यस बर्षको भूकम्प सुरक्षा दिवसको नारा “सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार” तय गरिएको छ । विहिबार गृह मन्त्रालयमा बसेको २० औँ भूकम्प सुरक्षा दिवस राष्ट्रिय समितिको बैठकले यस बर्षको नारा र मूल समारोह काठमाडौंमा गर्ने गरी राष्ट्रिय कार्यक्रम तय गरेको हो ।
गृह सचिव मोहनकृष्ण सापकोटाको अध्यक्षतामा बसेको राष्ट्रिय समितिले माघ २ गते काठमाडौंको बसन्तपुरमा मूल समारोहको कार्यक्रम गर्ने र कार्यक्रम व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकालाई दिने निर्णय गरेको छ ।
बैठकमा गृह मन्त्रालयका सह–सचिव कृष्ण बहादुर राउतले २० औँ भूकम्प सुरक्षा दिवसका अवसरमा हुने राष्ट्रव्यापी कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो । राउतका अनुसार माघ २ गते नै विहान ११ बजे न्युरोड भूगोलपार्कमा विगतका भूकम्पमा परी निधन भएका व्यक्तिहरुको सम्झनामा स्मृतिसभा आयोजना गरिने र काठमाडौंका असन, इन्द्रचोक, नरदेवी लगायतका स्थान हुँदै भूकम्पीय सुरक्षा र्यालीको आयोजना हुने छ । अपरान्ह साढे १ बजे न्युरोड जुद्ध शालिकको पश्चिमतिरको भागमा आयोजना हुने मूल समारोहको कार्यक्रमलाई प्रधानमन्त्री शेर बहादुर देउवा, मन्त्रीहरु लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

गृह सचिव सापकोटाले विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी निकायहरुले गर्ने सबै कार्यक्रमहरु राष्ट्रिय कार्यक्रम अन्तर्गत नै पर्ने र विभिन्न जिल्लामा कार्यक्रम गरी दिवसलाई सफल बनाउन आव्हान गर्नुभयो ।
१९९० साल माघ २ गते गएको महाभूकम्पको सम्झना गर्दै भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि प्रतिवद्धता व्यक्त गर्न र भूकम्पीय सुरक्षाका क्षेत्रमा भए गरेका प्रयत्नहरुको लेखाजोखा तथा भावी कार्ययोजना तय गर्ने मुख्य उद्देश्यका साथ २०५५ सालदेखि नेपालले भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । गृह मन्त्रालयको नेतृत्वमा मनाइने भूकम्प सुरक्षा दिवसको सदस्य सचिवको रुपमा भूकम्प प्रविधि राष्ट्रिय समाज – नेपालले काम गर्दै आइरहेको छ ।

पछिल्लो समय २०७२ सालको विनाशकारी भूकम्पका कारण मुलुक व्यापक रुपमा प्रभावित भएको र हाल पुनर्निर्माण तथा पुनस्र्थापनाका कार्यहरु प्रगतिउन्मुख भइरहेको सन्दर्भमा भावी दिनमा भूकम्पबाट हुने सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न स्थानीय तथा राष्ट्रिय स्तरमा सार्थक प्रयत्नहरु हुन अझ बढी सान्दर्भिक देखिन्छ ।