२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

खोकीको औषधि सेवनमा सतर्कता अपनाउन विभागको अपिल

खोकीको औषधि सेवनमा सतर्कता अपनाउन विभागको अपिल

भारतमा कफ सिरप सेवनपछि बालबालिकाको मृत्युका घटनापछि नेपालमा पनि विभागले उत्पादन, आयात, बिक्री र सेवनमा सतर्कता अपनाउन आग्रह गरेको छ।

  • बुधबार, असोज २२ २०८२

काठमाडौं । भारतका विभिन्न राज्यमा ‘कफ सिरप’ सेवनपछि बालबालिकाको मृत्यु भएका घटनाप्रति औषधि व्यवस्था विभागले गम्भीर ध्यानाकर्षण जनाउँदै नेपालमा समेत सचेत रहन सबै पक्षलाई आग्रह गरेको छ।

विभागले मंगलबार सूचना जारी गर्दै खोकीका औषधिहरूको बिक्री, वितरण र सेवनमा सावधानी अपनाउन आग्रह गरेको हो।

सूचनामा भनिएको छ, ‘भारतका विभिन्न राज्यमा कोल्डरिफ कफ सिरप सेवनपछि बालबालिकाको मृत्यु भएको समाचार सार्वजनिक भएपछि विभागको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त औषधि भारतको स्रेसन फर्मा नामक कम्पनीले उत्पादन गरेको र त्यस कम्पनी तथा त्यसका उत्पादनहरू नेपालमा दर्ता नभएको जानकारी हुन आएको छ।’

विभागले विगतमा पनि यस्ता घटना दोहोरिएको स्मरण गराउँदै बालबालिका र सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि थप सावधानी अपनाउन आग्रह गरेको छ।


🔹 उद्योग तथा आयातकर्ताका लागि निर्देशन

विभागले नेपालमा झोल स्वरूपका औषधि उत्पादन वा आयात गर्ने सबै उद्योग र आयातकर्तालाई आफ्ना उत्पादनमा प्रयोग हुने सहायक पदार्थहरू — जस्तै प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल, ग्लिसरोल (ग्लिसरिन) आदि — मा इथिलिन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आग्रह गरेको छ।

यसअघि पनि विभागले मिति २०७९ मंसिर १२ र २०८२ साउन २१ मा सूचना प्रकाशित गर्दै झोल औषधिहरूमा यी विषाक्त तत्वहरूको परीक्षण अनिवार्य गर्न निर्देशन जारी गरिसकेको छ।


🔹 विभागका पाँच प्रमुख अपिलहरू

१. औषधि उत्पादकका लागि :

  • कच्चा पदार्थ आधिकारिक आपूर्तिकर्ताबाट मात्र खरिद गर्न।

  • उत्पादनअघि आवश्यक गुणस्तर परीक्षण सम्पन्न गरी मात्र बजारमा पठाउन।

२. आयातकर्ताका लागि :

  • प्रत्येक ब्याचको गुणस्तर परीक्षण गरी इथिलिन वा डाइइथिलिन ग्लाइकोलको मिसावट नभएको प्रमाणित गरेपछि मात्र आयात र बिक्री गर्न।

३. फार्मेसीका लागि :

  • विभागमा दर्ता भएका औषधिहरू मात्र बिक्री वितरण गर्न।

४. चिकित्सकका लागि :

  • विभागमा दर्ता भएका औषधिहरू मात्र सिफारिस गर्न।

  • दुई वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणका आधारमा मात्र सिफारिस गर्न।

५. सर्वसाधारणका लागि :

  • बालबालिकाका लागि औषधि प्रयोग गर्दा चिकित्सकको सल्लाह लिनु।

  • औषधिको लेबलमा उल्लेखित निर्देशनअनुसार मात्र सेवन गर्नु।

  • विभागमा दर्ता नभएका औषधि प्रयोग नगर्नु।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij