ ।
राष्ट्रिय खेलाडी तयार गर्ने याेजना ः
काठमाडौंको तारकेश्वर भेगमा अहिले सम्म राष्ट्रिय स्तरका खेलाडीहरु तयार हुन नसकेको अवस्थामा आफूहरुले राष्ट्रिय स्तरका खेलाडीहरु तयार गर्नको लागि महत्वपूर्ण भूमीका निर्वाह गर्ने र केही महिनामा नै ती खेलाडीहरुलाई राष्ट्रिय खेलहरुमा सहभागि गराउने योजनामा आफूहरु रहेको समेत सञ्चालक कल्याण श्रेष्ठले बताउनुभएको छ ।
नेपालमा खेलकुदको सम्भावना ः
अहिले खेलकुद स्वास्थ्य तथा खेल प्रतिको रुचिको लागि मात्र आवश्यक नभई यस क्षेत्रबाट सहजै जीवन धान्न सकिने अवस्था समेत सृजना भएको छ । यसैकारण अहिले व्यावसायिक तवरले खेलकुदमा लाग्न चाहने व्यक्तिहरुको निम्ति नयाँ अवसरको रुपमा यो क्षेत्र विस्तार भइरहेको छ । खेलकुदमा नेपालको भविष्य निकै राम्रो छ । अहिले सञ्चालनमा रहेका विभिन्न खेलकुद क्लबहरुले प्रशिक्षक तथा खेलाडीहरुलाई राम्रो तलब तथा सुविधा दिइरहेकोबाट समेत यो बुझ्न सकिन्छ ।
पछिल्लो समय नेपालमा खेलकुदबाट बाँच्न नसक्ने अवस्था सृजना भएसँगै खेलकुद क्षेत्रलाई हेरिने दृष्टिकोणमा समेत अभिभावकहरुमा व्यापक परिवर्तन आएको हामीले पाएका छौं । यद्यपि खेलकुदको रहन चाहने व्यक्ति निकै जागरुक र क्षमतावान भने हुनुपर्छ ।
यसरी आर्थिक व्यवस्थापन गर्न सक्छन् खेलाडी ः
अहिले नेपालका चर्चित खेलाडीले मासिक न्यूनतम २५÷३० हजार रकम सजिलै प्राप्त गरिरहेका छन्् । राष्ट्रिय खेलमा डेब्यु गर्न सकेको खण्डमा त कमाई पनि राम्रै हुन्छ । यसको साथै खेलाडीको प्रतिष्ठा समेत निकै बढेर जान्छ । खेलकुद क्षेत्रमा संलग्न खेलाडीहरुले अन्य विभिन्न शिर्षकबाट समेत रकम आर्जन गर्न सक्छन् । त्यो भन्दा महत्वपूर्ण खेलाडीहरुले प्राप्त गर्ने इज्जत र सम्मान समेत मानिन्छ ।
खेलकुदको विकासमा सहयोग पुग्ने आशा गरेका छौं
दाताराम नेपाल, सञ्चालक, फिनिक्स् फुट्सल
म पहिले देखि नै खेलकुद क्षेत्रमा विभिन्न तहबाट खेलकुद क्षेत्रमा जोडिँदै आएको छु । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मान्यता बमोजिम हामीले खेलकुदको विकासलाई थप बल पुग्न सकोस् भन्ने मान्यताले यस क्षेत्रमा खेलकुद सम्बन्धी विभिन्न गतिविधिहरु सञ्चालन गर्ने साथै ट्रेनिङ सेन्टर समेत सञ्चालन गर्ने योजना योजना बनाएका छौं । सोही मान्यता बमोजिम फिनिक्स गेमिङ जोन अन्तरगत फिनिक्स फुट्सल हामीले सञ्चालनमा ल्याएका हौं । स्वस्थ जीवन जिउन चाहने लागि सबै वर्ग र उमेर समूहका व्यक्तिहरुको निम्ति खेलकुद सबैलाई अनिवार्य आवश्यक छ । नेपालमा आगामी दिनमा फुटसलको अवसर र सम्भावना निकै राम्रो छ । सानो उमेरका बालबालिकाहरुलाई फुट्सल सिकाइएको खण्डमा त्यसैबाट फुटबल खेल्न सक्ने दक्ष जनशक्ति तयार गर्न ठूलो सहयोग पुग्छ ।
फुट्सलमा नै किन सिक्ने ?
‘हामीले अहिले फुट्सल कोर्ट मार्फत स्तरीय सेवा प्रदान गर्ने प्रयाश गरेका छौं । फुटसल अन्तरगत खेलिने खेललाई इनडोर खेलको रुपमा लिइन्छ । यसरी इन्डोर सिकाइको क्रममा फुट्सल कोर्टमा सुरक्षित वातावरणमा बालबालिकाहरु खेलकुदमा रमाउन र सिक्न सक्छन् । यसको अलावा फुट्सल कोर्टमा खेल्दा कुनै झण्झट नहुने, खेल्नको लागि प्रयाप्त स्थान हुने लगायतका कारण प्रति व्यक्ति १ सय तिरेर सहजै खेल खेल्न सक्ने अवस्था रहन्छ । यसैकारण फुटबल खेल्न चाहने व्यक्तिहरु अनिवार्य फुटसलमा नै जानुपर्ने अवस्था आएको छ । यसैकारण अहिले फुटसल क्षेत्र प्रति मानिसहरुको आकर्षण बढ्दै गएको छ ।