२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

भारत र बंगलादेशमा १७ अर्ब बराबरको विद्युत् निर्यात गर्न नेपाल सफल

भारत र बंगलादेशमा १७ अर्ब बराबरको विद्युत् निर्यात गर्न नेपाल सफल

  • आइतबार, साउन ४ २०८२

 

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८१/८२ मा भारत र बंगलादेशमा झण्डै १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यो निर्यात हालसम्मकै उच्चतम स्तरको हो, जसले नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने दिशामा उल्लेखनीय प्रगति भएको संकेत गर्दछ।

मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनअनुसार सो अवधिमा नेपालले २,३३२ गिगावाट घण्टा विद्युत् निर्यात गरेको छ। यसैबीच, १,७१२ गिगावाट घण्टा विद्युत् आयात गरिएको थियो, जसको मूल्य करिब १६.९ अर्ब रुपैयाँ बराबर रहेको छ।

ऊर्जा मन्त्री दीपक खड्काका अनुसार नेपाल र भारतबीच ९४१ मेगावाट विद्युत् निर्यात र १००० मेगावाट आयात गर्नेसम्बन्धी समझदारी कायम भएको छ। “वर्षायाममा भारतमा अधिकतम ८५० मेगावाटसम्म विद्युत् निर्यात भएको छ भने, सुक्खायाममा ६७० मेगावाटसम्म आयात गरिएको हो,” मन्त्री खड्काले जानकारी दिए।

नेपालले पछिल्ला वर्षहरूमा आन्तरिक विद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि गर्दै भारतबाट हुने आयातमा कमी ल्याएको छ। यसैक्रममा, भारत र बंगलादेशसँगको त्रिपक्षीय सहमति अनुरूप नेपालले पहिलोपटक बंगलादेशमा डलर भुक्तानीमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ।

विशेषज्ञहरूका अनुसार बंगलादेशमा विद्युत् निर्यातको सुरुवात नेपालको जलविद्युत् क्षेत्रको अन्तर्राष्ट्रियकरणतर्फको महत्वपूर्ण पाइला हो। यसले नेपाललाई ऊर्जा व्यापारको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने सम्भावना थप प्रबल बनाएको छ।

सरकारले आगामी वर्षहरूमा विद्युत् निर्यातलाई अझ विस्तार गर्दै राजस्व वृद्धिसँगै ऊर्जा सुरक्षामा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij